जात्रासँगै संखुवासभामा बढ्यो व्यापारिक कारोबार «

जात्रासँगै संखुवासभामा बढ्यो व्यापारिक कारोबार

पूर्वी पहाडी जिल्ला संखुवासभाको खाँदबारी, चैनपुर, तुम्लिङटार भोजपुरको भोजपुर बजार, षडानन्द नगरपालिकाको दिङ्लालगायतका क्षेत्रमा लाखे जात्रा सुरु भएसँगै व्यापार व्यवसायमा चहलपहल बढेको छ ।
जिल्लाका विभिन्न स्थानबाट सदरमुकाममा लाखे जात्रा हेर्न आएका जात्रा प्रेमीहरुको चहलपहलले सदरमुकामका होटल तथा अन्य व्यापार फस्टाउन थालेको संखुवासभा उद्योग वाणिज्य संघका महासचिव सरोज बज्राचार्यले बताए । यहाँका व्यापारीले जात्रा, दसैं तिहारलगायतका पर्वलाई लक्षित गरी ग्राहकको रोजाई अनुसारका सामग्री तथा खाद्य वस्तु भित्र्याउने गरेका छन् ।
वर्षेनि यसरी नै जात्रा हेर्न र आवश्यक सामग्री खरिद जिल्ला सदरमुकामबाट ४ दिनको पैदल दुरीमा पर्ने भोटखोला थुदामबाट आउने गरेको भोटखोलाका स्थानीय गुरु भोटे बताउँछन् । सदरमुकाम खाँदबारीदेखि दुर दराजका ग्रामिण बस्तीहरुमा जात्रा हेर्न महिनौं अघिदेखि नै योजना बनाइन्छ, घरका लागि महिनौंं धान्ने आवश्यक सामग्री खरिद, सदरमुकाममा रहेका आफन्त इष्टमित्रसँगको भेटघाटका साथै जात्रा हेर्न परिवारीक योजना नै बनाइने गरिएको भोटखोला हटियाका थुदोक भोटेले बताए ।
भोटेजस्तै एक दिनको पैदल दुरीमा पर्ने सभापोखरी गाउँपालिका २ बाट जात्रा हेर्न सदरमुकाम आएका इन्द्रबहादुर राईले पनि जात्रा पर्व ग्रामिण भेगका लागि एक अवसरमा भएको बताए । उनले हप्ता दिन अघिदेखि नै गाईवस्तु र घरबारको उचित व्यवस्थापन गरेर बालबच्चा र परिवारका सदस्यसहित जात्रा हेर्न आउने गरेको अनुभव सुनाए । नेवारी समुदायको मात्र नभएर अहिले सबैले जात्रालाई आफ्नै पर्वका रुपमा लिने गरेको भन्दै बालबालिका र केटाकेटी बढि जात्रा हेर्न उत्सुक हुने गरेको राई बताउँछन् ।
जात्रा पर्वले होटल व्यवसायमा समेत राम्रो प्रभाव परेको होटल व्यवसायी संघ संखुवासभाका अध्यक्ष डाक्टर प्रसाद पराजुलीको भनाइ छ । जात्राको समयलाई मध्यनजर गर्दै होटल व्यवसायीले महिना दिन अघिबाटै योजना बनाई ग्राहकको सेवा सुविधालाई ध्यान दिने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्