जीवन बिमक संघद्वारा २ संस्थालाई ७० लाख सहयोग «

जीवन बिमक संघद्वारा २ संस्थालाई ७० लाख सहयोग

जीवन बिमक संघ नेपालले दुई संस्था काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई नगद सहयोग गरेको छ ।
संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं इन्स्टिच्युटका डा. भागवान कोइरालालाई ४० लाख र समता एडुकेसनका निर्देशक दिपक सन्जेललाई ३० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जीवन बिमक संघ नेपालका अध्यक्षलगायतका पदाधिकारीद्वारा बिमा समितिका अध्यक्ष र कार्यकारी निर्देशकसमेतको उपस्थितिमा काठमाडौंको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको थियो ।
समता एडुकेसन ट्रस्ट संस्थाले देशभर ५० हजारभन्दा बढी आर्थिक हिसाबले कमजोर विद्यार्थीलाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय सञ्चालन गरेको छ । त्यसैगरी, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ७ मा सहज र सुलभ मूल्यमा पेडियाट्रिक सुविधासहितका बाल अस्पताल बनाउने उद्देश्य लिएको छ भने नेपालको सातैवटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उद्देश्य लिएको छ ।
जीवन बिमक संघ नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने उनको भनाइ थियो ।
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले राम्रो काम गर्ने समाजसेवी संस्थाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताए । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सबै कम्पनीहरुले यस्ता कार्य गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्