सडक विस्तारमा हात हाल्ने बागमती प्रदेशको संकेत «

सडक विस्तारमा हात हाल्ने बागमती प्रदेशको संकेत

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशको राजधानी सहर हेटौंडा बजार क्षेत्र निकै साँघुरो भएको भन्दै सरकारले सडक विस्तारमा हात हाल्ने संकेत गरेका छन् । जिल्ला समन्वय समिति मकवानपुरको आठौं जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अब प्रदेश सरकारले जुनसुकै बेला सडक विस्तारको कदम चाल्न सक्ने बताए ।
“प्रदेशको राजधानी सहर हिजोआज असनको गल्लीजस्तो हुँदै गएको छ । राइट अफ वेको कुरा बारबार उठिरहेको छ । कुनै पनि दिन प्रदेश सरकारले आफ्नो राइट अफ वे क्लियर गर्न सक्छ है भनेर सचेत गराउँछु,” मुख्यमन्त्री पाण्डेले भने, “त्यो बेलामा डोजरले, पुलिसले केहीले पनि रोकिँदैन, काम गरेर छोड्छ सरकारले । त्यसैले तपाईंहरूलाई केही गर्नु छ, अल्टरनेट उपाय छ भने गर्नुहोस्, समयले पर्खंदैन ।”
एकै ठाउँमा धेरै ट्रक बस्ने एउटा केन्द्र हेटौंडामा पनि भएको बताउँदै मुख्यमन्त्री पाण्डेले हेटौंडामा ट्रक पार्क बनाउन तयार रहेको भन्दै त्यसका लागि उपयुक्त ठाउँ खोज्न स्थानीय तहलाई आग्रह गरे । हेटौंडामा व्यवस्थित अटो इरिक्सा पार्कको पनि आवश्यक भएको र त्यसका लागि हेटौंडा उपमहानगरपालिकाले काम गर्नुपर्ने उनले सुझाव दिए ।
केही समयभित्र बागमती प्रदेश सरकारको प्रधान कार्यालय भवन निर्माण सुरु गर्ने पनि मुख्यमन्त्री पाण्डेले सुनाए । “डोरमणि पौडेलले हेटौंडालाई प्रदेश राजधानी घोषणा गरे, अब राजधानी बनाउनको लागि राजेन्द्र पाण्डे आको छ । केही समयभित्रै प्रदेश सरकारको प्रधान कार्यालय भवनको शिलान्यास हुँदै छ । यसै वर्षबाट भवन बन्न सुरु हुन्छ,” पाण्डेले भने । प्रधान कार्यालय भवन निर्माणका लागि १ अर्ब ६ करोड रुपैयाँ बजेट छुट्ट्याइएको पनि उनले बताए ।
प्रदेश सरकारले चालू आर्थिक वर्षमा सम्पन्न गर्ने कामहरूको बारेमा पनि पाण्डेले स्पष्ट पारे । वनकरिया जाति र चेपाङ जातिलाई घर बनाइदिने कार्यक्रम ल्याएको र त्यसका लागि ५ करोड छुट्ट्याइएको उनले बताए । एकल महिलालाई स्वरोजगार बनाउन कार्यक्रम ल्याइएको पनि उनले बताए । प्रदेशका १० हजार युवालाई ३ महिने सीपयुक्त तालिम प्रदान गरी स्वदेश तथा विदेशमा काम गर्न दक्ष बनाइनेसमेत मुख्यमन्त्रीले सुनाए ।
प्रदेशका १३ वटै जिल्ला अस्पतालमा विशेषज्ञ सेवा दिन कार्यक्रम ल्याइएको साथै हेटौंडा अस्पतालमा अबको केही महिनामा मृगौला प्रत्यारोपण सेवा सुचारु हुने पनि उनले बताए । प्रदेशका १३ वटै जिल्ला अस्पतालमा डायलासिस सेवा दिन लागिएको पनि पाण्डेले जानकारी गराए । साना किसानलाई निब्र्याजी ऋण दिनका लागि मात्रै ५० करोड छुट्ट्याइएको र अन्य प्रोत्साहनका कार्यक्रम ल्याइएको पनि उनले बताए ।
कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजाले जिल्ला समन्वय समितिको भूमिकाका कारण राजस्व संकलन प्रधावकारी भएको बताए । प्रदेश र स्थानीय तहलाई बलियो बनाउन समन्वय समितिहरूले महŒवपुर्ण भूमिका खेलेको उनले स्मरण गरे । दहत्तर बहत्तर संकलन तथा निकासीमा हुने गरेको समस्याबारे पनि समन्वय समितिले प्रभावकारी समन्वय गर्नुपर्ने राज्यमन्त्री प्रजाले बताए । मकवानपुर, चितवन र धादिङका सीमान्तकृत तथा पिछडिएका नागरिकलाई लक्षित गरी एकीकृत बस्ती बनाउने योजना बनाएको र त्यसको कार्यविधि संशोधनको काम अन्तिम चरणमा पुगेको पनि उनले सुनाए । जिल्ला सभामा समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले समितिले गरेका काम र आगामी योजनाको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपप्रमुख सानुकाजी लुइँटेलले चालू आवको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्