नवौं राष्ट्रिय खेलकुदमा प्रदेशको अपनत्व हुनेछ : सदस्यसचिव घिसिङ «

नवौं राष्ट्रिय खेलकुदमा प्रदेशको अपनत्व हुनेछ : सदस्यसचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताको लागि न्यूनतम ४ टिम सहभागी हुनुपर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा घिसिङले राष्ट्रिय प्रतियोगितामा सहभागिता हुनको लागि कम्तिमा ४ टिमको सहभागिता हुनुपर्ने बताएका हुन् ।
मंसिर ४ गते हुने संघीय तथा प्रदेशको निर्वाचनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई खासै असर नगर्ने सदस्य सचिव घिसिङले बताए । प्रतियोगिताका अधिकांश खेलहरु गण्डकी प्रदेशको राजधानी पोखरामा हुने उनले जनाए । नवौं राष्ट्रिय खेलकुदमा सहभागि हुने खेलाडीहरुले भदौ २५ गते भित्र दर्ता गराई सक्नुपर्ने समय सिमा रहेको उनले जनाए । ११ वटै टिमले आफ्ना खेलाडीहरुको साइज अनुसारको खेल पोसाकको विवरण पेश गरिसक्नु पर्नेछ ।
गण्डकी प्रदेशमा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न १४ वटा उपसमितिमध्ये ५ वटा गण्डकी प्रदेशका व्यक्तिहरु संयोजक रहेको बताउँदै उनले प्रदेशको अपनत्व हुने गरी प्रतियोगिता संचालनको तयारी गरिने भएको बताए । अघिल्लो मितिमा कोरोनाका कारणले गर्दा हुन नसकेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यस पटक भने निर्धारित मितिमा हुने सदस्य सचिव घिसिङले बताए । तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा उक्त प्रतियोगिता सम्पन्न हुने उनले विश्वास उनले व्यक्त गरे । उक्त प्रतियोगितामा ३६ वटा खेलमा प्रतिष्पर्धा हुने तयारी गरिएको सदस्य सचिव घिसिङले जनाए ।
प्रतियोगिताको लागि करिब १० लाख बराबरको सुन र चाँदी जडित ट्रफी प्रदान गरिने भएको छ । उक्त ट्रफी प्रधानमन्त्रीबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागिय टोलीको मुख्यालयमा प्रदर्शन गरिने भएको छ । गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेशबाट उक्त प्रतियोगिताको लागि ५ करोड माग गरे पनि एक करोड विनियोजन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्