नगर प्रमुखको कार्यकक्षमा ताला «

नगर प्रमुखको कार्यकक्षमा ताला

बाराको निजगढ नगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले सोमबार नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला लगाएका छन् ।
सरुवाको विषयलाई लिएर मेयर सुरथ पुरीले १५ साउनमा प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीको कार्यकक्षमा ताला लगाएपछि सेवाग्राही मर्कामा परेका उनीहरूले प्रमुख तथा उपप्रमुख दुवैको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
केही समय कार्कीको सरुवा भई बदलामा सरुवा भई आएका हरिलाल पुरीलाई मन्त्रालयले पुन: फिर्ता बोलाई सुमनकुमार कार्कीलाई नै निजगढ नगरपालिकाको जिम्मेवारी दिएर पठाएपछि प्रमुख पुरीले पालिकाको दैनिक काम ठप्प हुने गरी प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका हुन् । तालाबन्दी गर्नुको कारण प्रष्ट नपारे पछि यसअघि कार्यपालिका सदस्यहरूले पुरीलाई नगरपालिका सुचारु गर्न ज्ञापनपत्र बुझाएका थिए ।
तोकिएकै समयमा नगरसभामा नीति कार्यक्रम प्रस्तुत भए पनि बजेट भने प्रस्तुत हुन सकेन । आफूलाई सधै व्यस्त बताउने प्रमुख पुरीकै कारण कार्यपालिका बैठकसमेत सभा यता बस्न नसकेको वडाध्यक्षहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्