सार्वजनिक यातायातको भाडा अनुगमन गर्न निर्देशन «

सार्वजनिक यातायातको भाडा अनुगमन गर्न निर्देशन

संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि तत्काल संस्थागत संयन्त्र बनाएर अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको भन्दै समितिले सडक अतिक्रमण गरी बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिएको छ ।
“सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा हटाउन तथा देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन समिति भौतिक तथा उर्जा मन्त्रालयलाई निर्देशन गर्दछ” सभापति कल्याणी खड्काले भनिन् ।
सभापति खड्काले देशका मुख्य सडकमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिएको बताइन् । समितिले राष्ट्रिय गौरव तथा अन्य राष्ट्रियस्तरका सडकहरुको निर्माण तथा स्तर उन्नतीको काममा भइरहेको ढिलासुस्ति तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखी निर्माणाधिन नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडक स्तरोन्नती कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ ।
“राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तर उन्नतीको काममा भइरहेको ढिलासुस्ति तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखि निर्माणाधिन नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडक स्तर उन्नतीको कार्य निर्धारित समय र गुणस्तरीय बनाएर तीब्र रुपमा अगाडि बढाउनुपर्छ” उनले भनिन्, “वातावरण, प्रविधि मैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालिन समाधान सहितको विकास निर्माणको उपयुक्त महल अवलम्वन गरी तत्काल अध्ययन गरी कानून ल्याउन समिति नेपाल सरकार मन्त्रीपरिषद्को कार्यलय र भौतिक मन्त्रालयलाई निर्देशन गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्