सुकिलुम्बा विमानस्थलको टर्मिनल भवनसहित घेराबारा निर्माण हुने «

सुकिलुम्बा विमानस्थलको टर्मिनल भवनसहित घेराबारा निर्माण हुने

उडान सुरु भएर पनि बन्द भएको इलामको विमानस्थल वरिपरि घेराबारा निर्माण हुने भएको छ । हालसम्म घेराबारा नभएको यस विमानस्थलको घेराबाराका लागि रकम विनियोजन गरिएको छ ।
इलाम नगरपालिका–९ मा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको स्थायी टावर र यात्रु प्रतिक्षालयसहितको टर्मिनल भवनसमेत निर्माण हुने भएको छ । नागरिक उड्डयन प्राधिकरण एरोड्रोन इन्जिनियरिङ विभागका निर्देशक मुरारी भण्डारीले घेराबारे, स्थायी टावर र यात्रु प्रतिक्षालय निर्माण कार्यका लागि नेपाल सरकारले बजेट उपलब्ध गराएको जानकारी दिए । उनले विमानस्थल उद्घाटन भइसकेपछि पनि सुरक्षाका लागि केही काम अगाडि नबढेकाले यो वर्ष घेराबारा गर्ने तयारी गरेको बताए । निर्देशक भण्डारीले बजेट पास भएर आएकाले अव दसंै तिहारपछि काम अगाडि बढ्ने गरी स्टिमेट तयार हँुदै गरेको पनि बताए ।
सरकारले नागरिक उड्डयन प्राधिकरणले समेत लगानी गर्ने गरी बजेट व्यवस्था गरेपछि बहुवर्षे ठेक्कामा भवन र टावर निर्माण गर्ने साथै घेराबारा गर्ने तयारी गरिएको छ । यो वर्ष घेराबाराका लागि एक करोड र भवनसहित टावर निर्माणमा दुई करोड बजेट विनियोजन भएको भण्डारीले जानकारी दिए ।
विमानस्थलको धावनमार्ग दायाँ बायाँको कच्ची भागलाई मर्मत सम्भार गरी नालीसमेत सरसफाइ गरिने विमानस्थल आयोजना प्रमुख विनायक भट्टराईले बताए । ओटासिलको केही भाग चर्किएको र त्यहाँसमेत प्राविधिक परीक्षण गर्दा ठूलो समस्या नदेखिएको निर्देशक भण्डारीको भनाइ छ । हाल सो विमानस्थलको धावनमार्ग चर्किएको छ । फिलिङ माटो भएकाले केही चर्किएको बताइएको छ । यहाँ अटोमेटिक सिल गरेपछि पुन: माटो बस्ने उनले बताए ।
२०५८ सालमा सर्वे सुरु भई सुकिलुम्बा विमानस्थलमा २०६८ चैतदेखि निर्माण सुरु भएको थियो । धावनमार्ग विस्तार भएपछि तारा एयरले पहिलो पटक प्राविधिक उडान गरेको थियो । आठ करोड ४० लाख लागतमा गत वर्ष नै धावनमार्ग र पार्किङस्थलमा कालोपत्रे भएपछि नेपाल वायुसेवाले पहिलो परीक्षण उडान सम्पन्न गरेको थियो ।
विमानस्थलको पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका थिए । विमानस्थलमा ८ फागुनबाट हप्तामा एक पटक उडान गर्ने तारा एयर र इलाम नगरपालिकाको योजनाअनुसार केही समय उडान भएको थियो । उडानका लागि सम्झौता अनुरुप यात्रुवापतको ११ लाख बढी रकम नगरले तारा एयरलाई भुक्तानी गरेको थियो ।
नेपालमा साना विमानस्थलको निर्माण र स्तरोन्नति भए पनि साना विमानको अभावमा नियमित उडान हुन सकेको छैन । साना जहाजको अपरेटिङ कष्ट बढी हुने भएकाले पनि लगानी कर्तालय यसतर्फ चासो नराखेको बताइएको छ । साना विमानस्थललाई हुने जहाज आए राम्रो हुने निर्देशक भण्डारीको भनाइ छ ।
इलाममा निर्मित विमानस्थलबाट नियमित उडान गराउन पहल भइरहेको इलाम नगरपालिकाले जजानकारी दिएको छ । इलाम नगरपालिकाले नागरिक उड्डय प्राधिकरलाई पत्र नै काटेर विमानस्थल सञ्चालन गर्न सहयोग मागेको छ ।

प्रतिक्रिया दिनुहोस्