मानवमैत्री सडकका लागि युवाहरूको जोड «

मानवमैत्री सडकका लागि युवाहरूको जोड

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाभित्र मानवमैत्री सडकको आवश्यकताका लागि स्थानीय युवाहरूको भेलाले पहिलो चरणको रेखाङ्कन गर्न सम्बन्धित निकायलाई जोड दिएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा पछिल्लो समय बढ्दो जनघनत्व तथा सवारी साधनको उच्च चाप भएसँगै मानवमैत्री सडकको पनि आवश्यकता परेको छ । यस नगरपालिकाको कतिपय ठाउँमा मानवमैत्री सडकको व्यवस्थापन हुन नसक्दा जतिबेला पनि सडकमा हिँडिरहेका बालबालिका, वृद्धवृद्धाहरूलाई तीव्र गतिमा आइरहेको सवारी साधनको आवागमनले गर्दा दुर्घटना निम्त्याउन सक्ने स्थानीय युवाहरू बताउँछन् । अझ त्योभन्दा पनि ससाना बालबच्चाहरू मानवमैत्री सडक नहुँदा घरको गेट खोलेर दौडने, सवारी साधन आए/नआएको ख्याल नगर्ने, अनि सडकको छेउबाट हिँड्दा साना तथा ठूला सवारी साधनहरूले ठक्कर दिने सम्भावना बढेको हुनाले यस्ता कुरामा स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूले पनि मानवमैत्री सडकका लागि विशेष ध्यान दिनु जरुरी देखिन्छ ।
स्थानीय केही युवाहरू सम्भावित क्षेत्रअन्तर्गत तत्कालका लागि मानवमैत्री सडकको पहल गर्नुपर्ने भनेको हरहर महादेव मार्गअन्तर्गत हरहर महादेव–मिलनचोक सडकखण्डदेखि अर्को सडकखण्ड घनामंगल मार्गमा रहेको हजुरको धारादेखि गणेशस्थान चोकसम्मको सडकका लागि मानवमैत्री सडकको व्यवस्था हुनुपर्ने बताउँछन् । जागरूक स्थानीय युवाहरू मिली साउन २३ गते सोमबारका दिन मानवमैत्री सडकको आवश्यकताका लागि चिठीसहित हस्ताक्षर संकलन गरेर सम्बन्धित वडा कार्यालयहरूमा समेत पेस गरेका छन् ।
यी त भए मानवमैत्री सडकका लागि युवाहरूको भूमिका । तर, कागेश्वरी मनोहरा नगरपालिकाले पनि आफ्नो नगर क्षेत्र विकासका लागि बाटोघाटो विस्तार गरेसँगै अधिकांश ठाउँमा मानवमैत्री सडकहरू पनि बनेका छन्, सडकका भौतिक सुधार पनि भएका छन् । नगरपालिकाले केही महिनाअघि मात्रै आम सर्वसाधारणलाई हिँडडुल गर्न सहज होस्, सवारी आवागमनका लागि सवारी जाम मुक्त होस् भन्ने हेतुले सडकमा अव्यवस्थित रूपमा फुटपाथ व्यवसाय गरेर बस्ने अधिकांश मानिसलाई सचेत पनि गराएको छ । सन्ध्याकालीन समयमा पनि नगर प्रहरीहरूले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको देख्न सकिन्छ । यसले गर्दा हिजोआज निकै भीडभाड हुने नगरपालिकाका केही ठाउँ भने अहिले जाममुक्त छ । सबैले सहजै हिँडडुल गर्न पाएका छन् ।
हालसालै नगरपालिकाले र्‍यापिड रेस्पोन्स टिम सञ्चालन गरेको छ, जहाँ सडकमा देखा परेका खाल्डाखुल्डीहरू पुर्ने, मर्मतसम्भार गर्ने कार्य तीव्र रूपमा अगाडि बढाइरहेको अवस्था छ । कति रेखाङ्कन गरी मानवमैत्री सडकहरू बन्ने क्रममा छन् । तर, वास्तवमा भन्दा मानिसहरूको व्यक्तिगत स्वार्थ परिपूर्तिका लागि मानिसहरूले नै धेरै गल्ती पनि गरिरहेको देख्न सकिन्छ । जस्तै— नगरपालिकाको केही ठाउँभित्र पनि धेरै ठूला–ठूला सवारी साधन ठाउँ–ठाउँमा लामो समयसम्म पार्किङ गर्नाले सवारी आवागमन मात्र होइन, मानिसहरूलाई हिँडडुल गर्नसमेत कठिनाइ भएको छ । सर्वसाधारणलाई हिँडडुल गर्न सडकमा अवरोधहरू भएको देख्न सकिन्छ । कतै लामो समयदेखि बिजुलीका खम्बाहरूले गर्दा अवरोध सिर्जना गरेका छन् । घर निर्माणका सामग्रीहरू सडकमा यत्रतत्र थुप्रिनाले पनि सडकमा अवरोधहरू भएका छन् । यसरी सूक्ष्म तरिकाले हेर्ने हो भने मानिसहरूका आफ्नै स–साना गल्तीले गर्दा पनि सडकहरू अवरोध भएका छन् । यस्ता ससाना गल्तीहरूलाई सच्याएर स्थानीय निकायसँग समन्वय गर्दै गएमा सुन्दर समाजको निर्माण गर्न सकिन्छ । कागेश्वरी मनोहरा वडा नम्बर ७ का स्थानीय युवाहरूको पहलमा मानवमैत्री सडकको रेखाङ्कनका लागि स्थानीयसँग समन्वयन गरेर अगाडि बढेजस्तै सम्मुनत समाजको निर्माणका लागि सम्पूर्ण युवावर्गहरू पनि स्थानीय निकायहरूसँग हातेमालो गर्दै अगाडि बढ्नु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्