लमजुङमा भूकम्पपछिको पुनर्निर्माण अन्योल «

लमजुङमा भूकम्पपछिको पुनर्निर्माण अन्योल

लमजुङमा गतवर्षको भूकम्पबाट क्षति भएका घरहरूको पुनर्निर्माण अन्योलमा परेको छ । गतवर्ष जेठको पहिलो साता गएको भूकम्पबाट क्षति भएका घरहरूको पुनर्निर्माण अन्योल भएको हो ।
गतवर्ष ५ जेठमा जिल्लाको मस्र्याङ्दी गाउँपालिका–७, भुलभुले केन्द्रविन्दु बनाएर गएको ५ दशमलव ८ म्याग्निच्युटको भूकम्पले जिल्लाका दुई हजार बढी घरमा क्षति पुगेको प्रारम्भिक तथ्याँक छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका र दोर्दी गाउँपालिकाअन्तर्गत दुई हजार बढी घर क्षति भएको भनिए पनि जिल्ला विपद् व्यवस्थापन समितिमा भने एकिन तथ्याँक नै छैन ।
तत्कालीन समयमा भूकम्पबाट क्षति भएका घरहरूको विवरण संकलन गर्ने र तत्काल राहत तथा पुनर्निर्माणका लागि पहल गर्ने विपद् व्यवस्थापन समितिले निर्णय गरेको थियो । क्षतिको विवरण संकलनका लागि सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरी सीआरएस नामक गैरसरकारी संस्थाले जिम्मा लिएको थियो ।
संस्थाले सम्बन्धित स्थानमा पुगेर प्राविधिकको सहयोगमा क्षतिको विवरण संकलन गरिसकेको जनाएको छ । तर संस्थाले संकलन गरेको एकिन विवरण जिल्लास्थित विपद् व्यवस्थापन समितिमा नआएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
सस्ंथाले संकलन गरेको विवरण सिधै मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन केन्द्रमा पठाएको तर विपद् व्यवस्थापन समितिमा बुझाउन नमिल्ने जनाएको प्रजिअ वैद्यले बताए । भूकम्पले तीनवटा स्थानीय तहमा दुई हजार बढी घर क्षति भएको विवरण केन्द्रमा पठाइएको मौखिक जानकारी गराइएको तर के कस्तो क्षति भन्ने एकिन तथ्यांक जिल्लास्थित समितिमा नआएको प्रजिअ वैद्यको भनाइ छ ।
भूकम्पले क्षति पुर्‍याएका घरमध्ये पुनर्निर्माणका लागि ५० घर सोही संस्था सीआरएसले जिम्मासमेत लिएको छ । जिल्लास्थित विपद् व्यवस्थापन समितिले पूर्ण क्षति भएका ५० घर प्राथमिकताका आधारमा पुनर्निर्माणका लागि संस्थालाई जिम्मा दिने लिखित निर्णय भए पनि संस्थाले पुनर्निर्माणको काम सुरु गर्न सकेको छैन ।
सो बाहेकका घर पुनर्निर्माणका विषयमा भने केन्द्रबाट नै कुनै परिपत्र नआएकाले कहिले सुरु हुने भन्ने विषय अन्योल रहेको लमजुङ प्रशासनले जनाएको छ । भूकम्पले घर भत्किएर पीडित बनेका स्थानीय भने सरकारले घर बनाइदिने आशामा बसिरहेका छन् । पुनर्निर्माणका लागि सरकारको आस गरेको एक वर्ष बित्दा पनि घर बनाउने कुनै सुरसार नभएपछि पीडितहरू निराश बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्