स्याङ्जामा थपिए ६४ सय मतदाता «

स्याङ्जामा थपिए ६४ सय मतदाता

स्याङ्जामा झण्डै साढे ६ हजार मतदाता थपिएका छन् । १ असारदेखि सञ्चालित मतदाता नामावली संकलन अभियानपछि ६ हजार चार सय मतदाता थपिएका हुन् ।
“थपिएका मतदातामा जिल्ला बाहिरबाट नाम सार्ने र सच्चाउनेको विवरण आउन बाँकी छ ।” जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले भने, “थपिएको संख्या जिल्लामै फोटो खिचाउने र मतदाता नामावलीमा नाम दर्ता गरेको मात्र हो ।”
सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै १९ साउनदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरिएको छ । सरकारले स्थानीय तहको निर्वाचनपछि १ असारदेखि मतदाता नामावली संकलनको काम गर्दे आएको थियो ।
स्याङ्जामा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय वालिङमार्फत फोटोसहितको मतदाता नामावली दर्ता गरिँदै आएको थियो ।
स्थानीय तह निर्वाचन ०७९ मा स्याङ्जामा दुई लाख ४० हजार ५ सय ३५ मतदाता थिए । योसँगै जिल्लाभन्दा बाहिरबाट थपिने संख्याबाहेक जिल्लामा दुई लाख ४६ हजार ९ सय ३५ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्