पालिकाहरूको निर्णय: काँचो स्याउ संकलनमा रोक

जुम्लाको आर्थिक समृद्धिसँग पहिचानसँग जोडिएको जुम्ली अर्गानिक स्याउ नपाक्दै बजारमा गएको गुनासो आएको छ । कालिकोटको स्याउ लिएर जुम्लाको नाम बेचेको तर आफुहरूले स्याउ नटिपेको जुम्ली किसानले बताएपनि जुम्लाको चन्दनाथ, तातोपानी र तिलाका केहि किसानले भने रातारात काँचो स्याउ निर्यात गरेको पाइएको छ । जसका कारण जुम्ली स्याउको पहिचान संकटमा छ ।
जुम्ली काँचो स्याउ सुर्खेत नेपालगन्जका बजारमा पुगेको गुनासोपछि जुम्लाका स्थानीयतहले काँचो स्याउ संकलनमा रोक लगाउने निर्णय गरेका छन् । काँचो स्याउ संकलन तथा विक्री गर्दा जुम्ली पहिचान संकटमा पर्ने भएकोले ढिलोमा भदौ दोस्रो साताबाट संकलन गर्ने गरी तत्काल स्याउ संकलनमा रोक लगाउने निर्णय गरिएको हो ।
जसमा यहाँको पातारासीले तीजलाई लक्षित गर्दै भदौ ८ गतेबाट स्याउ टिप्ने र अनुकूलताअनुसार बिक्री गर्ने पालिका स्तरीय निर्णय गरेको पातारासीका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । उनका अनुसार भदौ ८ गतेभन्दा अघि जोसुकै किसानले स्याउ टिपेको भेटिएमा पालिकाले दिने अनुदानलगायतका सेवाबाट बञ्चित गरिने छ ।
त्यस्तै स्याउको गुणस्तर कायम राख्न,किसानलाई उचित मूल्य दिलाउन तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाले भने भदौ १५ गतेपछि मात्रै स्याउ टिप्न पाउने निर्णय गरेका छन् ।
तिला गाउँपालिकाले भदौ १० गते, कनकासुन्दरी गाउँपालिकाले पनि भदौ १० गते, गुठीचौर गाउँपालिकाले भदौ १ गते, हिमा गाउँपालिका भदौ १ गते सडक क्षेत्र र भदौ ५ गतेपछि मात्रै माथिल्लो क्षेत्रको स्याउ टिप्ने पाउने निर्णय गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । उनका अनुसार जुम्ली स्याउले कलर हाले पनि गुलियो भरिन अझै २० प्रतिशत बाँकी रहेको छ ।
उनले भने, “पालिका स्तरमा किसान,जनप्रतिधि र व्यापारीबीच स्याउ टिप्ने, बिक्री गर्ने उपयुक्त समय र काँचो स्याउ टिप्दा हुने घाटाका बारेमा पालिकास्तरमा छलफल चलाई रहेका छौ । छलफलबाट आफ्नो हावापानी, अनुकूलता र चाडपर्व लक्षित गर्दै भदौ पछि मात्रै फरक फरक मितिमा स्याउ टिप्ने निर्णय भएका छन । निर्णय कार्यान्वयनमा जोड दिन आवश्यक छ । ”
स्याउ उत्पादन किसानको पालिकास्तर हुँदै जिल्लामा सञ्जाल निर्माण गरी स्वयम् सकिनाले नै स्याउको मूल्य तोक्ने वाताबरण सिर्जना लागि परेको प्रमुख अधिकारीले उल्लेख गरे ।
किसानले आफैले उत्पादन गरेको स्याउको मुल्य आफै तोक्न पाउनुपर्ने माग गरेका छन् । व्यापारीले आफूखुसी मूल्य तोक्ने र काँचो स्याउ लिन चाहाने भएकाले किसान घाटामा छांै । किसान जयकृष्ण विष्टले भने,“स्याउको मुल्य तोक्न किसानले पाउनुपर्छ । कहिले स्याउ खेती नगरेका व्यापारीले मूल्य तोक्ने किसान चुप लाग्ने अबस्था रहेको छ ।”
गुणस्तरीय र परिपक्क स्याउ निर्यात नभएपछि मात्र किसानले परिश्रमअनुसार आम्दानी पाउने पातारासीका कृषि शाखा प्रमुख रुपक बुढाले बताए । उनका अनुसार किसान र व्यापारी स्वयम नसच्चीए सम्म काँचो स्याउ निर्यात रोक्न मुस्किल छ । भदौ ८ गतेपछि मात्रै स्याउ टिप्ने निर्णयको पालाना नगर्ने किसानलाई पालिकाको विभिन्न सेवाबाट बन्चित गरिने छ ।
पातारासीका किसान जयकृष्ण विष्ट, खरबहादुर बुढा, लक्षिमराम खड्का, लछे बुढालगायतका किसानले सडक स्तरवृद्धि, पालिकामै कोल्ड स्टोर वास्तविक किसानलाई अनुदानसँगै सिप र प्रविधि दिनुपर्नेमा जोड दिएका छन् ।
व्यापारीले आफू खुसी मूल्य तोक्दा आफूहरू मारमा परेको भन्दै किसानले मूल्य निर्धारण गर्ने नीति बनाउन उनिहरूको माग छ । कालिकोटको काँचो स्याउ बेचेर जुम्लाको नाम बदनाम गर्नेविरुद्ध जुम्लाका सरोकारवालाहरू सशक्त भएर लाग्नुपर्नेमा किसानको जोड छ ।
पातारासीकी उपाध्यक्ष जनमाया रोकायाले बिचौलियाले जुम्ली स्याउको नाम बेचेर कालिकोटको स्याउ हो बिक्री गरेको बताइन् । जुम्ली पहिचान जोगाउन काँचो स्याउ निर्यात पातारासीले ठोस कदम लिने उनको भनाइ छ । पातारासीले स्याउ खेती विस्तार तथा किसानलाई अनुदान दिने कुरामा जोड दिने छ । भने, पातारासीलाई जुम्लाको अन्नभण्डार पालिकामा रूपमा विकास गर्ने रणनीति अघि बढाइको पातारासी गाउँपालिकाले जनाएको छ ।