नर्भिकद्वारा सर्वोच्चमा रिट दायर «

नर्भिकद्वारा सर्वोच्चमा रिट दायर

नर्भिक अस्पतालले काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र संरचना भत्काउन दिएको अल्टिमेटम गैरकानुनी रहेको बताएको छ । सम्झौताअनुसार ३ महिनाभित्रको समय सीमा दिएरमात्र संरचना हटाउने उल्लेख भए पनि काठमाडौं महानगरपालिकाले दिएको २४ घण्टे अल्टिमेट गैरकानुनी रहेको संरचना अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले बताए । अध्यक्ष सिंहले २०६५ सालमा भएको सम्झौताबमोजिम भूमिसुधार कार्यालय काठमाडौंसँग २० वर्षका लागि सम्झौता भएको र जग्गा प्रयोग गर्न चाहेको खण्डमा वा छोड्न चाहेको खण्डमा ३ महिनाको समय सीमा दिने उल्लेख भए पनि महानगरपालिकाले २४ घण्टाको समय दिएर हटाउन दबाब दिनु गैरकानुनी भएको जनाएको हो ।
उनले सोही सम्झौताबमोजिम अस्पतालले बनाएका संरचना तत्कालै भत्काउन सम्भव नरहेको बताएका हुन् । ‘सरकारका तर्फबाट तत्कालीन भूमिसुधार अधिकारीले र अस्पताल बीचमा भएको सम्झौतापत्रमा एक रोजगी जग्गा ‘लिज’मा लिएको सो जग्गामा सम्झौताविपरीत कुनै काम नभएको उनको दाबी छ ।
यता महानगरपालिका र नर्भिकबीच भने मंगलबार प्राविधि टोली गठन गरेर सो टोलीले लिएको प्राविधिक प्रतिवेदनको आधारमा टहरा हटाउने कार्य अगाडि बढ्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । उनले भने, “टहरामा अक्सिजन प्लान्ट रहेकाले गर्दा सो हटाउँदा बिरामीलाई समस्या हुने देखिएर प्रविधिक टोली गठन भएको छ उनीहरुले दिएको प्रतिवेदनको आधारमा टहरा हटाइने छ ।”
अस्पतालले भने छानबिन टोली गठन गर्ने गरि मौखिक सहमति भएको नर्भिक अस्पताललका प्रवक्ता सोम बास्तोलाले बताए । उनले भने ,“वस्तु स्थिति बुझ्नका लागि छानबिन टोली गठन गर्ने निर्णय भएको छ । यसका लागि प्रक्रिया अगाडि बढ्ने छ ।”
महानगरका प्रमुख बालेन्द्र साहले सोमबार नर्भिक अस्पताल पुगेर अस्पतालले लिजमा लिएको जग्गामा बनेका संरचना २४ घन्टाभित्र खाली गर्न सूचना टाँस गराएका थिए ।
०६५ सालमा २० वर्षका लागि तत्कालीन भूमिसुधार कार्यालय काठमाडौंसँग बाटो नभएको जग्गा वार्षिक ३३ हजार रुपैयाँ बुझाउने शर्तमा प्रत्येक वर्षमा १० प्रतिशत भाडा बढ्ने गरी सम्झौता भएको थियो । जग्गाको लिज भने ८ वर्ष बाँकी छ ।
सर्वोच्च अदालतमा रिट दायर
काठमाडौं महानगरपालिकालाई विपक्ष बनाएर नर्भिक अस्पतालले मंगलबार रिट दायर गरेको छ । अस्पतालका प्रवक्ता सोम बस्तोलाका अनुसार मंगलबार अस्पतालले महानगरलाई विपक्ष बनाएर सम्झौताअनुसार नै अस्पतालले सोे जग्गा प्रयोग गरिरहेको छ । सोहीअनुसार महानगरपालिकालाई विपक्ष बनाएर सर्वोच्चमा अन्तरिम आदेशका लागि रिट दायर भएको छ । सो रिटको पेस्की बुधबार १० बजे तोकिएको बास्तोलाले बताए ।

प्रतिक्रिया दिनुहोस्