सामाजिक सुरक्षा कोषमा आवद्धता बढ्दो «

सामाजिक सुरक्षा कोषमा आवद्धता बढ्दो

सामाजिक सुरक्षा योजनामा २२ अर्ब रुपैयाँ योगदान रकम संकलन हँुदा १ अर्ब ८७ करोडबराबरको सामाजिक सुरक्षा रकम लाभग्राहीलाई भुक्तानी गरिएको छ । २०७५ साल मंसिरबाट सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा औपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीले हालसम्म २२ अर्ब रुपैयाँ योगदान रकम जम्मा गरिसकेका छन् ।
हालसम्म जम्मा भएको योगदान रकममध्ये विभिन्न ४ योजनाअन्तर्गत लाभग्राही श्रमिक र उनीहरुका परिवारले १ अर्ब ७८ करोड १९ लाख रुपैयाँ सामाजिक सुरक्षा रकम प्राप्त गरिसकेको कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए । सेवाग्राहीलाई भुक्तानी गरेको १ अर्ब ८७ करोडमध्ये अवकाश दाबीमा १ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ वितरण भएको छ । यसैगरी औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम २४ करोड २९ लाख रुपैयाँ वितरण गरिसकेको छ । आश्रित परिवार सुरक्षा दाबीबापत ३ करोड ७८ लाख र दुर्घटना तथा अशक्तता सुरक्षा अन्तर्गत २ करोड ५७ लाख रुपैयाँ भुक्तनी भएको कोषले जनाएको छ ।
सामाजिक सुरक्षा योजनामा योगदानकर्ताले २२ अर्ब रुपैयाँ जम्मा गरेकोमा ४ वटा योजना दाबी गर्न मापदण्ड पूरा भएका श्रमिक तथा उनीहरुका परिवारले लगभग १ अर्ब ८७ करोड सामाजिक सुरक्षा रकम लिएका छन् । कोषमा हालसम्म १ लाख ७२ हजार २४५ रोजगारदाता प्रतिष्ठान सूचीकृत भइसकेका छन् भने सूचीकृत हुने श्रमिकको संख्या ३ लाख ५१ हजार ११७ रहेको छ ।
तत्कालका लागि औपचारिक रोजगारीको क्षेत्रबाट अनिवार्य गरिएको सामाजिक सुरक्षा कार्यक्रममा हाल निजी संगठित क्षेत्रका १७ हजार रोजगारदातासँग आवद्ध ३ लाख ५१ हजार श्रमिक सूचीकृत भई योगदान गरिरहेको कोषले जनाएको छ । कोषले हाल लक्षित गरेका क्षेत्रमा करिब १३ लाख रोजगारी रहेको र क्रमश: आवद्धता बढ्दै गएको जनाएको छ । कोषमा आबद्ध हुन रोजगारदाता सूचीकृत भई आफ्ना श्रमिक तथा कर्मचारीहरूको समेत सम्पूर्ण विवरणसहित सूचीकरण गराउनुपर्ने नियम रहेको छ । सूचीकरण भएका हरेक रोजगारदाता र योगदानकर्तालाई कोषले सामाजिक सुरक्षा नम्बर प्रदान गर्ने र सोही नम्बरमा जम्मा हुने गरी हरेक महिना समाप्त भएको १५ दिनभित्र रोजगारदाताको तर्फबाट आधारभूत पारिश्रमिकको २० र योगदानकर्ताको तर्फबाट ११ प्रतिशत रकम कट्टा गरी कोषमा अनलाइन भुक्तानी प्रणाली मार्फत रकम जम्मा गर्नुपर्ने नियम रहेको छ ।
२०७५ मंसिर ११ मा योजनाको औपचारिक घोषणा गरिएकोमा हालसम्ममा आबद्ध करिब ३२ हजारभन्दा बढी श्रमिकले कोषले प्रदान गर्ने विभिन्न सुविधाहरू लिइसकेका छन् । जसमध्ये करिब ११ हजार ५०० जनाले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गतको सुविधा, ७३४ जनाले दुर्घटना तथा अशक्तता सुविधा, २२४ जनाले आश्रित परिवार सुविधा र १९ हजारले वृद्धावस्था सुविधा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्