दाङमा ‘एक पालिका, एक नमुना कृषि वन’ «

दाङमा ‘एक पालिका, एक नमुना कृषि वन’

जिल्लामा वनमा रहेको खाली जमिनलाई उपयोग गरेर उपभोक्ताको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले एक पालिका एक नमुना कृषि वन कार्यक्रम सुरु गरिएको छ । जिल्लाका १० पालिकामध्ये पहिलो पटक पाँचवटा पालिकामा कार्यक्रम सुरु गरिएको हो ।
एक पालिका एक नमुना कृषि वन कार्यक्रमअन्तर्गत घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बंगलाचुली गाउँपालिका गरी पाँच पालिकामा कार्यक्रम सुरु भएको छ । कार्यक्रमअनुसार ४९ हेक्टर खाली जमिनमा छनोट गरेर काष्ठजन्य, गैह्र काष्ठ, जडिबुटी र फलफूलका ४७ हजार बढी बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत तथा सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । उनका अनुसार घोराही उपमहानगरपालिकामा ८.२२ हेक्टर, तुलसीपुर उपमहानगरपालिकामा ६.५० हेक्टर, बंगलाचुली गाउँपालिकामा १० हेक्टर, शान्तिनगर गाउँपालिकामा ९.४१ हेक्टर र शान्तिनगर गाउँपालिकामा १४ हेक्टर गरी ४९ हेक्टर क्षेत्रफलमा नमूना कृषि वन कार्यक्रम लागू गरिएको हो । कार्यक्रमअन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. ११ र १२ का ३५ घरधुरीको ५.१७ हेक्टर, वडा नं. ४ मा रहेको माध्यमिक विद्यालय डाँडागाँउ गोग्लीको १.५ हेक्टर, वडा नं. १ मा रहेको सिद्ध कृषि वन र वडा नं. ११ मा रहेको प्रगति कृषि वनको १/१ हेक्टर गरी ८.२२ हेक्टर जमिनलाई नमुना कृषि वनका रूपमा विकास गरिएको छ ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नं. ४, ८, ९, १०, १२ र १७ का १४ घरधुरीले ६.५०, बंगलाचुली गाउँपालिका–५ मा रहेको साकिने कृषि वनको १० हेक्टर, शान्तिनगर गाउँपालिकाका १४ घरधुलीले ९.४१ र दंगीशरण गाउँपालिका वडा नं. २, ५, ७ र ९ का ६५ घर परिवारले १४ हेक्टर जमिनमा खेती गरेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । डिभिजन वन कार्यालय घोराहीअन्तर्गत रहेका पाँचवटै पालिकालाई समेट्ने कार्यक्रम भए पनि यसवर्ष बबई गाउँपालिकामा कार्यक्रम हुन नसकेको सूचना अधिकारी केसीले बताए । वन तथा व्यक्तिको खाली रहेको जमिनलाई उपभोग गर्दै वनका माध्यमबाट आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले कार्यक्रम लागू गरिएको उनले बताए ।

नमुना वनमा ४७ हजार बढी बिरुवा
कार्यक्रमअनुसार ४९ हेक्टर क्षेत्रमा काष्ठजन्य, गैह्रकाष्ठ, जडिबुटी र फलफूलका ४७ हजार सात सय बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत तथा सूचना अधिकारी केसीले जानकारी दिए । उनका अनुसार नमुना कृषि वनमा सबैभन्दा बढी काष्ठजन्य बिरुवा १९ हजार चारवटा, जडिबुटीका १४ हजार २० बिरुवा, फलफूलका सात हजार ६ सय ९९, डाले घाँसका चार हजार ८ सय २६ र गैह्रकाष्ठका दुई हजार १ सय ५३ बिरुवा रोपिएको छ । घोराही उपमहानगरपालिकाको ८.२२ हेक्टरमा काष्ठजन्य विरुवा एक हजार ९ सय २०, फलफूलका एक हजार ५ सय १८ बिरुवा, जडिबुटीका दुई हजार ८० विरुवा, डालेघाँसका दुई हजार ६ सय बिरुवा र गैह्रकाष्ठका ३ सय ५६ बिरुवा गरी आठ हजार ४ सय ७४ विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको ६.५० हेक्टरमा काष्ठ जन्य पाँच हजार ३ सय ५७ बिरुवा, फलफूलका ३ सय ९४, जडिबुटीका ५८ विरुवा र डालेघाँसका एक हजार २ सय ३३ विरुवा गरी जम्मा पाँच हजार ८ सय ९ विरुवा, बंगलाचुली गाउँपालिकाको १० हेक्टर जमिनमा काष्ठजन्य १ सय ४७ विरुवा, फलफूलका एक हजार ९ सय ५० र जटिबुटीका नौ हजार १ सय ७३ बिरुवा रोपिएको छ ।
त्यसैगरी शान्तिनगर गाउँपालिकाको ९.४१ हेक्टरमा काष्ठजन्य तीन हजार ४ सय ५६ बिरुवा, फलफूलका एक हजार ९ सय ११ विरुवा, जडिबुटीका दुई हजार २ सय ६५ बिरुवा, डालेघाँसका एक हजार ६ सय ८८ विरुवा र गैह्रकाष्ठका एक हजार ७ सय १९ विरुवा गरी ११ हजार ३९ विरुवा र दंगीशरण गाउँपालिकाको १४ हेक्टर जमिनमा काष्ठजन्य आठ हजार १ सय २५ विरुवा, फलफुलका एक हजार ९ सय २६ विरुवा, जडिबुटीका ४ सय ४४ विरुवा, डालेघाँसका ५ सय ३८ र गैह्रकाष्ठका ७८ गरी ११ हजार १ सय ११ विरुवा रोपिएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी केसीले बताए । कृषि वनमा समावेश किसानलाई प्रोत्साहनका लागि डिभिजन वडा कार्यालयले प्रतिविरुवा २० रुपैयाँ अनुदान दिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्