स्वास्थ्य बिमा कार्यक्रम जनपक्षीय रूपमा सञ्चालन गर्न माग «

स्वास्थ्य बिमा कार्यक्रम जनपक्षीय रूपमा सञ्चालन गर्न माग

नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई जनपक्षीय रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद अधिकारीले सरकारले स्वास्थ्य बिमा कार्यक्रम खारेज गर्न लागेको आरोप लगाए । सरकारी अस्पतालहरुले स्वास्थ्य बिमा कार्यक्रमलाई लागू गर्न नसकेको र सरकारले पनि भुक्तानी दिन नसकेको भन्दै उनले बिमा कार्यक्रमलाई सरकारले रद्ध गर्न लागेको आरोप पनि लगए ।
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका सांसद अधिकारीले स्वास्थ्य बिमा कार्यक्रममार्फत ज्येष्ठ नागरिक, अपांग नागरिक तथा एचआइभी एड्स संक्रमितहरुले लाभ लिइरहेकाले उनीहरुको स्वास्थ्यमाथि खेलवाड नगर्न सरकारलाई आग्रह गरे ।
“स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स गर्न पाइँदैन । अपांग भएका जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन” उनले भने, “ज्येष्ठ नागरिकमाथि खेलवाड गर्न पाइँदैन । एचआइभी एड्स संक्रमितहरुमाथि खेलवाड गर्न पाइँदैन ।”
उनले यसलाई कुनैपनि हालतमा सरकारले जनपक्षिय रुपमा सञ्चालन गर्नुपर्ने बताए ।
“यो कार्यक्रमलाई रद्ध गर्न खोजेका हो ? ज्येष्ठ नागरिक र अपांगता भएकाहरुको सरकारले हुर्मत लिन खोजेको हो ?” उनले सरकारसँग प्रश्न गर्दै भने, “अहिले त पाँच लाख डोज कोभिशिल्डसमेत हराएको छ स्वास्थ्य मन्त्रालयबाट । यस्तो अवस्थामा अलपत्र पारेर के गर्न खोज्दैछ सरकार ?”

प्रतिक्रिया दिनुहोस्