सूर्यविनायकमा नेपालकै पहिलो द्वारकाधाम निर्माण हुँदै, स्थानीयमा उत्साह «

सूर्यविनायकमा नेपालकै पहिलो द्वारकाधाम निर्माण हुँदै, स्थानीयमा उत्साह

हिन्दु धर्मावलम्बीहरूले मान्दै आएको चार धाम मध्येको एक धाम हो द्वारकाधाम । नेपालका नागरिक द्वारकाधामको दर्शन गर्नु परे भारतमा रहेको द्वारकाधाम जाने गर्छन् । यसर्थ नेपालमा पनि द्वारकाधामको आवश्यकता महसुस गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पाथीभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्वारकाधाम निर्माण हँुदै छ ।
यहीँ साउन २५ गते बिहीबार दिउँसो १ बजेर ३२ मिनेटमा जगको साइत गरी नेपालमै पहिलो द्वारकाधाम निर्माण सुरु गरिने मन्दिर निर्माणका मुख्य अगुवाई तथा गुण्डुस्थित पाथीभरा मन्दिरका मूल पूजारी गुरु अरविन्द शास्त्रीले जानकारी दिए । उनले पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्वारकाधाम जस्तै सूर्यविनायकको गुण्डुमा नेपालकै पहिलो द्वारकाधाम निर्माण सुरु गरिने उनले जानकारी दिए ।
गुरु शास्त्रीले भने, ‘भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथीभरा मन्दिर निर्माण गरेर धार्मिक विकासमा टेवा पुर्याएका छौं, अब पाँच वर्षभित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो द्वारकाधाम निर्माणमा हामी जुटेका छौं, यहीं २५ गते बुधबारको शुभसाइतमा जग पूजा एवं हवन गरी धामको निर्माण कार्य सुरु गरिने उनले बताए ।
करिब आठ रोपनी क्षेत्रफलमा २० करोडको लागतमा पाँचवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ द्वारकाधामको गुरुयोजना निर्माण सम्पन्न गरी मन्दिर निर्माणको कार्य अगाडि बढाएको उनले जानकारी दिए । द्वारकाधामको मूल मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने बताउँदै उनले भारतको द्वारकाधाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य सुरु भइसकेको उनले बताए ।
उनले तीनवटै सरकार र दाताहरूबाट संकलन हुने रकमबाट मन्दिर निर्माण पूरा गर्ने लक्ष्य राखेको बताउँदै द्वारकमधामसँगै पाथीभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषिहरू मूर्ति स्थापना गरिने बताए ।
यस क्षेत्रमा पाथीभरा मन्दिरदेखि द्वारकाधाम निर्माणमासम्म सांसद महेश बस्नेतले टेवा दिएको भन्दै उनले सबै क्षेत्रको बासिन्दलाई समेटर निर्माण समिति बनाएर यसलाई पूर्णता दिने शास्त्रीले बताए । मन्दिर निर्माणका लागि ५० औं वर्ष अगाडिदेखि जग्गाको भोग चलन गर्दै आएका स्थानीय अर्जुन बस्नेतदेखि यहाँका बस्नेतहरूले जग्गा उपलब्ध गराएर मन्दिर निर्माणमा ठूलो गुण लगाएको उनले बताए ।
मन्दिर निर्माणमा स्थानीय सरकारको पनि सहयोग रहने नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । उनले भक्तपुरको गुण्डुमा पाथीभरा मन्दिर निर्माण भएपछि नयाँ पर्यटकीय गन्तव्य बनेको बताउदै द्वारकाधामको निर्माणले यस क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्वारकाधामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताए ।
गौ संरक्षण केन्द्रले पाथीभरा मन्दिर निर्माणदेखि अहिले द्वारकाधाम निर्माणमा समेत अगुवाई गरेको छ । केन्द्रका अध्यक्ष नारायणप्रसाद न्यौपानेले ताप्लेजुङको पाथीभरा मन्दिरमा २०७२ सालमा पाँच वर्षको अखण्डदीप प्रज्वलन गरी २०७५ सालमा सवा करोड बत्ती बालेर नेपालकै ठूलो त्रिशूल जगाएर गुण्डुमा पाथीभराको मन्दिर निर्माण स्थलमा स्थापना गरेसँगै मन्दिर निर्माण सम्पन्न भएको बताए ।

प्रतिक्रिया दिनुहोस्