विराटनगरको डुबान समस्याका लागि केशलिया नदीमा तटबन्धको तयारी «

विराटनगरको डुबान समस्याका लागि केशलिया नदीमा तटबन्धको तयारी

प्रदेश–१ को राजधानी विराटनगरमा हुने बाढी र डुबानको समस्या निराकरण गर्ने उद्देश्यसाथ प्रदेश सरकारले बूढीखोला–केशलिया नदी करिडोर निर्माणको प्रस्ताव अघि सारेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा करिडोर निर्माणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन सार्वजनिक गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश सहयोग कार्यक्रमका विज्ञहरूले तयार गरेको अध्ययन प्रतिवेदनले नदी नियन्त्रणसँगै बस्ती विकास, सहरी वन विकास र कृषि क्षेत्रको आधुनिकीकरणको सम्भावनाबारे औंल्याइएको छ ।
विभिन्न पालिकालाई जोडेर संघीय, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाउन सकिने परियोजनाको लागत १४ अर्ब अनुमान गरिएको छ । केशलिया नदीमा दायाँबायाँ बाँध बाँधेर करिडोरका रूपमा विकास गर्न सके त्यसले विराटनगरसहित दुहबी, बूढीगंगा र विराटनगरमा बाढी नियन्त्रण गर्नुका साथै विविध वातावरणीय फाइदासमेत पुग्ने जनाइएको छ । विज्ञ महेन्द्र सुब्बा, प्रशान्त मल्ल र ज्योति श्रेष्ठले करिडोर निर्माणबाट हुनसक्ने फाइदाको विषयमा चर्चा गरेका थिए । त्यस अवसरमा प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले करिडोर निर्माण गर्न तीनवटै तहका सरकारको पहलकदमी आवश्यक रहेको भन्दै यसका लागि प्रदेश सरकार सहभागी हुन तयार रहेको बताए । उनले भने, “व्यवस्थित बसोबास, बाढी नियन्त्रण र कृषिक्षेत्रको विकासका लागि पनि करिडोर महत्वपूर्ण हुने प्रदेश सरकारको बुझाई छ ।”
आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले करिडोर निर्माणको काम पूरा भएपछि विराटनगरमा हुने बाढी र डुबानको समस्या निराकरण हुनुकासाथै यो बहुउपयोगी सावित हुने दाबी गरे । “करिडोरले समेटिने सबै पालिकाहरूको समग्र विकासमा यो परियोजना सहयोगी हुनेछ,” कार्कीले भने । कार्कीले केशलिया नदीलाई भारत सिमानासम्म करिडोरको रुपमा विकास गर्ने प्रदेश सरकारको तयारी रहेको सुनाए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले केशलियामात्र नभएर सिंघिया नदी नियन्त्रणका लागिसमेत काम अघि बढाउन प्रदेश सरकारको ध्यानाकर्षण गरे । “विराटनगरमा डुबानको ठूलो समस्या छ, केवल केशलिया नदीमा मात्रै तटबन्ध बनाएर हुँदैन,” मेयर कोइरालाले थपे, “डुबान समस्याको दीर्घकालीन समाधानका लागि केशलियासँगै सिंघिया नदीमा पनि तटबन्ध निर्माण गर्नुपर्छ ।” प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्ण लोम्समले धेरै ठूला सहरहरूले नदी नियन्त्रणबाट पर्यटनसम्मको विकास गर्न सकेको भन्दै प्रदेश राजधानी विराटनगर आसपास रहेका नदीको उचित नियन्त्रण गर्नसके त्यसबाट फाइदा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्