वाणिज्य बैंकहरूको नाफा १० प्रतिशतले बढ्यो «

वाणिज्य बैंकहरूको नाफा १० प्रतिशतले बढ्यो

वाणिज्य बैंकहरूले १० प्रतिशतले मुनाफा बढाएका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंकहरूले गत वर्षको ६ महिनाको तुलनामा मुनाफा १० दशमलव २७ प्रतिशतले बढाएका हुन् ।
चालू आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकहरूले २२ अर्ब ९८ करोड ३७ लाख रूपैयाँ मुनाफा आर्जन गरेका छन् । यो मुनाफा गतवर्षको पुस मसान्तसम्म २० अर्ब ८४ करोड ३७ लाख रूपैयाँ थियो । सबैभन्दा धेरै मुनाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । नबिलले दोस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकलाई ७३ लाख रूपैयाँले उछिनेको छ । नबिलले ६ महिनामा १ अर्ब ८३ करोड रूपैयाँ मुनाफा कमाएको छ ।
थोरै रकमले नबिलले उछिने पनि नबिलले भन्दा इन्भेस्टमेन्टले नाफा बढाएको छ । नबिलले नाफा ५ प्रतिशतले बढाएकामा इन्भेस्टमेन्टले १५ दशमलव ४९ प्रतिशतको वृद्धि गरेको छ । मुनाफाका आधारमा नबिल र इन्भेस्टमेन्टसँगै ९ वटा बैंक अर्बपति क्लबमा छन् । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७८ करोड ५९ लाख, नेपाल बैंकले १ अर्ब ६३ करोड ८४ लाख, एभरेस्ट बैंकले १ अर्ब १४ करोड, हिमालयन बैंकले १ अर्ब १० करोड ५८ लाख, कृषि विकास बैंकले १ अर्ब २ करोड ९१ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब १ करोड ३४ लाख र एनएमबी बैंकले १ अर्ब ७२ लाख मुनाफा कमाएका छन् ।
एनएमबीले ४३ तथा स्ट्याण्डर्ड चार्टर्ड ३६ प्रतिशतले नाफा बढाएर अर्बपति क्लबमा चढेका हुन् । कृषि विकास र एभरेस्ट पनि पहिलो पटक अर्बपति क्लबमा उक्लिएका हुन् । सरकारी स्वामित्वको नेपाल बैंक गतवर्ष मुनाफाका आधारमा पहिलो नम्बरमा थियो । तर नेपाल बैंकको मुनाफा यसपटक १४ प्रतिशतले घटेका कारण चौथो स्थानमा चित्त बुझाउन वाध्य भएको हो ।
चार बैंक पहिलोपटक अर्बपति क्लबमा चढ्दा प्रभु बैंक भने मुनाफामा ४३ प्रतिशत गिरावटपछि अर्बपति क्लबको सूचीबाट हटेको छ । गत वर्षको पुस मसान्तसम्म १ अर्ब ११ करोड २३ लाभ कमाएको प्रभु बैंकको मुनाफा यसपटक ६३ करोड ४९ लाखमा सीमित भएको छ । मुनाफाका आधारमा सिभिल बैंक सबैभन्दा पुछारमा छ । सिभिलले २१ करोड ६९ लाख मुनाफा कमाएको छ । दोस्रो त्रैमासमा आइपुग्दा मुनाफाका आधारमा एनसीसी बैंकले सबैभन्दा बढी प्रगति गरेको छ । एनसीसीले मुनाफा ३ सय ५६ प्रतिशतले बढाएको छ । गत वर्षको पुस मसान्तसम्म ७ करोड ७१ लाख रूपैयाँ नाफामा सीमित एनसीसीले यसपटक मुनाफा रकम ३५ करोड ४५ लाख रूपैयाँ पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्