Logo

नेपाल उद्योग परिसंघ सुनसरीको अध्यक्षमा अग्रवाल

नेपाल उद्योग परिसंघ सुनसरीको अध्यक्षमा अनिलकुमार अग्रवाल चयन भएका छन् ।
परिसंघका प्रदेश–१ का अध्यक्ष भीम घिमिरेको उपस्थितिमा भएको उद्योगीहरूको भेलाले अग्रवालको नेतृत्वमा सुनसरी जिल्ला समिति गठन गरेको हो । त्यस्तै उद्योगपति विनोद अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा ईश्वरीप्रसाद पराजुली, महासचिवमा प्रल्हाद दाहाल, सहसचिवमा दिवाकर पौडेल (सागर) र कोषाध्यक्षमा राजेश गोयल चयन भए ।
उद्योगी रोहित अग्रवाल, विजय साह, अनन्त विष्ट, लक्ष्मण हुमगाईं र प्रकाशकुमार राठी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष भीम घिमिरेले सबै उद्योगी व्यवसायीका समस्यालाई परिसंघले उच्च प्राथमिकताका साथ उठाउने बताए । उनले बैंकको ब्याज, बिमा, विद्युत, कृषि, पर्यटन, निर्माण, ऊर्जा, भन्सार, करलगायतका समस्या समाधानका लागि नवगठित समितिले पहल गर्ने उल्लेख गरे ।
अहिले उद्योगी व्यवसायीहरू अप्ठ्यारो अवस्थामा रहेको चर्चा गर्दै अध्यक्ष घिमिरेले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि राज्यले उद्योगी व्यवसायीका मागको सुनुवाई नगरेको गुनासो गरे । झापा, धनकुटा, उदयपुर, ओखलढुंगा जिल्लामा पनि परिसंघको समिति छिट्टै गठन गर्ने तयारी भइरहेको प्रदेश अध्यक्ष घिमिरेले जानकारी दिए ।
त्यस्तै नवगठित समितिका अध्यक्ष अग्रवालले सुनसरीका उद्योगीका समस्या समाधानका लागि काम गर्ने प्रतिवद्धता जनाए । परिसंघमा वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठानहरू मात्र सदस्य रहने वैधानिक व्यवस्था भएकाले अब उद्योगीका हरेक समस्या तीनै तहको सरकारसम्म पुर्‍याउने नवगठित समितिका वरिष्ठ उपाध्यक्ष विनोद अग्रवालले बताए ।

प्रतिक्रिया दिनुहोस्