खुल्यो दाङको कोइलाबास नाका «

खुल्यो दाङको कोइलाबास नाका

लामो समयको प्रयास पछि दाङको एक मात्र कोइलाबास नाका सञ्चालमा आएको छ । लामो समयदेखि बन्द रहेको नाका जिल्लाका निजी क्षेत्र तथा सरोकारवालाको प्रयासपछि सञ्चालनमा आएको हो । नेपालमा भन्सार भएपनि भारतले कस्टम नहुँदा नाका सञ्चालन हुन सकेको थिएन् । केही दिन पहिले भारततर्फ कस्टम स्थापना गरेसँगै नाका सञ्चालनका आएको हो ।
नाका खुलेसँगै अहिले कोइलाबासबाट आयात तथा निर्यातसमेत सुरु भएको छ । अहिले दैनिक नेपालतर्फ सामग्री भित्रिने गरेको कोइलाबास भन्सार कार्यालयले जनाएको छ । कुनै समयमा सुनदेखि सुनसम्म धान्ने नाका पछिल्लो समय सुनसान रहेको थियो । शुन्य जस्तै रहेको अहिले सामान आयात निर्यात सुरु भएसँगै चहलपहल बढेको भन्सार कार्यालयले जनाएको छ । नाका सञ्चालन भएपछि नाका क्षेत्रमा चहल पहल देखिएको छ । अहिले नाकामा नागरिकहरु आवतजावत पनि बढेको छ ।
कुनै समयमा देशको दोस्रो चल्तीको भन्सारमा रहेको भन्सार पूर्व पश्चिम राजमार्ग सञ्चालनमा आएसँगै यो भन्सार सुनसान रहेको थियो । भन्सार सुनसान भएसँगै उक्त क्षेत्र खण्डहर भएको थियो । पछिल्लो समय कोइलाबाससम्म सडक कालोपत्रे भएसँगै चहलपहल बढेको थियो । नाका सञ्चालनमा आएपछि सामान आयात निर्यातमा सहज हुने जिल्लाका व्यवासायीहरुले बताएका छन् । दाङकोे एक मात्र भारतसँगैको नाका कोइलाबास हो ।
कोइलाबास नाका सञ्चालन नहँुदा जिल्लाबाट आयात निर्यात गर्दा रुपैडिया, कृष्णनगरको नाका भएर सामग्रीहरु ल्याउनु लैजानुपर्ने बाध्यता रहेको थियो । रुपैडिया तथा कृष्णनगर नाका प्रयोग गर्नुपर्दा समयसँगै आर्थिक रुपले पनि बढी खर्च हुने गरेको व्यवसायीहरु बताउँछन् । नाका सञ्चालन भएसँगै दाङसहित साविक राप्तीका नागरिकलाई सहज हुने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । नाका सञ्चालनमा आएसँगै यस क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने उनको भनाइ छ । “हामीले नाका सञ्चालनका लागि आवाज उठाउँदै आएका थियौं, अहिले नाका सञ्चालनमा आउनु सुखद् कुरा हो” उनले भने । नाका सञ्चालनमा आएपछि यसको व्यवस्थित गर्न आवश्यक रहेको उनले बताए ।

दुई देशका व्यवसायीबीच छलफल
नेपाल र भारतका व्यवसायीबीच व्यवसाय प्रवद्र्धन सम्वन्धी छलफल गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्लामा रहेका उद्योग वाणिज्य संघको सहभागितामा भारत तुलसीपुरमा रहेको व्यापार मण्डलसँग छलफल गरिएको छ ।
छलफलमा व्यापार प्रवद्र्धन तथा नाका व्यवस्थित गर्न आफ्नो क्षेत्रबाट प्रयास गर्न बताएका थिए । नाका सञ्चालन भएपनि पूर्वाधारको विकास आवश्यक र कर्मचारी व्यवस्थापन गरिनुपर्ने भएकाले आ–आफ्नो देशमा पहल गर्न उनीहरुको भनाइ छ । दुवै देशका मिलेर अगाडि बढेमा नाका व्यवस्थित गर्न सहज हुनेसमेत व्यवसायीहरुले बताए । त्यसैगरी पर्यटन प्रवद्र्धन गर्न दुवै देशका व्यवसायीहरु मिलेर अगाडि बढ्ने उनीहरुले बताए । छलफलमा कोइलाबास नाका भएर सामग्री भित्र्याउन व्यवसायीहरु तयार भएको र त्यसका लागि भन्सार कार्यालयको स्तरवृद्धि गर्न माग राखिएको छ ।

गुरुयोजना अनुसार पूर्वाधार: मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कोइलाबास नाकाको अनुगमन गरेका छन् । नाका सञ्चालनमा आएपछि उनले त्यस क्षेत्रको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा उनले नाकामा पूर्वाधार विकास गरिने बताए । जीर्ण पूर्वाधार पुन निर्माणका काम अगाडि बढ्ने उनले बताए । “प्रदेश राजधानीको मास्टर प्लान निर्माण गरिएको छ त्यसै अनुसार पूर्वाधार निर्माण हुने छ” उनले भने । पूर्वाधार निर्माणका लागि आवश्य पर्ने बजेटसमेत छुट्याइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्