चीनको छिङदाओमा हिमालय एअरलाइन्सको कूटनीतिक चार्टर्ड उडान «

चीनको छिङदाओमा हिमालय एअरलाइन्सको कूटनीतिक चार्टर्ड उडान

हिमालय एअरलाइन्सले परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि चार्टर्ड उडान गरेको छ ।
परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा २४ साउनमा चीनको छिङदाओमा कूटनीतिक चार्टर्ड उडान सञ्चालन गरेको हो ।
परराष्ट्र मन्त्रालयका पदाधिकारीको ११ सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस ए३१९ ९एनको उडान मंगलबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको थियो । छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ७:५५ बजे (स्थानीय समय)मा अवतरण गरेको छ ।
छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि २६ साउनमा काठमाडौं आइपुग्ने समयतालिका छ । सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाइ यात्रा दुवै देशले लागू गरेका विभिन्न यात्रा प्रतिबन्धपश्चात् ठप्प भएको थियो ।
महामारी नियन्त्रण भएर जनजीवन सामान्यतर्फ फर्किएपछि हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको छ ।
काठमाडौंबाट छिङदाओका लागि सिधा उडान तालिका नभएकाले एअरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर्ड उडान सञ्चालन गरेको जनाएको छ । नेपाल–चीन बीचको संयुक्त लगानीमा स्थापित हिमालय एअरलाइन्सको स्थापना सन् २०१४ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्