गोरखाको आरुघाट गाउँपालिकाका जनप्रतिनिधि भक्तपुर अवलोकन भ्रमणमा «

गोरखाको आरुघाट गाउँपालिकाका जनप्रतिनिधि भक्तपुर अवलोकन भ्रमणमा

गोरखा जिल्लाको आरुघाट गाउँपालिकाका उपाध्यक्ष कल्पना नेपालीसहितको प्रतिनिधिमण्डल टोलीले शुक्रबार भक्तपुर नगरपालिका र नपाबाट सञ्चालित ख्वप सर्कलका कलेज, ख्वप अस्पताल र भक्तपुरका सांस्कृतिक सम्पदाहरूको स्थलगत अवलोकन भ्रमण गरे ।
सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग आरुघाट गापाका उपाअध्यक्ष कल्पना नेपालीसहितको टोलीले नगरपालिकामा भेट गरी नपाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सम्पदा पुन:निर्माणलगायतका क्षेत्रहरूमा भइरहेको कामबारे अनुभव आदानप्रदान भयो । भेटमा नगर प्रमुख प्रजापतिले टोलीलाई खादा, भादगाउँले टोपी र परम्परागत थैलीका साथ नगरपालिकामा स्वागत गरे ।
उनले भक्तपुर नपाले सुलभ र सहज रुपमा जनताका आधारभूत आवश्यकताका सेवाहरू प्रदानमा जोड दिँदै आएको बताउँदै नपाले विपक्षी पार्टीहरूसँग पनि सहकार्य र समन्वयात्मक ढंगले काम गरिरहेको प्रष्ट पारे । भक्तपुर नपाले आन्तरिक स्रोतबाट हुने विकास निर्माणहरू उपभोक्ता समितिबाट पारदर्शी ढंगले अगाडि बढाउँदै आएको बताउनुहुँदै भक्तपुर नपाले देशका अन्य स्थानीय तहहरूसँग अनुभव आदानप्रदानलाई निरन्तरता दिँदै आएको छ भने ।
भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप उमावि, २०५८ सालमा ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेजको स्थापना, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङको स्थापना र त्यसपछि शारदा कलेज र शारदा मावि जोडिएपछि ७ वटा शैक्षिक संस्था सञ्चालन गर्दै आज ख्वप विश्वविद्यालय सञ्चालनको चरणमा पुगेको उनले बताए ।
आरुघाट गाउँपालिकाका उपाध्यक्ष नेपालीले प्रशासनिक र राजनैतिक दृष्टिले आरुघाट नपा १० वटा वडामा विभाजित रहेको बताउनुहुँदै भौगोलिक विकटताले गर्दा विकास निर्माणका काममा केही कठिनाइहरू सामना गर्दै यस गाउँपालिका अगाडि बढिरहेको बताए ।
उनले भक्तपुर नपाको विकास मोडलबाट आफू निकै प्रभावित रहेको बताउँदै आरुघाट गापाको संरचना निर्माणमा पनि भक्तपुर नपाबाट प्राविधिक सहयोग रहने आशा व्यक्त गर्दै कृषि र पर्यटन क्षेत्रमा भक्तपुर नपासँग साझेदारी गर्दै अगाडि बढ्ने इच्छा प्रकट गरे ।
देशकै नमुना नगरपालिकाको रुपमा परिचित भक्तपुर नपाको अध्ययन अवलोकन भ्रमण गर्न पाएको गौरवान्वित महसुस भएको बताउँदै उपाध्यक्ष नेपालीले भक्तपुर नपाको हरेक काम उत्कृष्ट रहेको अवलोकनको क्रममा अनुभव गरेको बताए ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, आरुघाट गापाका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाट, नेमकिपा गोरखाका जिल्ला अध्यक्ष प्रल्हाद लामिछाने, पशुसेवा शाखाका बासुदेव पोखरेल, कृषि शाखा प्रमुख सुजन दबाडी, पर्यटन सूचना केन्द्रका सहायक निर्देशक गौतमप्रसाद लासिवाको पनि उपस्थिति थियो ।
उक्त टोलीलाई पर्यटन सूचना केन्द्रका सहायक निर्देशक गौतमप्रसाद लासिवाले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज, दत्तात्रय मन्दिरलगायतका सांस्कृतिक सम्पदाहरूको स्थलगत अवलोकन गराएका थिए । साथै नगर प्रमुख प्रजापतिले उपप्रमुख नेपालीलाई मयुरको झ्याल, नपाका केही प्रकाशनहरू उपहारको रुपमा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्