विकासको ‘भरत मोडल’ र बागमती नगरपालिका «

विकासको ‘भरत मोडल’ र बागमती नगरपालिका

भिजन, मिसन, सदाचारिता र देशप्रेम भए जनप्रतिनिधिहरूले जति पनि काम गर्न सक्छन् भन्ने एउटा उदाहरण हुन्— सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा । राम्रो काम गरेकै कारण उनी स्थानीय तह निर्वाचनमा पुन: दोहोरिए । त्यसरी दोहोरिन यसपटक उनले जनतासमक्ष भोटसमेत माग्न परेन, लोकप्रिय मतसहित जनताले नै उनलाई दोहोर्‍याइदिए । मेयरको रूपमा थापाले अघिल्लो कार्यकालमा प्रशंसनीय काम गरेका थिए । उनले गरेको कार्यले देश–विदेश सबैतिर चर्चासमेत पाउन थालेका छन् ।
कुनै बेला (२०५० सालमा) बूढी बागमतीमा आएको बाढीले सर्लाहीको बागमती नगरपालिका आसपास तहसनहस नै पारेको थियो । बाढीले नदी आसपासका जग्गा–जमिन बगाएर बालुवाको उजाड बगर बनाएको थियो । बस्तीहरू बगेका थिए । बाढीपछि धेरैले जग्गा–जमिन बेचेर बसाइँसराइ गरेको स्थानीयवासी सुनाउँछन् । बाढीले खोलावरिपरिको धेरैजसो जमिन बगरमा परिणत भएपछि धेरैको खुसी लुटिएको थियो ।
तर, यसबीच खोला किनारलाई व्यवस्थित तटबन्धन गरिएको छ । बगरमा परिणत भएको उजाड भूमिमध्ये १ सय २१ बिघा जग्गामा भव्य ताल बनाइएको छ । सो ताल अवलोकन गर्दा जोकसैले फेवा ताल बिर्सन्छन् । ताल निकै नै विशाल र सुन्दर देखिन्छ । महाकवि देवकोटाले नेपाल सुन्दर, शान्त र विशाल छ भनेर कल्पेका थिए । वास्तवमै महाकविका सुन्दर भाव र उच्च चेतना मेयर थापामा पनि रहेको ताल नियाल्दा महसुस भयो । ताल पुगेपछि जो–कसैले मेयर थापाको तारिफ गर्छन् ।
तालको नाम स्थानीयले नै मेयरको कामलाई सम्मान गर्दै ‘भरत ताल’ राखिदिएको संकथन छन् । ‘भरत ताल’ बनाइनुअघि त्यस ठाउँमा झाडी–जंगल र बगर थियो रे । तस्करहरूले रूख काटेर बेच्ने धन्दाहरू चल्थे रे । जब भरत थापा मेयरको रूपमा उदाए, त्यसपछि उनले लाखौं पर्यटक भिœयाउने, माछापालन गरेर मनग्य आम्दानी गर्ने योजनाहरू बुने । महŒवाकांक्षी लक्ष्यसहित ताल बनाउने निर्णय गरे । उनले त्यो काम आफ्नो पहिलो कार्यकालमै लगभग पूरा गरेका देखिन्छन् । अहिले देशका विभिन्न ठाउँबाट मात्र नभएर भारतलगायत तेस्रो देशहरूबाट समेत ताल हेर्न पर्यटकहरू आउन थालेको स्थानीय सुनाउँछन् । १ सय २१ बिघा जग्गामा निर्मित सो ताल तराई मधेसकै सबैभन्दा ठूलो ताल भएको छ ।
सो ताल बनेसँगै सर्लाहीको बागमती नगरपालिकाको मात्रै नभएर जिल्लाकै आकर्षण बढेको स्थानीयको बुझाइ छ । बसाइँ सरेर गएकाहरू पनि फर्कन थालेका र जग्गाजमिनको भाउसमेत बढ्दै गएको स्थानीय अटो चालक केदार माझी बताउँछन् । तालले स्थानीय स्तरमा घनिभूत रूपमा रोजगारी सिर्जना गर्दै लगेको अर्का स्थानीय राम माझी बताउँछन् । पर्यटकीय हिसाबका रोजगारीहरू सिर्जना भएका देखिन्छन् । तालवरपर ३०–४० वटा होटलहरू खुलिसकेका छन् । हाल २५ वटा ‘बोट’ तालमा सञ्चालित छन् । ३ सय रुपैयाँमा ‘बोट’ चढ्ने सुविधाले उनीहरूको आम्दानी उकासेको छ । स्थानीय अटो चालकहरूले काम पाएका छन् । तालमा माछापालनसमेत गरिएकाले नगरपालिकाको आम्दानी बढ्ने भएको छ । पूर्वपश्चिम राजमार्गको मूल सडकबाट ताल जाने बाटो र तालको वरिपरि पूरै पिच गरिएको छ । सरसर्ती हेर्दा ‘भरत ताल’लाई एउटा नमुना पर्यटकीय योजनाको रूपमा लिन सकिन्छ । सो ताल र तालनजिकै नगरपालिकाले नै बनाउँदै गरेको ‘फर्न पार्क’ पर्यटकीय हिसाबले अझ उत्कृष्ट छ । कृत्रिम रूपमै चार–पाँच वर्षमै खडा गरिएको ‘भरत ताल’ र बागमती नदी किनारैमा पाँच बिघा सरकारी जग्गामा बनाइएको ‘फन–पार्क’ देशकै योजनाविद्हरूका लागि शिक्षाप्रद हुन सक्छ । विकासका योजना बनाउनेहरूले त्यसलाई एकचोटि अवलोकन गरेकै राम्रो हुन सक्छ ।
भन्नेहरूले सुरुमा विकास बजेट जथाभावी खर्च गर्‍यो पनि भने होलान् । केही गर्न चाहनेको खुट्टा तान्ने र भाँजो हाल्ने त नेपालीहरूको संस्कारै भइसकेको छ । त्यसकारण अप्ठेराहरू त पक्कै झेले होलान् मेयर थापाले । तर, उनको काम नियाल्दा स्यालुट गर्न सकिन्छ ।
६५ करोड लागतमा बनेको सो ‘भरत ताल’ले दीर्घकालका लागि त्यस ठाउँको ठूलो सम्भावना उजागर गरेको छ । तालले पर्यटकीय रूपमा मधेसको मात्रै नभएर पूरै देशको र अन्तर्राष्ट्रको समेत ध्यान खिचेको देखिन्छ । ताल सामाजिक सञ्जालहरूमा भाइरलसमेत भइरहेको छ ।
तालले बर्सेनि ठूलो संख्यामा पर्यटक भिœयाएर आम्दानी गर्ने अवसरको सिर्जना गरेको छ । उजाड जमिन र खेर गइरहेको खोलाको पानीको सही सदुपयोग भएको देखिन्छ । ताल बनेसँगै आसपासमा सिँचाइ सुविधा पुग्ने देखिन्छ, त्यसले पर्यावरण संरक्षणमा पनि टेवा पुग्न सक्ला । वृक्षारोपणका कामहरू पनि भएका देखिन्छन् । ताल आसपासमा ३० वटा पिकनिक स्पट, चौतारा र प्रतीक्षालयहरूसमेत बनिरहेका छन् । पर्यटनको सो महŒवाकांक्षी योजनाले अझ पूर्णता पाइसकेको छैन । पूर्णता पाएसँगै त्यसले सबैको ध्यान खिच्ने सहजै अनुमान लगाउन सकिन्छ । तालका कारण ६ किलोमिटर दूरीमा अवस्थित रौतहटको नुनथर क्षेत्र र सर्लाहीको बागमती–११ मा पर्ने हरिहर क्षेत्रमा घुम्न आउने पर्यटहरू घुइचो लाग्न थालिसकेको स्थानीय सुनाउँछन् ।
मधेसको उग्रचण्डी गर्मीबीच स्थानीयले शीतल खोज्न अन्त टाढा जानुपरेको छैन । साथै मधेसको सौन्दर्य जीवित राख्न तालले ठूलो भूमिका खेलेको छ । नगरपालिकाले भरत ताललाई स्वच्छ, सफा तथा हरियाली एवं फूलबारीमय बनाउनुपर्ने आवश्यकता पनि छ । सफा र सुन्दर पनि हुन सक्यो भने सो तालले निकै राम्रो पर्यटकीय सम्भावना बढाउनेछ ।
खोलाको बगर रहेको, उपयोगमा नआएको सरकारी जग्गालाई भारतमा बगिजाने खोलाको पानी हालेर भव्य ताल बनाइनु र पर्यटकीय हिसाबले हीरा बनाउनु आफैंमा एउटा बेजोड काम हो ।
वास्तवमा विकासको ‘भरत थापा मोडल’ नेपालको हकमा सबै ठाउँमा आवश्यक छ । भरत थापाहरूले जस्तै हरेक जनप्रतिनिधिहरूले आफ्ना क्षेत्रमा भएका सम्भावनाहरूलाई एक–एक गरी नियाल्न जरुरी छ । र, त्यसको अठोटका साथ कार्यान्वयन गर्न जरुरी छ । चाहँदामा गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका हुन् । विकास भनेको कछुवा गतिमा होइन, खरायो दौडमा हुन जरुरी हुन्छ । जनताले आफ्नै जीवनकालमा सुविधा सम्पन्न विकास देख्न र अनुभूत गर्न पाउनुपर्छ । यसर्थ हरेक जनप्रतिनिधिहरूले बागमतीका मेयरबाट सिक्न जरुरी छ । राजनीति वास्तवमा अरूका लागि, जनताका लागि गरिनुपर्छ । नेताले आफ्नै लागि राजनीति गर्ने होइन । राजनीति विकास र समृद्धि ल्याउने कुरासँग जोडिनुपर्छ । राजनीति भनेको उच्चस्तरको समाजसेवा हो, जसले समाज र राष्ट्रका लागि दिन सक्छ वा जान्दछ, उसको हो जीवन्त राजनीति । मेयर थापाले राजनीति र पदहरूबाट लिएको पनि केही देखिएन । समाचारहरूमा आएअनुसार उनले विकास र सामाजिक सेवाका लागि आफ्नो तलबभत्तासमेत समर्पण गरेका छन् । उनले तलबभत्तासमेत नलिएर जनताको सेवा गरेका छन् । यसकारण उनी कुशल राजनीतिज्ञ हुन्, असल समाज सेवक हुन् । अरूहरूले उनीबाट सिक्न जरुरी छ ।
उनको नगरपालिकाभित्र सबैजसो ठाउँमा कालोपत्रे भइसकेको देखिन्छ । सरकारी विद्यालयहरूको गुणस्तर बढाएर विद्यार्थीको भीड लाग्ने बनाएका छन् । स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै काम गरेको सुनिन्छन् । अन्यत्र जता जाँदा पनि आफ्ना जनप्रतिनिधिहरूले काम नगरेका गुनासाहरू सुनिन्थ्यो । तर, बागमती नगरपालिका र उनले विकास गरेको पर्यटन गन्तव्य नियाल्दा सबैले मेयरको प्रशंसागान गरेको पाइयो । अनौठो लाग्यो, मेयर हुन् त भरत थापाजस्ता ।

प्रतिक्रिया दिनुहोस्