२७ वर्षदेखि अर्घाखाँची–पाल्पा सडक अलपत्र «

२७ वर्षदेखि अर्घाखाँची–पाल्पा सडक अलपत्र

अर्घाखाँची र पाल्पा जिल्ला जोड्ने घुम्ती–पाल्पा सडक आयोजना २७ वर्षसम्म अलपत्र परेको छ । २०६३ सालमा २५ लाख रुपैयाँ विनियोजन भएर एक किलोमिटर कालोपत्रे भएको सडकको गति १५ वर्षपछि पनि उस्तै छ । २०६५ सालदेखि २०७४ सालसम्म उक्त सडकमा बजेट विनियोजन हुन सकेन । एसएनआरटीपी प्रोजेक्टले उक्त सडकको जिम्मा लिँदा काम अगाडि बढेन । २०७४ सालको निर्वाचनमा सडकलाई पिच गर्ने चुनावी नारा बने पनि सडकको काम कछुवा शैलीमा छ ।
२०४८ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापति खगेन्द्र पोख्रेल हुँदा चार वर्ष लगाएर २०५२ सालमा ट्रयाक खोल्ने काम सम्पन्न भएको बाटो घुम्तीबाट तीनगिरेसम्म ३४ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । पाल्पाको तीनगिरेबाट तानसेनसम्म भने सडक कालोपत्रे भइसकेको छ ।
गतआर्थिक वर्षमा अड्गुरीबाट दुर्गाफाँटसम्म कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भए पनि एक वर्षका लागि ठेकेदार कम्पनीले म्याद थप गरेको हो । कोदालोले २०४५ सालमा घुम्तीबाट खन्न थालेको बाटो २०७८ सालसम्म आउँदा पनि जोखिम यात्रा गर्न यहाँका बासिन्दा बाध्य छन् । यस क्षेत्रमा २०५६ सालमा डिल्लीराज खनाल, २०६४ सालमा पुष्पा भुसाल, २०७० सालमा स्व. डा. दुमनसिंह थापा र २०७४ सालमा प्रदेश सभामा रामजीप्रसाद घिमिरे र प्रतिनिधिसभा सदस्यमा टोपबहादुर रायमाझी विजयी भए ।
बुटबल–सन्धिखर्क सडकपछि अर्घाखाँचीकै दोस्रो सडकको रूपमा रहेको घुम्ती–पाल्पा सडक आयोजनाको काम पछाडि पर्दा स्थानीय बासिन्दा पनि असन्तुष्ट छन् । १५ वर्ष अगाडि कालोपत्रे भएको बाटो जीर्ण बनेको छ । राजनीतिक दलका नेताले मुख्य चुनावी एजेण्डा बनाएपछि चुनाव सकिएपछि यो बाटोलाई वास्ता नै नगरेको स्थानीय तुल्सीराम पौडेलले बताए । अर्घाखाँचीको क्षेत्र नं. १ बाट निर्वाचित टोपबहादुर रायमाझी मन्त्री हुँदासमेत उक्त बाटोलाई प्राथमिकता दिएनन् ।
गतआवमा २६ करोड रुपैयाँ ठेक्का भए पनि १४ किलोमिटर कालोपत्रे हुने भनिएको सडकको एक वर्षका लागि म्याद थपेर कामले तीव्रता लिन सकेको छैन । दुई वर्षभित्रमा बाटो पिच हुने विश्वास रहेको पाणिनी–७ का वडाध्यक्ष गुणाखर अधिकारीले बताए । चालू आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले पाणिनी गाउँपालिका पहुँचमार्गको रूपमा घुम्ती तीनगिरे सडक आयोजनाका लागि चार करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्