‘काँडेतार’ लाई शीर्ष नेताहरूले दिए सफलताको शुभकामना, कसले के भने ? «

‘काँडेतार’ लाई शीर्ष नेताहरूले दिए सफलताको शुभकामना, कसले के भने ?

विभिन्न दलका नेताहरूले कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ को सफलताको शुभकामना गरेका छन् । देशभक्तको भावनाले ओतपोत रहेको उक्त चलचित्र छिट्टै प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शनमा आउनुपुर्व निर्माण पक्षले बुधबार ‘चलचित्र काँडेतार, नेपाल र छिमेकीसँगको सम्मुनत सम्बन्धको लागि प्रस्तावना’ कार्यक्रमको आयोजना गरेको थियो ।
रिपार्टर्स क्लब नेपालमा आयोजित विशेष कार्यक्रममा बोल्ने वक्ताहरू एमाले नेता डा. भीमबहादुर रावल, माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ, कांग्रेस नेता रामहरि खतिवडा र नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले उक्त चलचित्रको सफलताको कामना गरेका हुन् ।
एमाले पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले भारतसँगको सिमाना नियमन तथा नियन्त्रण गर्नुपर्ने बताएका छन् । रावलले सुरुवातमै ‘शरिर देशको सिमाले बन्छ, जनता आत्मा हुन्, स्वाधिनताभित्र अस्तित्व रहन्छ, देशभक्ति उच्च झन’ बोलको कविता वाचन गरेका थिए ।
उनले सिमानामा काँडेतार लगाउने भनेपछि केवल फलामे तार लगाउनेजस्तो बुझिए पनि यो देशको सुरक्षाको अभिव्यक्ति भएको बताए । उनले भने,‘आफ्नो देशको सुरक्षाका लागि सबै देशले सिमाना बलियो बनाएको छन् । हामीले काँडेतार, पर्खाल लगाएपनि हुन्छ । भियाना महासन्धिअनुसार सिमा लागू गरेर पनि सिमाको सुरक्षा हुनसक्छ । हामीले हाम्रो देशको प्रधानसेनापतिको अभिव्यक्ति पनि सुन्यौं । नेपाली सेना हाम्रो भरपर्दो शक्ति हो । प्रधानसेनापतिले एउटा कार्यक्रममा भने, हाम्रो देशको सिमनामा काँडेतार लगाउनुपर्छ । उनले भन्नुको अर्थ, सिमानाले अब पूर्ण सुरक्षा खोजिरहेको छ भन्ने हो । मलाई पनि यो लागेको छ ।’
रावलले धेरै राष्ट्रहरूले आफ्नो सिमानाको रक्षाका लागि पर्खाल लगाएको उदाहरण पेस गर्दै नेपालले पनि आफ्नो सिमानाको राम्रो सुरक्षा गर्नुपर्छ । उनले भने, ‘हाम्रो छिमेकी भारतले पनि उसको सिमानामा काँडेतार लगाएको छ । सीमा सुरक्षा नभएसम्म नागरिक ढुक्क हुने भावना हुँदैन्, त्यसैले राज्यले सिमा नियमन र नियन्त्रणका लागि काम गर्नुपर्छ । सीमा नियमन गर्नको लागि थुप्रै कानून र सन्धि छन् । सबै देशले सार्वभौम देशले आफ्नो सिमाना नियन्त्रण गरेको हुन्छ । अमेरिका र क्यानडामा पनि खुला सिमाना छैन् । अनुमति लिएर जानुपर्छ । भारत र चीनको बीचमा बसेको देश हो, नेपाल । सिमानालाई अन्तर्राष्ट्रिय कानुनअनुसार नियमन गर्नुपर्छ ।’
उनले भारतले बंगलादेशसँग आफ्नो सिमानामा काँडेतार लगाएको स्मरण गराउँदै नेपालले पनि भारतसँग आफ्नो सिमानामा काँडेतार लगाउनुपर्नेमा जोड दिए । उनले भने,‘भारतसँग सुमधुर सम्बन्ध कायम होस । सिमानामा हाम्रा दशगजा मिचिएको छ । हाम्रा ७७ वटा भन्दा बढी ठाउँमा अतिक्रमण भएको छ । यदि हामीले समयमै सिमाना नियमन नगरे, ठूलो समस्या उत्पन्न हुन्छ । सबै देशसँग रोटीबेटी गरे भयो नि त । हाम्रो सिमाना खुला राख्नुहुँदैन् । चीनसँग पनि हामी त्यही चाहन्छौं ।’ रावलले नागरिकता विद्येयकको पनि विरोध गरे । उनले अहिले ल्याईएको नागरिकता विद्येयकको पनि विरोध गरे । उनले भने,‘यो नेपालीहरूलाई अल्पमतमा पार्ने षड्यन्त्र हो ।’
माओवादी केन्द्रका देवप्रसाद गुरुङले चलचित्रको माध्यमबाट राष्ट्रिय स्वाधिनताको रक्षाको लागि ठूलो योगदान पुगेको बताएका छन् । उनले भने,‘म यो चलचित्रको सफलताको कामना गर्छु । नेपालको स्वाधिनताको यात्रामा यो चलचित्र ऐतिहासिक कडीको रूपमा रहेको छ । नवलजीले यसअघि दशगजा फिल्म पनि बनाउनुभएको छ ।’
उनले विश्वका सबै मुलुकका सिमाना नियन्त्रित र व्यवस्थित् रहेको भन्दै नेपालले पनि आफ्नो सिमाना व्यवस्थित् राख्नुपर्नेमा जोड दिए । उनले भने, ‘विश्वका सबै देशका सिमाना व्यवस्थित् छन्, त्यहाँ पासपोर्ट र भिसाको व्यवस्था छ । भारतसँग भने नपालको खुला सिमाना छ । १९५० को सन्धिले खुला रूपमा आवातवाजात कायम रहेको छ । अहिले नेपालमा जनसांख्यिक अतिक्रमण बढेको छ । भारत विशाल जनसंख्या भएको देश हो । नेपालमाथि जनसांख्यिक अतिक्रमण बढेको छ ।’
उनले अहिले देशमा नागरिकताका समस्या पनि आएको गुनासो पोखे । उनले भने,‘राष्ट्रियताको मुद्दा विश्व साम्राज्यवादसँग जोडिएको छ । नेपालको रक्षा र सुरक्षा हुन सक्ने कि नसक्ने ? नेपाल युक्रेन हुने खतरा छ । । तत्काल सैन्य युद्धको खतरा छ । यद्धको बढेको छ । हामी सबैखाले बाहृय हस्तक्षेपको विरुद्धमा लड्नुपर्छ । यसको लागि सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’
एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले नेपालले आफ्नो सिमानालाई व्यवस्थित् गर्नुपर्नेमा जोड दिए । उनले प्रत्येक नेपालीहरूको मस्तिष्कमा सिमानाको रक्षाको लागि काँडेतार लगाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘आज महान दिन हो । सिमानामा काँडेतार लगाउनुपर्छ भनेर चर्चा गर्ने दिन, र मिडियाले धेरै नै कभरेज गरेको देखिएको छ । मेरो मित्र नवलजीले सिमानामा काँडेतार लगाउने अभियान सुरु गर्नुभएको छ । म यसको सदस्यता लिन्छु । उहाँको अभियानमा सक्रियताका साथ लागेको छु । देश जोगाउने र सिमाना जोगाउने जिम्मेवारी हाम्रो हो ।’
खतिवडाले नेपालका नेताहरूलाई देशको चार किल्ला यहाँ छ भनेर पक्का थाहा छ त ? भनेर प्रश्नसमेत तेर्साए । उनले भने, ‘हाम्रो चार किल्ला कहाँ त ? हामीले मेची र काली त भन्यौं । मेची र कालीभत्रिका भूभाग छ त ? यो देखाएमात्रै नेताहरू क्रान्तिकारी ठहरिनेछन् ।’
उनले छिमेकीसँगको सिमा विवादको विषयमा राज्य सक्ता मौन र नि:शब्द रहेको बताए । उनले भने,‘राज्य सत्ता त छिमेकसँग सानोतिनो वक्तव्यवाजी मात्रै सिमित छ । राजनेताहरू विदेश भ्रमणमा जान्छन्, सौहार्दपूर्ण वार्ता भयो भन्न्नुहुन्छ । तर, सिमा विषय उठाएको देखिँदैन् । यो हाम्रो देशको विडम्बना छ । सिमानामा काँडेतार लगाउनुभन्दा, देशका नेता, सेना, प्रहरी, बुद्धिजीवीहरूले आफ्नो मस्तिष्कमा काँडेतार लगाउनुपर्छ । मुसा प्रवृत्ति आफ्नै देशभित्र छ । छातीमा नागरिकता टाँसेर मात्रै कोही नेपाली हुँदैन् । नेपाली हुनको लागि माटोको लागि लड्ने स्वाभिमान र ईच्छाशक्ति हुनुपर्छ । आज सार्वभौमसत्ता, सिमानामाथिको अतिक्रमण, राजनीतिमा भएको माईक्रोम्यानेजटबाट हामी असाध्यै प्रताडित छौं । सिमाना नियन्त्रण गर्दा अपराधिक गतिविधि नियन्त्रण गर्न सक्छौं ।’
आफ्नै चुच्चे नक्शाको जिम्मेवारी लिन नसक्ने देशको राजनीतिक परिस्थितिले देशको सिमाना नजोगाउने उनको टिप्पणी छ । उनले भने, ‘यसको लागि राष्ट्रिय सहमति आवश्यक छ । लिम्पियाधुरा मेरै हो भन्ने राष्ट्रको इच्छाशक्ति हुनुपर्छ । काँडेतार लगाऔं । सिमाना नियमन गरौं । भारतीय, चिनियाँ, अमेरिकी, भुटानी वा अरु कुनै देशका नागरिक, जो दक्षिण ढोकाबाट प्रवेश गर्नेहरूलाई रेकर्डमा रहँदैन भने कसरी सिमा व्यवस्थापन हुन्छ ? सिमानामा काँडेतार लगाउनुपर्छ भनेपनि त्यो लगाऔं । पासपोर्ट पनि जारी गरौं । तर, सिमा नियमन गरौं । केही भएन भने नेपालमा खुला सिमाना प्रयोग गर्नेहरूको लागि दर्ता किताबमा रेकर्ड राखौं ।’
पूर्वसभासद रामहरि खतिवडाले नेपालमा राष्ट्रियतामाथि प्रहार हुँदा सबै मिलेर त्यसलाई जोगाउने काम गरेको सुनाए । उनलेभ ने, ‘जब राष्ट्रियतामाथि प्रहार हुन्छ, त्यसलाई जागाउनका लागि सबैले आ–आफ्नो सेक्टरबाट बचाउने प्रयास गर्नुहुन्छ । देशको राष्ट्रियता, एकता, अखण्डता, मातृभूमिको मायाप्रतिको माया हामीलाई अरुभन्दा धेरै लाग्छ । हामीले संविधान निर्माण गर्यौं । संविधान सबैको बनायौं । महिला, दलित, मधेश, जनजातिको प्रतिनिधित्व गर्यौं । संविधान जारी हुँदा, नेपालमा वारी खाना खाएर पारी गएर ढुंगा हान्ने काम पनि भयो । वारी खाना खाएर पारी पुगेर ढुंगा हान्नेहरू पनि अहिले संविधान मान्न बाध्य भएका छन् । यो महत्वपूर्ण कुरा हो ।’
खतिवडाले नाकाबन्दी गरेर नेपाली जनतालाई दु:ख दिने काम भएको भन्दै गुनासो पोखे । उनले आफूहरू नेपालको एक ईन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा रहेको सुनाए । उनले भने,‘प्रत्येक नेपाली सिमानामा काँडेतार भएर उभिनुपर्छ । संसारमा आज बर्लिनको पर्खाल ढलेको छ । काँडेतार हाम्रो मनमनमा र भावनामा जाग्नुपर्छ । यो चलचित्रले पनि यही भाव बोलेको छ। हामी काँडेतारभन्दा तिखो छौं र हौं भन्नुपर्छ । यो भावनाको विकास गर्नुपर्छ ।’
राष्ट्रियताको मामिलामा तत्कालिन प्रधानमन्त्री किसुनजीले भारत भ्रमण गर्ने बेलामा पनि आफ्नो अडान स्पष्ट रूपमा राखेको उनले स्मरण गराए । उनकाअनुसार किसुनजीले राष्ट्रियता र एकताको सवालमा कुनै पनि मानेमा नेपालले कसैसँग पनि सम्झौता गर्दै भनेर भनेका थिए ।
उनले नेपाली भूमि रक्षाको लागि उक्त फिल्मलले उत्प्रेरणा जगाउन सफल होस भन्ने कामना पनि गरे । उनले भने, ‘नेपाली भूमिको रक्षार्थ सबै काँडेतार भएर उभिन सकौं । म यही शुभकामना दिन चाहन्छु ।’
नायक तथा निर्माता नवल खड्काले आफूहरूले देशको सिमाना रक्षाको लागि चलचत्रि बनाएको र वर्षौदेखि अभियान चलाउँदै आएको सुनाए । उनले खुला सिमाना नेपालका लागि घातक छ भन्ने कुरा घामजत्तिकै छर्लङ भएको टिप्पणी गरे ।
उनले भने, ‘काँडेतार चलचित्र बनिसकेको छ । देशभक्तिपूर्ण चलचित्र बनाउँदा राज्यबाट पाउनुपर्ने साथ र सहयोग पाएका छैनौं । दशगजा, भीमदत्तजस्ता फिल्ममा सेन्सर लगाउने काम भएको थियो । देशभक्तहरूमाथि प्रहार हुने गरेको छ । पुर्खाहरूले लडेर जोगाएको भूमि हामीले जोगाउनुपर्छ । यदि हामीले समयममै यी कुरा समाधान गर्न सकेनौं भने हाम्रो नियति प्यालेस्टाईनजस्तो हुन्छ । समुन्द्र नभएका देशहरूले काँडेतार लगाएका छन् । सिमानामा काँडेतार नहुँदा कोरोनाकालमा महामारी छिर्ने सुरुङमार्ग भयो । यो चलचित्र जनजनमा पुग्नुपर्छ । यो प्रस्तावलाई चलचित्र हेरेर अनुमोदन गर्नुपर्छ ।’
पत्रकार नारायण शर्माले भने भारतसँगको सिमानामा काँडेतार लगाउनुपर्छ भनेर देशभक्तिपूर्ण भावका साथ चलचित्र नायक तथा सामाजिक अभियन्ता नवल खड्काको ‘सिमानामा काँडेतार’ पहलकदमी चलिरहेको सुनाए । उनले भने, ‘यही अभियानस्वरुपम काँडेतार भन्ने राष्ट्रवादी भावको चलचित्र पनि निर्माण भएको छ । केही समयपछि हाम्रो बीचमा आउँदैछ ।’ कार्यक्रममो समन्वय भने गायिका सत्यकला राईले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्