सानिमा बैंकले पायो आईएफसीबाट २ अर्ब ५४ करोड ऋण «

सानिमा बैंकले पायो आईएफसीबाट २ अर्ब ५४ करोड ऋण

सानिमा बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट दुई करोड अमेरिकी डलर ऋण प्राप्त गरेको छ ।
तरलता अभावलाई मध्यनजर गर्दै गत वर्ष नै यस्तो ऋण ल्याउन आईएफसीसँग सम्झौता गरेकोमा हाल उक्त ऋण उपलब्ध भएको बैंकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्नमा उक्त ऋणले सहयोग गर्ने बताइएको छ । समावेशिता तथा दिगो विकासको सिद्धान्तमा आधारित रही बैंकले यो रकम उक्त क्षेत्रमा प्रवाह गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले जानकारी दिए ।
अहिलेको तरलताको असहज परिस्थितिमा पनि आईएफसीबाट प्राप्त रकमले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा कर्जा प्रवाह गर्न केही सहजता हुने पाण्डेको धारणा छ । हाल सानिमा बैंकले १२७ कार्यालय र १२० वटा एटीएमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्