सामाजिक सुरक्षा कोषमा आबद्धता अझै बढाऊ «

सामाजिक सुरक्षा कोषमा आबद्धता अझै बढाऊ

२०७५ मंसिर ११ गतेदेखि औपचारिक सुरुवात भएको सामाजिक सुरक्षा कोषले बिस्तारै आफ्नो क्रियाकलापमा तीव्रता ल्याउन थालेको छ । तामझामका साथ उद्घाटन गरिएको कोषलाई तत्कालीन सरकारले राजनीतिक एजेन्डा बनाउन खोजेपछि धेरैको रुचिमा नपरेको भए तापनि सामाजिक सुरक्षा कोषको गृहकार्य धेरै वर्षदेखि भइरहेको थियो । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषसँगै एउटै छाता ऐन ल्याएर एकीकृत रूपमा सामाजिक सुरक्षा कोष सञ्चालन गर्न धेरै अगाडिदेखि गृहकार्य भइरहेको भए तापनि तत्कालीन सरकारले आफ्नो उपलब्धिको रूपमा प्रचार–प्रसार गरेर राजनीतिक लाभ दिन खोज्दा सुरुमै विवादित भएको कोष पछिल्लो समय संशोधन गर्दै समयानुकूल बनाउने प्रयास पनि भइरहेको छ । सरकारी कर्मचारीको सामाजिक सुरक्षामा सरकारले पहिल्यै कर्मचारी सञ्चय कोषमार्फत काम गर्दै आए तापनि निजी क्षेत्रका कर्मचारीको हकमा भने सरकारले केही गर्न सकेको थिएन । तर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सजस्ता निजी क्षेत्रका अगुवा संघसंस्थाको सहकार्यमा सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रका कर्मचारीलाई पनि समेट्दा यसको महŒव बढ्दै गएको छ । हरेक महिना समाप्त भएको १५ दिनभित्र रोजगारदाताको तर्फबाट आधारभूत पारिश्रमिकको २० र योगदानकर्ताको तर्फबाट ११ प्रतिशत रकम कट्टा गरी कोषमा अनलाइन भुक्तानी प्रणालीमार्फत रकम जम्मा गर्नुपर्ने नियम छ । त्यसपछि रोजगारदाताको दायित्व सबै समाप्त भएर कोषमा जान्छ । हुन त अझै पनि सामाजिक सुरक्षा कोष निवृत्तिभरण कोषजस्तै वा कुनै बिमा कम्पनीको पोलिसीजस्तै पनि हुन नसकेको गुनासा त छँदै छन् । तैपनि ऐनको समयानुकूल संशोधन गर्दै सुरक्षाका पाटाहरूमा अलि बढी ध्यान दिन थालेपछि निजी क्षेत्रका कर्मचारीहरू पनि बिस्तारै यसप्रति आकर्षित हुन थालेको देखिएको छ । जसअनुरूप सामाजिक सुरक्षा योजनामा २२ अर्ब रुपैयाँ योगदान रकम संकलन हँुदा हालसम्म १ अर्ब ८७ करोडबराबरको सामाजिक सुरक्षा रकम लाभग्राहीलाई भुक्तानी गरिसकिएको छ । विसं २०७५ मंसिरबाट सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा औपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीले हालसम्म २२ अर्ब रुपैयाँ योगदान रकम जम्मा गरिसकेका छन् । हालसम्म जम्मा भएको योगदान रकममध्ये विभिन्न ४ योजनाअन्तर्गत लाभग्राही श्रमिक र उनीहरूका परिवारले १ अर्ब ७८ करोड १९ लाख रुपैयाँ सामाजिक सुरक्षा रकम प्राप्त गरिसकेको कोषले जनाएको छ । सेवाग्राहीलाई भुक्तानी गरेको १ अर्ब ८७ करोडमध्ये अवकाश दाबीमा १ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ वितरण भएको छ भने औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम २४ करोड २९ लाख रुपैयाँ वितरण गरिसकेको छ । आश्रित परिवार सुरक्षा दाबीबापत ३ करोड ७८ लाख र दुर्घटना तथा अशक्तता सुरक्षाअन्तर्गत २ करोड ५७ लाख रुपैयाँ भुक्तानी भएको कोषको दाबी छ ।
हाल सामाजिक सुरक्षा योजनामा योगदानकर्ताले २२ अर्ब रुपैयाँ जम्मा गरेकोमा चारवटा योजना दाबी गर्न मापदण्ड पूरा भएका श्रमिक तथा उनीहरूका परिवारले लगभग १ अर्ब ८७ करोड सामाजिक सुरक्षा रकम लिएका छन् । कोषमा हालसम्म १ लाख ७२ हजार २४५ रोजगारदाता प्रतिष्ठान सूचीकृत भइसकेका छन् भने सूचीकृत हुने श्रमिकको संख्या ३ लाख ५१ हजार १ सय १७ रहेको छ । औपचारिक क्षेत्रको रोजगारदाता तथा श्रमिकको आबद्धता बढेसँगै अनौपचारिक क्षेत्रलाई पनि कोषमा समेट्न माग बढेको छ । किनकि तत्कालका लागि औपचारिक रोजगारीको क्षेत्रबाट अनिवार्य गरिएको सामाजिक सुरक्षा कार्यक्रममा हाल निजी संगठित क्षेत्रका १७ हजार रोजगारदातासँग आबद्ध ३ लाख ५१ हजार श्रमिक सूचीकृत भई योगदान गरिरहेका छन् । तर, अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा पनि सरकारको दायित्व भएका कारण यो माग आउनु स्वाभाविक भए तापनि कोषले हाल लक्षित गरेका क्षेत्रमा करिब १३ लाख रोजगारी रहेकामा हालसम्म ३ लाख ५१ हजार श्रमिक सूचीकृत भई योगदान गर्नु थोरै नै मान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्