आकर्षक श्रम गन्तव्यमा नेपालीको माग बढ्यो «

आकर्षक श्रम गन्तव्यमा नेपालीको माग बढ्यो

सरकारले पछिल्लो समय आम्दानी धेरै हुने नयाँ श्रम गन्तव्यसँग धमाधम सम्झौता गर्दै नेपालबाट दक्ष जनशक्ति पठाउन थालेको छ । सरकारले यही वर्षभित्र जापान र इजरायलमा दक्ष श्रमिक पठाउने गरी योजना अघि बढाएपछि धेरै पारिश्रमिक पाउने श्रम गन्तव्यमा नेपाली युवाले रोजगारी पाउने भएका हुन् ।
१ वर्षयता सरकारले मासिक २ लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने नयाँ रोजगार गन्तव्य जापान र इजरायलमा युवा पठाउने तयारी गरेकोमा इजरायलमा भने सुरु भइसकेकोे छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही दिनयता जापानमा पनि नेपाली पठाउने योजनासहित काम अघि बढाएको छ । सरकारले स्वदेशमा नै रोजगारी सिर्जना गरी बाध्यात्मक वैदेशिक रोजगारीलाई कम गर्ने जनाए पनि कोरोना संक्रमणपछिको बेरोजगारी दर थेग्न नसकेपछि विकल्पको रुपमा वैदेशिक रोजगारीलाई प्रवद्र्धन गर्न थालेको छ ।
मन्त्रालयले इजरायलमा ५ सयभन्दा नेपाली पठाइसकेको छ भने बाँकी रहेका ६०० श्रमिकलाई पनि पठाउने सम्बन्धमा भिसा जारी भइरहेको छ । यसैगरी जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली छिट्टै जापान पठाउने तयारी सहितप्रक्रिया शुरु गरेको मन्त्रालयका उपसचिव थानेश्वर भुसालले जानकारी दिए । मन्त्रालयले २०१९ मा सम्पन्न भएको श्रम समझदारीपत्र अनुसार जापानमा स्पेसिफाइड स्कील वर्कर (एसएसडब्लू) पठाउन कार्यदल नै गठन गरेको छ । श्रम मन्त्रालयले एसएसडब्लू प्रणाली मार्फत जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । एसएसडब्लू प्रणालीमार्फत नेपाली युवालाई जापानमा रोजगारी दिने विषयमा संयुक्त कार्य समितिको दोस्रो बैठक समेत गत हप्ता नै सम्पन्न भइसकेको छ ।
सो बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा बैठकले जापानी पक्षसँग प्रक्रियाका बारेमा छलफल गरिसकेको छ । बैठकमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि योजना बम्जन, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि हिमालचन्द्र अर्याल, वैदेशिक रोजागर विभागका निर्देशक डम्बर बहादुर सुनुवार, मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल र जापानी प्रतिनिधिमण्डलको तर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावाको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डलले भौतिक रुपमा र जापानका सम्बद्ध निकायका अन्य प्रतिनिधिहरुले भर्चुअल माध्यमबाट छलफल समेत गरिसकेको छ ।
नेपाली युवालाई रोजगारीका लागि जापान पठाउने सम्बन्धमा भएको बैठकले नेपाल–जापान श्रम समझदारीपत्रमा नेपाल तथा जापानका समसामयिक कानुनी व्यवस्थाहरु समेटेर परिमार्जन गर्नुपर्ने भएमा सोको तयारी समेत शुरु गरेको छ । जापानको एसएसडब्लू प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापान पठाउन नेपाल सरकारले निर्माण गर्नुपर्ने कार्यविधि समेत बनाइने भएको छ । यसअघि सन् २०१९ मार्चमा एसएसईफ प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सो प्रणाली अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीका लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो ।
विगत २० वर्षमा जापानको कृषि क्षेत्रमा काम गर्ने जनशक्ति ३१ प्रतिशतले घटेको बेला नेपालले त्यसको फाइदा उठाउन सक्ने गरी दक्ष जनशक्ति तयार गर्नुपर्ने देखिन्छ । जापानमा हाल कृषि क्षेत्रका प्राविधिक प्रशिक्षार्थीको संख्या ३१ हजार पुगेको छ । जापानले प्राविधिक प्रशिक्षार्थीको रुपमा तरकारी खेती, बंगुर पालन, माछा पालन, अण्डा उत्पादन र दूध उत्पादनका लागि नेपालबाट श्रमिक लैजाने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्