अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २ भदौमा «

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २ भदौमा

महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०७९ हुने भएको छ ।
महासंघले २ देखि ६ भदौसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्न लागेको हो । महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको बारेमा जानकारी गराएको हो ।
महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छरिएर रहेका महिला उद्यमीहरुलाई एउटै स्थानमा ल्याएर बजार व्यवस्थापन मात्रै नभइ व्यवसाय सञ्जाल बढाउने उद्देश्यले महिला उद्यमी व्यापार मेला गर्न लागेको बताइन् । उनले मेलामा व्यावसायिक ज्ञान र अनुभव साटासाट गर्ने माध्यमको रुपमा लिएको बताइन् । अध्यक्ष खत्रीले मेलामा सातै प्रदेशका महिला उद्यमीहरु सहभागी हुने बताइन् ।
मेलाकी संयोजक शोभा ज्ञवालीले मेलामा जिल्लास्तरदेखि अन्तर्राष्ट्रिय महिलाहरुले उत्पादन गरेका सामग्रीहरु स्टलमा राखिने बताइन् । उनले मेलाले उद्यमी महिलाहरुको सीप र सिर्जनालाई अगाडि ल्याएर अन्तर्राष्ट्रिय बजारमा पहिचाउन पुर्‍याउने उद्देश्य महासंघले लिएको बताइन् । ज्ञवालीले मेलामा १०९ स्टलहरु राखिने जानकारी दिइन् ।
नेपाली महिला उद्यमीबाहेक भारत पाकिस्तान, बंगलादेशका महिला उद्यमी उत्कृष्ट उत्पादन किन्ने अवलोकन गर्न पाइने उनले जानकारी दिइन् । मेलामा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तुहरु, पुष्प सामग्री, जडिबुटी, गरगहना र सजावटका सामानहरु प्रदर्शनीमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्