पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पीडा «

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पीडा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी अंग्रेजी नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने योजना रहेको छ । १७ पुसदेखि सञ्चालनमा आउने तयारी गरिएको राष्ट्रिय गौरवको आयोजनालाई यसअघि पनि कोरोना कहरका कारण समयमा नै सम्पन्न गर्न असमर्थ भएका कारण समय थप गरिएको थियो । तर, यसपटक भने नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले १७ पुसदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीन पुग्नेछ । किनकि हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिरिक्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा पनि सञ्चालनमा आइसकेको छ । गत आर्थिक वर्षदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभन्दा अगडिसम्म पनि नेपालमा करिब ७ दशक एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल थियो । कोरोना कहरअगाडिकै वर्षहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धेरै साँघुरो भइसकेको परिप्रेक्ष्यमा अन्य विकल्पको तयारी गर्न थालिएको हो । तर, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विवादले काम अगाडि बढाउन सकिएको छैन भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले काठमाडौंको हवाई चाप कम गर्न सक्ने केही आधार भए तापनि यसका लागि केही समय लाग्ने देखिन्छ । यसैगरी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको केही चाप कम गर्ला कि भन्ने आशा छ । तर, निर्माणको सुरुवातदेखि नै विभिन्न विवाद रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाल नागरिक उड्डयन प्राधिकरणले दाबी गरेझैं १७ पुसदेखि पूर्ण सञ्चालनमा आउँछ भन्ने कुरामा भने धेरै आशंका छ । कारण करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न हुन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आफ्नै समस्या छन् ।
हुन त चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७८ साल चैतमा नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए । उक्त सांकेतिक हस्तान्तरणपछि पनि फिनिसिङ, रंगरोगनलगायतका केही काम अझै बाँकी रहेको छ । सन् २०२१ को जुलाई १० अर्थात् गत असार २६ गतेभित्र निर्माण कार्य सम्पन्न हुने गरी चीनको सीएएमसी कम्पनीले जिम्मा लिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कोरोना कहरका कारण समय सीमाभित्र नसकिएकाले कम्पनीले ६ महिना समय थप गर्न प्रस्ताव गरेको थियो । त्यसपछि पनि निर्माण सम्पन्नका काम सहज भएका छैनन् । हाल निर्माण भएको २ हजार ५ सय मिटर लम्बाइ तथा ४५ मिटरको चौडाइ भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग अन्य क्षेत्रको भन्दा फरक भएको दाबी गर्दै गर्दा वायुयानलाई अवतरण गर्ने बाटोका बारेमा अझै अन्योल छ । किनकि रनवे एप्रोचमा पर्ने रिट्ठेपानी डाँडा कटानका लागि हाल रूख कटानको काम भइरहेको र १५ दिनभित्रमा रूख कटानको काम पूरा गरी डाँडा कटानको काम अगाडि बढाइने आयोजनाले जनाए तापनि रूख कटानपछि डाँडा कटानको काम बाँकी छ । दुई हेक्टरमा फैलिएको सो डाँडाको दुई थुम्का कटानका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेर कटानका लागि बजेटसमेत विनियोजन भएको छ । तर, ४० मिटर डाँडा कटान गर्नुपर्ने देखिएका कारण यसको व्यवस्थापनमा अन्योल भएको हो । विमानस्थलको रनवेबाट पूर्वपट्टि करिब २ किलोमिटरको दूरीमा रहेको सो डाँडा विमानले अवतरण र उडान गर्दा एप्रोचमा परेकाले हवाई सुरक्षालाई मध्यनजर गरेर कटान गर्नुपरेको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डलाई अनुसरण गरेर डाँडा कटान गरेर सबैभन्दा ठूलो करिब ६ सय ५० सिट क्षमताको टर्मिनल भवन, टावर, कार्यालय भवन, कार्गो भवनसहित १४ वटा भवनका साथ सन् २०१७ जुलाईबाट निर्माण कार्य सुरु भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय ५० देखि २ सय सिट क्षमताका न्यारोबडी जहाज मात्र आउन सक्छन् । यसका साथै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको प्रमुख पर्यटकीय आकर्षण रहेको प्याराग्लाइडिङको भविष्य के हुने भन्ने पनि अर्को प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्