‘शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ’

नेपाल प्राध्यापक संघले शिक्षा र स्वास्थ्यका सबै सेवा राज्यको दायित्वभित्र पार्नुपर्नेमा जोड दिएको छ । संघको हीरक महोत्सवका अवसरमा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष प्राडा बुद्धबहादुर थापाले शिक्षा र स्वास्थ्यको सबै जिम्मेबारी राज्यले लिनुपर्ने बताए ।
उनले शिक्षा र स्वास्थ्यलाई राज्यको पूर्ण जिम्मेवारीभित्र पारेर नि:शुल्क बनाउन संघले माग गर्दै आएको जानकारी दिए । उनले नेपालमा पछिल्लो समय विश्वविद्यालयको स्थापना भद्रगोल तरिकाले गरिकाले भएकाले त्यसलाई गुणस्तरीय बनाउन कडाइ गर्नुपर्नेमा जोड दिए ।
उनले विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्दा पनि पारदर्शी र परिपक्व प्रक्रिया नअपनाइएकाले गुणस्तरमा ह्रास आउँदै गएको टिप्पणी गरे । “कतिपय विश्वविद्यालयका पदहरु त सत्तारुढ दलका कार्यकर्ता तथा समर्थकलाई जागिर दिन वा सेवासुविधा दिलाउनका लागि मात्रै दुरुपयोग भएकाले त्यसलाई तत्काल सुधार गर्नुपर्दछ,” उनले भने ।
उनले हरेक विषयमा पर्याप्त ज्ञान भएका प्राध्यापक आफूहरुसँग भए पनि सरकारले वास्ता नगरेको र भूमिका दिन नसकेको गुनासो गरे । प्राडा थापाले प्राध्यापक संघ शिक्षा तथा बौद्धिक क्षेत्रका लागि दबाव समूह मात्रै भएकाले सरोकारवालालाई दबाव दिने वा घचघच्याउने गरे पनि सुनुवाइ भने नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।