खुद विद्युत आयात घट्यो «

खुद विद्युत आयात घट्यो

गत आर्थिक वर्ष २०७८/०७९ मा भारतर्फको विद्युत निर्यात बढेको तथा आयात घटेको नेपाल विद्युत प्राधिकरणले दाबी गर्दै चालू आर्थिक वर्षबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुने जनाएको छ । हाल आन्तरिक बजारमा खपत गरी बढी भएको बिजुली करिब ३६४ मेगावाटदेखि करिब ४०० मेगावाटसम्म दैनिक रूपमा भारततर्फ निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ४ करोड ४० लाख युनिट विद्युत निर्यात भएकोमा गत आर्थिक वर्ष २०७८/०७९ मा ४९ करोड ३० लाख युनिट निर्यात भएको भन्दै उनले बिजुली निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको पनि बताए । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०७८/०७९ मा आन्तरिक विद्युत खपत २१.२८ प्रतिशतले वृद्धि हुँदा समेत प्राधिकरणले बिजुली आयातलाई घटाउन सफल भएको प्राधिकरणको दाबी छ । विद्युत आयात करिब आधा घटेर गत आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ५४ करोड ३० लाख युनिटमा झरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा अन्तरिक बजारमा विद्युतको माग धान्न २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत आयात गरिएको थियो । जसका लागि २१ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको थियो । तर, गत आर्थिक वर्ष २०७८/०७९ मा विद्युत आयात घटेर १५ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । यसरी गत आवमा आयात गरेको विद्युतबाट निर्यात गरेको विद्युत घटाउँदा खुद आयात १ अर्ब ५ करोड युनिट अर्थात् ११ अर्ब ५८ करोड रुपैयाँको मात्र खुद आयात भएको छ ।
प्राधिकरणका अनुसार आव २०७८/०७९ मा देशभरमा विद्युत प्रयोग गर्ने ग्राहक संख्या सामुदायिकसहित ५३ लाख पुगेको छ । यसैगरी प्राधिकरणले गत आवमा चुहावट नियन्त्रणमा पनि राम्रो सफलता हासिल गरेको दाबी गरेको छ । प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट विद्युत चुहावट १५.३८ प्रतिशतमा झारेको प्राधिकरणको दाबी छ ।
आर्थिक वर्ष २०७२/०७३ मा विद्युत प्रणालीमा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरुमा निरन्तर घटाएर आर्थिक वर्ष २०७६/०७७ मा १५.२५ प्रतिशतमा झारेको तर आर्थिक वर्ष २०७७/०७८ भने बढेर १७.१८ प्रतिशत पुगेको प्राधिकरणको तथ्यांक छ । आर्थिक वर्ष २०७८/०७९ मा चुहावट नियन्त्रणका लागि चालिएका कदम प्रभावकारी भएका कारण चुहावट १५.३८ प्रतिशतमा झरेको छ । चुहावट नियन्त्रणबाट मात्र प्राधिरकणलाई अघिल्लो वर्षको तुलनामा करिब दुई अर्ब रुपैयाँ थप आम्दानी भएको भन्दै प्रमुख घिसिङले प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको बताए । आर्थिक वर्ष २०७७/०७८ मा ६ अर्ब १० करोड खुद नाफा गरेको प्राधिकरणले आर्थिक वर्ष २०७८/०७९ मा १६ अर्ब ९ करोड पुग्ने अनुमान गरेको छ ।
प्राधिकरणको गत आर्थिक वर्ष २०७८/०७९ को अपरिष्कृत वित्तीय विवरणअनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको अनुमान छ । प्राधिकरणको नाफामा करिब आधा हिस्सा माथिल्लो तामाकोसीको योगदान रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्