स्याङ्जामा ८ सय ९४ नयाँ उद्योग «

स्याङ्जामा ८ सय ९४ नयाँ उद्योग

स्याङ्जामा गत आर्थिक वर्ष २०७८/०७९ मा ८ सय ९४ वटा नयाँ उद्योग थपिएका छन् । कृषि तथा पशुपक्षी र सानो पुँजीको लगानीमा जिल्लामा पछिल्लो समय ८ सय ९४ घरेलु तथा साना उद्योग थपिएका हुन् ।
तुलनात्मक रुपमा जिल्लामा कृषि तथा पशुपक्षीसँग सम्बन्धित फार्म तथा उद्योग बढी थपिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्रीप्रसाद रेग्मीले जानकारी दिए । गत आर्थिक वर्षमा ८ सय ९४ घरेलु तथा साना उद्योग थपिँदा वाणिज्य (पसल, व्यवसाय) तर्फ ६ सय ८४ नयाँ दर्ता भएको प्रमुख रेग्मीले बताए ।
उद्योग तथा व्यवसाय महिलाका नाममा दर्ता गर्दा शुल्कमा ५० प्रतिशत छुट हुने भएकाले पनि महिलाका नाममा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढ्दो रहेको कार्यालय जनाएको छ । आव २०७७/०७८ को तुलनामा आव २०७८/०७९ मा उद्योग तथा व्यवसाय दर्तामा भने कमी आएको छ । आव २०७७/०७८ मा १ हजार ४ सय ७५ उद्योग दर्ता भएका थिए भने पछिल्लो वर्ष ९ सय ६६ पसल तथा व्यवसाय दर्ता भएका छन् ।
२०७७/०७८ को तुलनामा पछिल्लो आर्थिक वर्षमा ५ सय ८१ वटा उद्योग दर्तामा कमी भएको छ भने वाणिज्यतर्फ २ सय ८२ मात्रै दर्ता भएका छन् । पछिल्लो समय स्थानीय पालिकामा व्यवसाय दर्ता अनिवार्य गरेपछि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्ने क्रम घटेको कार्यालयले जनाएको छ ।
कार्यालयले गएको आर्थिक वर्षमा ७९ वटा उद्योग र १ सय १० वटा वाणिज्य (पसल, व्यवसाय) को दर्ता खारेजी गरिएको छ । जिल्लामा २०७९ असार मसान्तसम्ममा ८ हजार ९ सय १२ उद्योग दर्ता भएकोमा ५ हजार ८ सय ८३ वाणिज्य (पसल, व्यवसाय) मात्रै सञ्चालनमा रहेका छन् ।
आर्थिक वर्ष २०७८/०७९ मा कार्यालयले उद्योग व्यवसाय दर्ता, नवीकरण, विलम्ब शुल्क, नामसारी, ठाउँसारी, पुँजी वृद्धि, लगत कट्टा तथा खारेजी जस्ता कार्यबाट ७० लाख ४ हजार ३ सय ४५ रुपैयाँ राजस्व संकलन गरिएको घरेलु कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्