मौसमसम्बन्धी पूर्वसूचना दिन थालेपछि जनधनको क्षति न्यून भएको छ «

मौसमसम्बन्धी पूर्वसूचना दिन थालेपछि जनधनको क्षति न्यून भएको छ

हाल जल तथा मौसम विज्ञान विभागको महानिर्देशकको रूपमा कार्यरत छन्, कमलराम जोशी । उनी विगत २७ वर्षदेखि सरकारी सेवामा आबद्ध छन् । नेदरल्यान्डबाट स्नातकोत्तर अध्ययन सकेका जोशीले विद्युत विकास विभाग, जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेर विद्युत तथा जल विज्ञानको क्षेत्रमा लामो समयको अनुभव सँगालेका छन् । वि.सं २०७६ मा उप–महानिर्देशक तथा बाढी पूर्वानुमान महाशाखाको प्रमुखको भूमिका निर्वाह गरिसकेका जोशी हाल महानिर्देशकको भूमिकामा छन् । यतिबेला हामी मनसुनको समयमा छौं । गत सातादेखि नै वर्षा भएको छ । योसँगै बाढीपहिरोको त्रास छँदै छ । मनसुनजन्य विपत्तिका कारण बर्सेनि कतिले ज्यान गुमाइरहेका छन् त कति घरबारविहीन भएका छन् । तर, पछिल्लो एक दशकयता मौसमी तथा जलसम्बन्धी पूर्वसूचनाका कारण धनजनको क्षति कम हुँदै गएको बताउँछन् जोशी । विभागले बाढीसम्बन्धी पूर्वसूचना दिँदा जोखिम न्यूनीकरण भएका उदाहरण बढ्दै गएको छ । प्रवाह गरिने सूचनाहरूको विश्वास र रेस्पोन्स नगर्दा धनजनको क्षति भएको उनको तर्क छ । बाढी र मौसमसम्बन्धी पूर्वसूचनालाई अझै आधुनिकीकरण र विस्तार गर्दै जल तथा मौसमजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणको कार्यक्रमलाई आगामी दिनमा उच्च प्राथमिकता दिएर अगाडि बढ्ने लक्ष्य रहेको बताउँछन् जोशी । यसै सन्दर्भमा बाढीको पूर्वसूचनाको प्रभाव, भावी रणनीति, हिमतालको जोखिम न्यूनीकरण गर्न सरकारको रणनीतिलगायतका विषयमा केन्द्रित रहेर महानिर्देशक जोशीसँग कारोबारकर्मी प्रगति ढकालले गरेको कुराकानीको सार :

मनसुन सुरु हुुनुअगाडि नै यस वर्ष औसतभन्दा बढी पानी पर्ने भन्नुभएको थियो, तर तपाईंहरूको अनुमान त मिलेन नि ?
हामीले प्रत्येक वर्ष मनसुन सुरु हुनु एक महिनाअगाडि नै सरोकारवालालाई तयारी गर्न सजिलो होस् भनेर सरदर मनसुन कति हुन्छ भन्ने सूचना दिने गर्छौं । २३ वैशाख मै हामीले मनसुन कस्तो रहन्छ भनेर सूचना दिएको हो । त्योअनुसार नेपालका धेरैजसो भू–भागमा सरदरभन्दा बढी पानी पर्ने र केही भू–भागमा सरदर पर्ने भन्ने हामीले जानकारी गराएको हो । यो साल मनसुन सुरु भएयता एक महिनाको अवधिलाई हेर्ने हो भने हाम्रा जति पनि स्टेसनहरू छन् त्यसमा कस्तो देखियो भने कास्कीभन्दा पूर्व धेरैजसो स्थानमा औसतभन्दा बढी पानी परेको देखियो । कास्कीभन्दा पश्चिमचाहिँ केही कम परेको अवस्था हो । त्यसमा पनि यो सालको मनसुन देशभर एकनासले नभई कुनै ठाउँमा अलिकति धेरै, केही ठाउँमा अलिकति कम वर्षा भएको छ । अलिकति मनसुन ब्रेकजस्तो गरेर परेका कारण यस्तो भएको हो । नत्रभने हाम्रो औसत वर्षा नै भएको छ ।

बाढीसम्बन्धी पूर्वानुमान गर्ने स्टेसनहरू कति छन् ?
जल तथा मौसमी स्टेसनहरू ७ सय ५० भन्दा बढी छन् । तर, त्यसमा बाढीसम्बन्धी मानव सञ्चालित स्टेसनहरू पनि छन् । त्यसमा १ सय २५ स्वचालित स्टेसन छन्, जसका आधारमा हामी पूर्वानुमान गर्छौं ।

पूर्वसूचना जनतासामु पुुर्‍याउने मेकानिजम के हो ?
सरोकारवालालाई मौसम पूर्वानुमान, चेतावनी, पूर्वसूचना तथा जानकारी प्रदान गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवस्थित मौसम पूर्वानुमान महाशाखाको मौसम कक्ष चौबीसै घण्टा सेवामा रहेको छ । तीन दिन (७२ घण्टा) सम्मको मौसम पूर्वानुमान, चेतावनी तथा परामर्शलगायतका विवरण समेटेर नियमित रूपमा बिहान ६ बजे र बेलुका ६ बजे दैनिक बुलेटिन अपडेट गर्दै आएका छौं । मौसमको विशेष अवस्थामा तीन दिनअगावै चेतावनीसहितको आकस्मिक मौसम बुलेटिन जारी पनि गर्छौं । आवश्यकताअनुसार बिग्रँदो मौसमको अवस्थाबारेको पूर्वसूचनासमेत जारी गर्दै आइरहेका छौं । देशैभर फैलिन सक्ने अतिभारी वर्षाको विशेष पूर्वानुमान पाँच दिनअगावै गरी सरोकारवालालाई पठाउने गरेका छौं । देशका बाढी प्रभावित विभिन्न नदीनालाको बाढी अनुगमन तथा पूर्वानुमान गर्न, हिमताल विस्फोट वा अन्य कारणले उत्पन हुनसक्ने बाढीसमेतका लागि पूर्वसूचना प्रवाह गर्न यस विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाअन्तर्गतको पूर्वानुमान शाखा मनसुनको अवधिभर चौबीसै घण्टा सुचारु गरेका छौं । बाढी पूर्वानुमान वा पूर्वसूचना सेवा भौतिक रूपमा वा अनलाइन प्रणालीमार्फत चौबीसै घण्टा सुचारु छ । देशका मुख्य नदीहरू कोसी, गण्डकी, कर्णाली, बागमती, बबई र पश्चिम राप्तीलगायतको बाढी पूर्वानुमान तीन दिनअगावै गर्ने गरी विकास गरिएको कम्प्युटर मोडेलको प्रयोग, अन्य नदीको हकमा ग्लोबल मोडेल प्रयोग गरी बाढी पूर्वानुमान गर्ने र मुख्य सरोकारवालाबीच जानकारी गराउने कार्यलाई यस वर्ष पनि निरन्तरता दिएका छौं । ससाना नदीहरूमा हुनसक्ने आकस्मिक बहावको २–४ घण्टाअगाडि नै पूर्वानुमान गरी सरोकारवालालाई विभिन्न माध्यमबाट जानकारी गराइनेछ । देशैभर फैलिन सक्ने ठूला बाढीजन्य गतिविधिको पूर्वानुमान पाँच दिनअगावै गरी सरोकारवालालाई पठाइनेछ । बाढीप्रभावित समुदायलाई मास एसएमएस पठाउने कार्य रियल टाइम तथ्यांकका आधारमा गरिनेछ । मनसुनको समय भरि हरेक दिन बिहान ७ बजे बाढीको पूर्वानुमान बुलेटिन जारी गर्छौं । पूर्वानुमानको मान्यावधि कम्तीमा २४ घण्टासम्मका लागि हुनेछ । विशेष अवस्थामा दिन वा रातको कुनै पनि समयमा बुलेटिन जारी हुनेछ ।
बाढी र मौसम पूर्वानुमान बुलेटिन जारी गरिसकेपश्चात् पहिलो जानकारी गृह मन्त्रालय–राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई गराइनेछ । जारी भएको बाढी बुलेटिन तत्कालै यस विभागको आधिकारिक वेबसाइटमा पनि राख्छौं । तत्कालै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले सूचीकृत गरेका सबै मन्त्रालय तथा विभाग साथै रेडक्रसलगायत अन्य विपद्को क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरूका विपद् सम्पर्क व्यक्तिहरूलाई ईमेलमार्फत बुलेटिन पठाउने गरिएको छ ।
बाढी सतर्कता तह नजिक पुग्न लागेमा, सतर्कता तह पार गरेमा, खतरा तह पार गरेमा वा अन्य विषम अवस्थामा देशका मुख्य नदी, जलाधारमा नेपाल टेलिकम र एनसेलमार्फत बाढीबाट प्रभावित हुने मुख्य नदी जलाधारका सर्वसाधारणलाई मोबाइलमा नि:शुल्क एसएमएस पठाइनेछ । देशैभरका सर्वसाधारणका लागि ११५५ नम्बर टोलफ्री सेवा बाढी पूर्वसूचना प्रदान गर्ने उद्देश्यले मनसुनभर सञ्चालन गरेका छौं । मौसम पूर्वानुमानको हकमा सर्वसाधारणलगायतका लागि सम्पर्क टेलिफोन ०१–४११३१९१ र ०१–४४८६८६९ चौबीसै घण्टा खुला राखिएको छ । अत्यन्तै विषम प्रकृतिको बाढी तथा मौसमको पूर्वानुमान भएको खण्डमा प्रेस विज्ञप्तिसमेत जारी गर्दै आएका छौं । बाढी र मौसमको बुलेटिन सबै सञ्चारका माध्यमलाई नियमित रूपमा प्रदान पनि गर्छौं ।
अहिले सामाजिक सञ्जालको प्रयोग बढी छ । सामाजिक सञ्जालमा पनि राखेका हुन्छौं । सामाजिक सञ्जालबाहेक हामीले रेडियो, टेलिभिजन, एफएममार्फत पनि राखेका हुन्छौं । यिनीहरूलाई पनि नेटवर्कमा राखेर सूचना प्रवाह गर्छौं । ७७ वटै जिल्लाका सिडिओ, सुरक्षा निकायमा पठाउनेछौं । यी भनेको सूचना प्रवाहको एउटा मेकानिजम हो । तर, यो मेकानिजमले मात्रै पुग्दैन । भोलि बाढी आउने भयो भने के गर्ने भन्ने जनतालाई हुन्छ । त्यस्तो अवस्थामा हामीले नेपालभरि २ सय ७३ वटा धेरै बाढी जाने र डुुबान हुने क्षेत्रहरू पहिचान गरेका छौं । त्यस्तो क्षेत्रमा स्वचालित स्टेसनहरू राखेका छौं । एउटा, कुन ठाउँमा कति पानी परेको छ, रियल टाइममा हेर्न सकिन्छ । अन्तिम एक घण्टामा कति पानी परेको छ भन्ने ठ्याक्कै वेबसाइटमा नै हेर्न सकिन्छ । कुनै पनि खोलाको सतर्कता तह वा खतरा तहको अवस्थाका बारेमा पनि जानकारी गराउँछौं । सतर्कता तह नपाउँदै नेपाल टेलिकम र एनसेलमार्फत एससएमएस गर्छौं ।

तर सबै सर्वसाधारणसँग त इन्टरनेटको पहुँच नहुन सक्छ, मोबाइलको पहुँचसमेत नहुन सक्छ । त्यस्तो अवस्थामा चाहिँ कसरी सूचना प्रवाह गर्ने नि ?
अहिले एनसेल र नेपाल टेलिकमको नेटवर्क लगभग नेपालभरि नै छ । अनि हामी सिडिओ कार्यालयहरूमा पनि पठाउनेछौं । स्थानीय सञ्चार माध्यमहरूको समेत प्रयोग गर्छौं । जनतामा जनचेतना प्रवाह गर्ने दायित्व सञ्चार माध्यमहरूको पनि हो । सञ्चार माध्यमले पनि महŒवपूर्ण भूमिका खेलिदेओस् ताकि बाढीसम्बन्धी पूर्वसूचना कार्यान्वयन प्रभावकारी हुनसक्छ । धनजनको क्षति न्यून हुनसक्छ । हामी ११५५ बाट नि:शुल्क एसएमस पठाउँछौं । ती क्षेत्रहरू भनेको मोबाइलको पहुँच भएकै क्षेत्रहरू हुन् ।

तर गत वर्षकै मेलम्चीको बाढीलाई हेर्दा पनि पूर्वसूचनाको त प्रभावकारिता नदेखिएरै होला, त्यत्रो क्षति भयो नि त ?
पूर्वसूचना पुुगेको थियो । पूूर्वसूचना नपुुगेको भए त अझै धेरै धनजनको क्षति हुने थियो । अझै धनजनको क्षति कम गराउन सकिन्थ्यो, त्यो अर्को पाटो भयो । स्टेसनहरूको मनिटरिङ गर्ने, यसका आधारमा तथ्यांकहरूको मूल्यांकन गर्ने, त्यसपछि सम्बन्धित क्षेत्रमा खतरा छ कि छैन भनेर सूचना पुर्‍याउने चाहिँ हाम्रो जिम्मेवारी भयो, यसपछिको अवस्था भनेको चाहिँ अरू निकायहरूको दायित्वभित्र पर्नेछ । सूचना पाइसकेपछि पनि बेवास्ता गर्नु भनेको त हाम्रो कमजोरी होइन नि । सूचना पाएपछिको क्षति बढी भएको हो ।

केही समय अघि हाम्रै नजिकका खोलाहरू हनुमन्ते, बागमती, धोबीखोलालगायतका नदीहरूमा पानीको बहाव बढेर बाढी आउने भनेर मोबाइलमा एसएमएस आयो, तर बाढीचाहिँ आएन नि ?
बाढी नआए पनि पानीको सतह बढेको त हो नि । अर्को कस्तो छ भने काठमाडौंको कुनै पनि क्षेत्रमा भारी वर्षा भइरहेको छ भने अर्को क्षेत्रमा पानी नै परेको हुँदैन । जस्तै धोबीखोलाहरूको केसमा मैले के भन्न चाहें भने काठमाडौंका सबै क्षेत्रमा एसएमएस जान्छ । तर, धोबीखोलाको किनारमा बस्नेहरूका लागि त बाढी गएको हुनसक्छ । अहिले मानिसलाई बुुझाउन नसकेर पनि समस्या उत्पन्न भएको छ । र बुझ्नुपर्ने कुरो के हो भने काठमाडौं उपत्यकामा पानी पर्छ भनेपछि यहाँ घाम लागिरहेको छ भने उत्तरी क्षेत्रमा पानी परिरहेको हुनसक्छ । जनताको इच्छाचाहिँ म बसेको स्थानमा के हुुन्छ भन्ने मात्र भयो । तर, हामी विज्ञानमा चलेको, ठ्याक्कै यहीं पानी पर्छ भन्नचाहिँ सक्दैनौं । क्षेत्रगत रूपमा के हो भन्न सक्छौं । धोबीखोलामा हाम्रा स्टेसनहरूले सतर्कता तह कटेको देखायो । त्यो कटेपछि कहीँ न कहीँ पानी त छिरेको थियो नि ।

बाढीको पूर्वसूचना दिए पनि धनजनबाट हुने क्षति त रोकिएको छैन, सबै क्षेत्रमा बाढीसम्बन्धी पूर्वसूचनाको पहुँच पुुग्न नसकेको हो ?
जल तथा मौसमजन्य घटनाहरू कहीँ न कहीँ जलवायु तथा मानवजन्य क्रियाकलापका कारण भइरहेका छन् । यी घटनाहरू दिनप्रतिदिन बढिरहेको छ । आजभन्दा १० वर्षअघि हेर्दा बाढीको घटना कति हुुन्थ्यो । बाढीको घटना थोरै हुन्थ्यो तर मर्ने मानिस धेरै हुन्थे । तर, अहिले हेर्दा बाढीको घटना धेरै हुन्छन्, मर्ने मानिस कम हुन्छन् । सूचनाको पहुँचका कारण क्षति कम हुँदै गइरहेको हो । नेपाल भनेको ६ हजार खोलानाला भएको देश, भौगोलिक विकटता भएको क्षेत्र हो । हाम्रोमा ८ हजार ८ सय ४८.४८ मिटरको सगरमाथादेखि लिएर केचनाकल ६५ मिटरसम्मको छ । भौगोलिक विकताका कारण सबै क्षेत्रमा स्टेसन राख्न सम्भव पनि हुँदैन । हाम्रो आवश्यकताअनुसार बढीमा राख्नुपर्ने कति भन्नेमा हामी जान सकिरहेका छैनौं । भौगोलिक विकटता, लगानीको अभाव, स्टेसन सञ्चालनमा देखिएको चुनौतीका कारण पनि आवश्यकताअनुसारका स्टेसनहरू राख्न सकिएको छैन । हाम्रो हिमाली क्षेत्रमा कम छन् स्टेसनहरू । त्यहाँ स्टेसन सञ्चालन गर्नका लागि कठिन छ । नेटवर्क छैन । निरन्तर बस्ने मानिस छैनन् । त्यस्तो ठाउँमा स्टेसनहरू राख्ने तर स्याटेलाइट बेसमा जाँदै छौं, जुन अलिकति खर्चिलो हुन्छ । डाटाको फ्रिक्वेन्सी ट्रान्समिसनका कुराहरू हुन्छन् । अहिले हाम्रा रियल टाइम स्टेसनहरूले पाँच–पाँच मिनेटमा डाटा ट्रान्समिसन गरिरहेका हुन्छन् । त्यही फ्रिक्वेन्सीमा स्याटेलाइटमार्फत डाटा ट्रान्समिसन गर्ने हो भने प्रतिस्याटेलाइट सिस्टमको ४० लाखसम्म पर्छ । अहिलेचाहिँ हिमाली क्षेत्रमा नौवटा स्टेसन छन् । अब हामी त्यसलाई बढाएर २३ वटा पुर्‍याउँदै छौं । च्छोरोल्पा, इम्जा, स्याङ्बोचेलगायतका क्षेत्रहरूमा यी स्टेसनहरू राखेका छौं । सगरमाथामा हाम्रा मौसम पूर्वानुमानसम्बन्धी स्टेसनहरू छन् ।

पूर्वसूचनाका कारण धनजनको क्षति कत्तिको कम भए ?
१० वर्षअगाडि जानुस्, मानिसको मृत्युु हजारमा हुन्थ्यो । अहिले पाँच वर्षयताको तथ्यांक हेर्दा ८० भन्दा कम छ, मेलम्चीको घटनालाई छोड्ने हो भने ।

आवश्यकताअनुसारका स्टेसनहरू कहिले जडान हुन्छ ?
आवश्यकताअनुसार छैन भन्दा पनि आवश्यकता बढेको हो । समग्र देशभर कभर गर्ने स्टेसनचाहिँ छ । तर, स्पेसिफिक आवश्यकताअनुसारको स्टेसनचाहिँ हुन सकिरहेको छैन । जस्तो कतिपय हाइड्रोपावरहरूको करिडोरमा छुटिरहेको अवस्था छ । उच्च हिमाली क्षेत्रमा पनि आवश्यकताअनुसार छैन । नेपाल अधिराज्यभर कति आवश्यकता पर्छ ? भनेर अध्ययन गर्नेछौं । अहिले क्षेत्रगत रूपमा माग भइरहेको छ । जस्तै एउटा जलस्रोतको क्षेत्रलाई, अर्को कृषिको क्षेत्रलाई, पर्यटन क्षेत्रलाई समेटेर एउटा अप्टिमम नेटवर्क के हुन्छ त भन्ने सन्दर्भमा अध्ययन गर्दैछौं । दातृ निकायहरू पनि तपाईंहरूको स्टेसन कमी भयो, राख्नका लागि हामी सहयोग गर्छौं भनेर आउनुुभयो । ६ हजार खोलानामा ६ हजार नै स्टेसनहरू राखेर त सम्भव हुँदैन नि त । डब्लूएमओको एउटा स्ट्यान्डरअनुसार न्यूनतम नेटवर्क स्टेसन मिट भइसकेको छ । अधिकतम कतिसम्म जाने भन्ने सोचेर अगाडि बढ्ने तयारी छौं ।

ठूला नदीहरूमा मात्रै केन्द्रित रहने कि साना नदीहरूमा पनि स्टेसनहरू राख्ने ?
दुई सय वटा जल तथ्यांक स्टेसनहरूमध्ये १ सय २२ वटा अटोमेटिक स्टेसनहरू छन् । त्यही आवश्यकतालाई पूरा गर्न भनेर हामीले प्रत्येक वर्ष २० देखि ३० वटा स्टेसन थप्दै गइरहेका छौं । ठूला खोलाहरूमा समस्या छैन । आकस्मिक बहाव हुने साना खोलाहरूमा नै हामीले राख्दै गइरहेका छौं । प्रत्येक वर्ष हामी २० देखि २५ वटा स्टेसन थप्दै पनि गइरहेका छौं ।

पूर्वसूचना प्रवाहको क्रममा स्थानीय तहसँगको समन्वय कस्तो छ ?
जल तथा मौसमजन्य सूचना प्रवाह केन्द्रबाट गरिन्छ । समन्वयको मेकानिजम केन्द्र, प्रदेश हुँदै स्थानीय तहमा जान्छ । हाम्रो समन्वय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायतका निकायसँग हुन्छ । जिल्ला प्रशासन कार्यालयसँग हुन्छ । उहाँहरूमार्फत चाहिँ बाढीसम्बन्धी पूर्वसूचना स्थानीयस्तर पुुग्छ ।

बाढीबाट भन्दा पहिरोबाट मृत्यु हुनेको संख्या बढिरहेको पाइन्छ, पहिरोको चाहिँ पूर्वसूचना प्रणालीको विकास आवश्यकता पर्दैन र ?
पहिरोको कारक तŒव भनेको जल तथा मौसमजन्य क्रियाकलाप हो । तर, पहिरोको पूर्वसूचना जडानको काम कुन निकायले गर्ने भन्ने कुरा स्पष्ट छैन, जल तथा मौसम विज्ञान, विभाग, राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, वन तथा भू–संरक्षण विभाग, खानी तथा भूू–गर्भ विभाग मिलेर गर्नुपर्छ । जल तथा मौसम विज्ञान विभागले मात्रै गर्न सक्दैन । सबै निकायको समन्वयमा मात्रै सम्भव छ ।

करिब २१ वटा हिमताल उच्च जोखिममा भन्ने अध्ययनले देखाएको छ, जोखिम न्यूनीकरण कसरी गर्ने अब ?
अहिले हामीले उच्च जोखिमका आधारमा हरित जलवायु कोषको सहयोगमा पाँचवटा हिमतालको जोखिम घटाउने योजना छ । सबै एकैपटक हुँदैन । विस्तारै जोखिम न्यूनीकरण हुँदै जानेछन् ।

विपद् न्यूनीकरणको प्रगतिको अवस्थालाई कसरी लिनुुभएको छ ?
कृषकहरू बढी प्रभावित हुने गरेका छन् । उनीहरूकोमा सूचना कसरी पुुगेको छ ? कसरी लिइरहेका छन् भन्ने पनि महŒवपूर्ण हुन्छ । जस्तै गत वर्ष बेमौसमी वर्षाका कारण धेरै धानखेतीको नाश भयो । हामीले त वर्षा हुँदै छ भनेर विशेष बुलेटिन जारी गरिसकेका थियौं, अगाडि नै । तर, मानिसहरूलाई चाहिँ भर्खरै मनसुन सकिएको छ, अब वर्षा हुन्छ र ? भन्ने लागेको थियो । हाम्रो सूचनालाई विश्वास गर्न सक्नुुभएन । यसले गर्दा पनि प्रभाव कम देखिएको हो । अन्य सरोकारवाला निकायले पनि चासोका साथ नहेरिदिँदा समस्या उत्पन्न भएको हो । यसको असर त कृषकलाई पर्‍यो नि त । बिरामी मानिसलाई औषधि खानुपर्छ है भनेर रोग पत्ता लगाउनु डाक्टरको कर्तव्य हो, तर डाक्टरको कुरालाई विश्वास नगर्नु र औषधि नखानु त बिरामीको कमजोरी हो नि । मौसमको जानकारी दिनु मात्रै हाम्रो कर्तव्य हो । सतर्क नरहनुचाहिँ फेरि हाम्रो कमजोरी होइन ।

तपाईंहरूले नै सार्वजनिक गर्नुभएको तथ्यांकका आधारमा नै हामीले कृषिका लागि सुखद मौसम भनेर समाचार लेखियो, तर अहिले कृषकहरूले धानको बीउ सुकिसक्यो, पानी कहिले आउँछ ? भनेर प्रश्न गर्नुहुुन्छ । यो प्रश्नको फेस तपार्इंले गर्नुभयो होला । उत्तर के दिन चाहनुहुन्छ ?
छिटो मनसुन सुरु भएको हो । जहाँ पानी परेको छ, धेरै पर्‍यो । कतै पानी कम परेको छ, नपरेको होइन । तराईमा कम परेको हो । छिटपुट–छिटपुट पानी पर्दा कृषकलाई मर्का परेकै हो । आजको दिनसम्म पनि ६० प्रतिशत कृषकहरू त आकाशे पानीकै भरमा धान रोप्नुहुन्छ नि त ।

चुनौतीहरू केके छन् ?
भौगालिक रूपमा विकट स्थानमा स्टेसन राख्न चुनौती छ । मर्मत गर्न गाह्रो छ । विकट स्थानमा स्टाफ राख्न गाह्रो छ । दक्ष जनशक्तिको अभाव छ । विभागको आफ्नै नीति तथा ऐन छैन । ऐन नीति नहुँदा अगाडि बढ्न गाह्रो हुन्छ ।

अन्त्यमा केही भन्नु छ ?
विभागले सूचना वैज्ञानिक आधारमा दिने हो । पूर्वानुमान भनेको मिल्ने र नमिल्ने अर्को पाटो हो । हाम्रो सूचनालाई विश्वास गर्नुपर्छ र यसको आधारमा रेस्पोन्समा जानुपर्छ । विशेष बुलेटिन निकाल्छौं । हाम्रो सूचनालाई रेस्पोन्स गरेमात्रै क्षति पनि कम हुनेछ ।

ब्रेकर :

हामीले प्रत्येक वर्ष मनसुन सुरु हुनु एक महिनाअगाडि नै सरोकारवालालाई तयारी गर्न सजिलो होस् भनेर सरदर मनसुन कति हुन्छ भन्ने सूचना दिने गर्छौं । २३ वैशाख मै हामीले मनसुन कस्तो रहन्छ भनेर सूचना दिएको हो ।

अहिले सामाजिक सञ्जालको प्रयोग बढी छ । सामाजिक सञ्जालमा पनि राखेका हुन्छौं । सामाजिक सञ्जालबाहेक हामीले रेडियो, टेलिभिजन, एफएममार्फत पनि राखेका हुन्छौं । यिनीहरूलाई पनि नेटवर्कमा राखेर सूचना प्रवाह गर्छौं ।

१० वर्षअगाडि जानुस्, मानिसको मृत्युु हजारमा हुन्थ्यो । अहिले पाँच वर्षयताको तथ्यांक हेर्दा ८० भन्दा कम छ ।

जनताको इच्छाचाहिँ म बसेको स्थानमा के हुुन्छ भन्ने मात्र भयो । तर, हामी विज्ञानमा चलेको, ठ्याक्कै यहीं पानी पर्छ भन्नचाहिँ सक्दैनौं । क्षेत्रगत रूपमा के हो भन्न सक्छौं ।

बेमौसमी वर्षाका कारण धेरै धानखेतीको नाश भयो । हामीले त वर्षा हुँदै छ भनेर विशेष बुलेटिन जारी गरिसकेका थियौं, अगाडि नै । तर, मानिसहरूलाई चाहिँ भर्खरै मनसुन सकिएको छ, अब वर्षा हुन्छ र ? भन्ने लागेको थियो । हाम्रो सूचनालाई विश्वास गर्न सक्नुुभएन ।

प्रतिक्रिया दिनुहोस्