पाँच प्रतिशत कम रोपाइँ «

पाँच प्रतिशत कम रोपाइँ

यस वर्ष नेपालमा साता दिनअघि नै मनसुन भित्रिए पनि धान रोपाइँ भने घटेको छ । आकाशे पानीको भरमा रोपाइँ गरिने अधिकांश क्षेत्रमा कम वर्षाका कारण गत वर्षको तुलनामा धान रोपाइँ घटेको हो ।
जुन १३ तारिखदेखि मनसुन भित्रिने सरदर मिति भएकोमा जुन ५ मा नै मनसुन भित्रिए पनि गत वर्षको तुलनामा अहिलेसम्म ५ प्रतिशत कम रोपाइँ गरिएको छ । यस वर्षको मनसुन अवधिमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिए पनि अहिलेसम्मको अवस्थालाई हेर्दा धान बालीका लागि मनसुन अनुमान गरिए अनुरुप सुखद् नरहेको कृषि विज्ञहरूको विश्लेषण छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार गत वर्ष साउन दोस्रो सातासम्म रोपाइँ सक्ने कृषकहरू यस वर्ष भने साउन तेस्रो सातासम्म पनि रोपाइँ गर्दैछन् । ढिलो रोपाइँ हुँदा उत्पादन ह्रास हुन सक्ने विज्ञको भनाइ छ ।
मन्त्रालयको तथ्यांकअनुसार सोमबारसम्म करिब ९२.४ प्रतिशत रोपाइँ भएको देखिन्छ । गत वर्ष यस अवधिमा करिब ९८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले गत वर्षको यस अवधिको तुलनामा करिब ५ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको बताए । “विशेषगरी मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण यो कमी देखिएको हो । गत वर्षभन्दा २ देखि ३ प्रतिशत कम रोपाइँ हुने देखिन्छ,” उनले थपे । मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष करिब १३ लाख ७१ हजार ७०६ हेक्टर रोपाइँ योग्य खेतको क्षेत्रफलमध्ये १३ लाख ८९ हजार २९९ मा मात्रै रोपाइँ भएको थियो । तर यो वर्ष सोमबारसम्मको तथ्यांक हेर्दा रोपाइँ हुने १५ लाख ४ हजार ४८६ हेक्टर रोपाइँ योग्य खेतको क्षेत्रफलमध्ये १३ लाख ८९ हजार ६९० हेक्टरमा मात्रै रोपाइँ भएको छ ।
कोभिड १९ का कारण रोजगारी गुमेपछि अधिकांश बाँझो रहेका खेतीमा रोपाइँ गर्न थालिएको बताउँछन् प्रवक्ता सन्जेल । मन्त्रालयका अनुसार यस वर्ष देशभर रोपाइँ योग्य खेतको क्षेत्रफल करिब १ लाख ३२ हजार हेक्टर बढेको छ ।
प्रदेश एकमा ३ लाख ४० हजार ८२९ हेक्टर रोपाइँयोग्य जमिनमध्ये ३ लाख १८ हजार ८२७ मा रोपाइँ भएको छ । मधेश प्रदेशमा ४ लाख ५ हजार ४५० हेक्टर रोपाइँ योग्य जमिनमध्ये ३ लाख ५९ हजार ३९७ हेक्टर जमिनमा रोपाइँ भएको छ । बागमती प्रदेशमा १ लाख २० हजार ५६९ हेक्टर रोपाइँ योग्य जमिनमध्ये १ लाख ११ हजार ९८६ हेक्टर जमिनमा रोपाइँ भएको छ । गण्डकी प्रदेशको रोपाइँ योग्य जमिन १ लाख ३१९ हेक्टर जमिनमध्ये ९६ हजार ४२० हेक्टर जमिनमा रोपाइँ भएको छ ।
यसैगरी लुम्बिनी प्रदेशको रोपाइँयोग्य जमिन ३ लाख २० हजार २७५ हेक्टरमध्ये २ लाख ८८ हजार २७ मा रोपाइँ सम्पन्न भएको छ । कर्णाली प्रदेशको ३ लाख ८८ हजार ८६ ह्ेकटर रोपाइँ योग्य जमिनमध्ये ३ लाख ७५ हजार ह्ेकटरमा रोपाइँ सम्पन्न भएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको १ लाख ७८ हजार १६७ हेक्टर रोपाइँयोग्य जमिनमध्ये १ लाख ७६ हजार ७३३ हेक्टर जमिनमा रोपाइँ भएको कृषि मन्त्रालयको तथ्यांक छ । सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा ८८.६ प्रतिशत भएको छ । सबैभन्दा बढी ९९.२ प्रतिशत रोपाइँ सुदूरपश्चिममा भएको तथ्यांकमा उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागको अनुसार सबैभन्दा कम बर्षा मधेश प्रदेशमा भएको देखिएको छ । बिरिष्ठ मौसम विद् डा. इन्दिरा कडेंलले, जनकपुरमा सन् १९९१ देखी २०२० को जुन १ देखी ९ अगष्ट सम्ममा औसतमा ७८१ मिलिमिटर पर्ने गरेको थियो । तर सन् २०२२ मा भने सोही अवधि ( जुन १ देखी अगष्ट ९ तारिक) मा ५१५ मिलिमिटर पानी परेको उनको भनाई छ । “सिमरामा पनि जुन १ देखि अगष्ट ९ सम्ममा औसत बर्षा ९२५ मिलिमिटर बर्षा हुने गरेकोमा यस बर्ष सोही अवधिमा ७४४ मिलिमिटिर बर्षा भएको छ ,” उनले भनिन्, “देशभर जुन १ देखि अगष्ट ९ सम्मा ८९० मिलिमिटर औसत बर्षा हुने गरेकोमा ८१८ मिलिमिटर पानी परेको छ ।”
बर्षा कम भएका कारण रोपाई पनि कम भएको कृषि मन्त्रालयको भनाई छ ।
कुन प्रदेशमा कति रोपाई ?

स्रोत – कृषि तथा पशुपन्छी मन्त्रालय

प्रतिक्रिया दिनुहोस्