सेती अस्पताललाई तीन सय शैयामा विस्तार गरिने «

सेती अस्पताललाई तीन सय शैयामा विस्तार गरिने

लामो समयदेखि १ सय २५ शैयामा सेवा दिँंदै आएको सेती प्रादेशिक अस्पताललाई तीन सय शैयामा विस्तार गर्ने नीतिगत निर्णय भएको छ ।
सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सो अस्पताललाई दुई सय शैयामा प्रदेशको स्रोतबाट र थप एक सय शैया संघीय सरकारको स्रोतबाट विस्तार गर्ने निर्णय गरेको हो । दुई सय शैयाको अस्पतालमात्रै सञ्चालन गर्नसक्ने प्रदेशको क्षेत्राधिकार रहेको र सोभन्दा माथिको अस्पताल संघीय सरकारले मात्रै सञ्चालन गर्न सक्ने भएकाले थप एक सय शैया सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लेखी पठाउने निर्णय भएको छ ।
यसअघि, ५० शैया सरकारी कोटामा र ७५ शैया अस्पतालले आन्तरिक स्रोतबाट सञ्चालन गरिरहेको थियो । ५० शैयाको प्रदेश सरकारले थप दुई सय शैयासम्म सञ्चालन गर्ने अनुमति दिएपछि अब सेती प्रादेशिक अस्पताल २ सय ७५ शैयाको भएको छ । संघीय सरकारले थप एक सय शैयाको अनुमति दिएपछि ३ सय ७५ शैयामा विस्तार हुने अस्पताल स्रोतले जनाएको छ ।
सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले दुई सय शैयासम्मको अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले नै स्रोत व्यवस्थापन गर्ने निर्णय भएको बताए । उनले तीन सय शैयासम्म सञ्चालन गर्नका लागि संघीय सरकारबाट स्रोत र अनुमति माग गरी लेखी पठाउने निर्णय गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्