वर्षभरमा ६६ वटामात्रै गुणस्तर प्रमाण चिह्न «

वर्षभरमा ६६ वटामात्रै गुणस्तर प्रमाण चिह्न

औद्योगिकीकरणको पूर्ण अभ्यास नहुनु, प्रशासनिक एवं प्रक्रियागत झन्झट हुनु तथा मापदण्ड पनि आफैंमा कसिलोे भएका कारण औद्योगिक उत्पादनको गुणस्तर सुनिश्चितताका लागि निर्धारित मापदण्ड पूरा गरी लिइने ‘नेपाल गुणस्तर चिह्न’ लिने उद्योगको संख्या अपेक्षाकृत रुपमा बढ्न सकेको छैन ।
जसका कारण गत आर्थिक वर्ष २०७८/०७९ मा ६६ वटामात्रै गुणस्तर प्रमाण चिह्न जारी भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा पनि ६७ वटा गुणस्तर प्रमाण चिह्न मात्रै प्रदान गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति सभापति भरतराज आचार्य देशका आद्यौगिकरणको पूूर्ण अभ्यास नभएको, प्रशासनिक प्रक्रियागत झन्झट तथा मापदण्ड पनि कसिलो खालको भएकोले एनएस चिह्न कम जारी भएको बताउँछन् । “सिमेन्ट, पाइप, डन्डी लगायतका केही वस्तुलाई अनिवार्य एनएस लिनुपर्ने प्रावधान छ भने अन्य केहीमा बाध्यकारी व्यवस्था छैन,” उनी भन्छन् । उत्पादन भए पनि गुणस्तर चिह्न नलिएका उत्पादन धेरै भएको उनको अनुभव छ । यद्यपि विभागका महानिर्देशक दिनानाथ मिश्र भने यो संख्या धेरै भएको बताउँछन् । विभागले भेइकल ट्यांक जाँच, ट्याक्सी मिटर जाँच, नापतौल तथा तौलने यन्त्रको अनुगमन लगायतका विषयमा चेकजाँच गर्दै आएको महानिर्देशक मिश्रले जानकारी दिए ।
‘नेपाल गुणस्तर चिह्न’ लिने उद्योगको संख्या अपेक्षाकृत रुपमा नबढेका कारण गुणस्तर चिह्न प्रदान लगायतका विभागले प्रवाह गर्ने सेवाबाट प्राप्त आम्दानी (राजस्व) मा समेत कमी आएको छ । गुणस्तर प्रमाण चिह्न वितरण तथा अन्य सेवाबाट विभागले गत आर्थिक वर्षमा कुल ४ करोड ९२ लाख ८ सय ५ रुपैयाँ राजस्व संकलन गरेको छ भने अघिल्लो आवमा ५ करोड २३ लाख ४४ हजार ७ सयम ७८ रुपैयाँ राजस्व संकलन गरेको थियो । विभागले असार महिनामा सबैभन्दा बढी १ करोड ३२ लाख ९ हजार ८ सय ५० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको नेपाल गुणस्तर तथा नापतौल विभागले मुलुकमा उत्पादित वस्तुहरुको गुणस्तर परीक्षण गरी प्रमाण चिह्न प्रदान गर्ने गर्छ । विभागले आवश्यक प्रक्रिया पूरा गरेपछि नेपाल गुणस्तर परिषद् बैठक बसी गुणस्तर प्रमाण चिह्न प्रदान गर्ने सम्बन्धी निर्णय गर्ने व्यवस्था छ । विभागका अनुसार गत आर्थिक वर्षमा इजाजतपत्र र प्रमाणपत्र जारी भएका उद्योगका उत्पादनको संख्या ६६ रहेको छ । जसमध्ये ४९ उद्योगका ५४ उत्पादनले इजाजतपत्र प्राप्त गरेका छन् भने अन्य १२ उद्योगले प्रमाणपत्र प्राप्त गरिसकेको विवरण विभागले सार्वजनिक गरेको छ ।
नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार नेपालमा एनएस अंकित गुणस्तर चिह्न प्रदान गरिँदै आएको छ । असार मसान्तसम्म गुणस्तर परिषद्बाट १५ वटा तथा प्राविधिक समितिबाट ९२ वटा नेपाल गुणस्तर पारित भएको विभागका सूचना अधिकारी सञ्जीवकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त उद्योगको अनुगमनलाई दोब्बरभन्दा बढीले वृद्धि गरिएको छ । गत आवमा २ सय १३ उद्योगमा विभागले निरीक्षण अनुगमन गरेको छ । त्यसैगरी अघिल्लो आवमा १ सय २ उद्योगमा मात्र निरीक्षण अनुगमन भएको थियो ।
विभागका अनुसार गत आर्थिक वर्षमा ९ उद्योगलाई प्रणाली प्रमाणीकरण प्रदान गरिएको छ भने अघिल्लो वर्ष यस्तो प्रमाणपत्र ४ उद्योगलाई दिइएको थियो । विभागले गत आर्थिक वर्षमा ३ हजार २ सय १४ उत्पादनको रासायनिक, भौतिक, टेक्सटायल, लेदर र पेपरको नमुना जाँच विश्लेषण गरेको छ । अघिल्लो वर्ष यस्तो जाँँच विश्लेषण ३ हजार ४ सय ५२ उत्पादनमा गरिएको थियो । विभागअन्तर्गतका विभिन्न कार्यालयहरुले नापतौल सम्बन्धी उपभोक्ता हकहित संरक्षणका निमित्त गत आवमा ३३ वटा अभियोगपत्र दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्