खेलाडी विदेश पलायन : बाध्यता कि रहर ? «

खेलाडी विदेश पलायन : बाध्यता कि रहर ?

खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशको खेलकुदमा गरेको लगानी मापन हुन्छ । हरेक राष्ट्रले खेलकुदलाई आफ्नो प्रतिष्ठाको रुपमा अँगाल्दा नेपालले भने त्यसको लाभ उठाउन सकेको छैन । जसको परिणाम खेलाडी विदेश पलायन हुन थालेका छन् । राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा राजनीतिको हालीमुहालीले खेलाडीको भविष्य अन्योल हुँदा उनीहरु पलायनको बाटो रोजिरहेको कतिपय खेलविद्हरु बताउँछन् । तर राज्यले खेलाडी पलायन रोक्न कुनै नीति ल्याउन सकेको छैन । यसले वर्तमान पुस्तालाई असर त गरेको छँदैछ, सँगै खेलकुद क्षेत्रको पनि भविष्य धराप बन्दै गएको छ ।
केही दिनअघि मात्रै राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङ नेपालमा खेलकुदमा भविष्य सुनिश्चित नहुने ठानेर अस्ट्रेलिया पलायन भए । यो एउटा आलो घटना हो । तर यो बाहेक पनि धेरै राष्ट्रिय खेलाडीहरु नेपालको खेल क्षेत्रमा आफ्नो भविष्य नदेखेर विदेश पलायन भइरहेको घटना छन् । नेपाली फुटबलका विमल राना, हेमन्त थापा मगर, नेपाली राष्ट्रिय क्रिकेटका वसन्त रेग्मी, पृथु बास्कोटा, नरेश बुुढाऐर, राष्ट्रिय भलिबलकी रमिला तण्डुकार लगायत विभिन्न एकल विधाका खेलाडीहरु विदेश पलायन भइसकेका छन् । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा नेपाली खेलकुदमा राजनीति बढी हावी भएको सर्वत्र दृृष्टान्त छन् । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता हुन लाग्दा खेलाडी राजनीतिको चपेटामा परेको घटना पनि उत्तिकै बाहिरिएका छन् । खेलकुदलाई राज्यले हेर्ने दृष्टिकोण दूरगामी र प्रभावकारी बन्न नसक्दा वर्षौंसम्म खेलकुदमा लागेका खेलाडीले विकल्प रोज्न थालेका हुन् । उनीहरुको वैकल्पिक रोजाई विदेश बन्ने गरेको छ । विदेश पलायनको बाटो रोजिरहँदा खेलाडीहरुले करियर नै टुङ्ग्याउनेतिर समेत लागेका कतिपय उदाहरण छन् । यसले वर्तमान पुस्तालाई असर गरेकै छ, साथै भविष्यका लागि पनि नकारात्मक छाप पर्ने निश्चित छ । नेपाली खेलकुदलाई नियालीरहेका खेलविद् सुशिल नरसिंह राणाले आशा नभएपछि खेलाडीले विकल्प खोज्नु बाध्यत्मक परिस्थित रहेको बताउँछन् । राणाले खेलकुदमा राजनीति हावी हुनुले नकारात्मक असर परेको औंल्याए । नेपाली हरेक खेलाडीसँग आफ्नो नाम र प्रतिष्ठाको कुरा रहेकोले पनि खेलाडीहरु पैसामा नदौडिने उनले बताए । तर पछिल्लो समय खेलमा राजनीति हावी हुँदा समग्र खेलकुद क्षेत्रमा नै नकारात्मक असर परेको उनको भनाइ छ । विदेश पलायन भइरहेका खेलाडीलाई रोक्नेका लागि वर्षभर व्यस्त रहने खेलतालिका र योजना सहितका कार्यक्रम ल्याएमा खेलाडीले विकल्पको रुपमा विदेश नरोज्ने राणाले बताए ।
राज्य स्तरबाट खेलाडीहरुको सामाजिक सुरक्षाका लागि प्रभावकारी योजना बुन्न नसकेको यथार्थ हो । विभागले केही हदसम्म खेलाडीलाई रोजगारीको निश्चितता गरेर टिकाउने प्रयास गरिरहेका छन् । अहिले तीन विभागले धानेको नेपाली खेलकुद अड्एिको छ भन्दा फरक नपर्ला । त्यस बाहिरका खेलाडीको अवस्था दयनीय बन्दै गएको छ । नेपाली खेलाडीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भनेको ओलम्पिक, एशियन गेम्स, दक्षिण एशियाली खेलकुद हुन् । यी प्रतियोगिता सहभागिताका लागि उपयुक्त किसिमको प्रतिष्पर्धात्मक प्रतियोगिताको अभाव छन् । तय भएका राष्ट्रिय प्रतियोगिता पटकपटक सर्दै खेलाडीको तयारी व्यर्थ हुने गरेका छन् । तर अहिले विगत र अहिलेको अवस्थामा फरक भएको भन्दै खेलविद् राणाले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई सेवा सुविधा दिनुपर्ने बताए । विगतको अवस्था भन्दा अहिले खेलाडीलाई निजी स्तरबाट आयोजना हुने प्रतियोगिताबाट आर्थिक आर्जन गर्ने अवस्था फराकिलो भएको भएपनि दीर्घकालिन नभएको उनको बुझाइ छ । राज्य स्तरबाट कुनैपनि खेलाडीको करियर पश्चात भविष्य सुनिश्चिताको व्यवस्था भए खेलाडी विदेश पलायन हुनबाट रोकिने राणाले बताए ।
नेपाली खेलकुदमा विश्व स्तरका भौतिक पूर्वाधारको अभाव छ । सँगै खेलाडीका लागि पर्याप्त सुविधा पनि छैन । भविष्यको प्रत्याभूति नहुँदा धेरै र राम्रा खेलाडीहरु विदेश पलायन भइरहेका हुन् र यो क्रम बढ्ने क्रममा रहेको हो । करातेबाट नेपाली खेलकुदलाई धेरै पटक पदक दिलाएका दीपक श्रेष्ठले विगतमा खेलाडीलाई उपलब्ध गराइने सेवा सुविधा र अहिलेका खेलाडीलाई उपलब्ध गराईने सेवा सुविधा तुलना गर्दा धेरै फरक भएकाले खेलाडी टिकाउन मुस्किल भएको बताए । श्रेष्ठले विगतमा राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सम्बन्धित संघले जागिर दिने व्यवस्था भए पनि अहिले त्यो अवस्था नहुँदा कतिपय खेलाडीले विदेश जाने बाटोको रुपमा खेल छोड्ने गरेको बताए । नयाँ खेलाडीलाई टिकाउने आधार राज्य स्तरबाट पाउनुपर्ने आवश्यकता रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष श्रेष्ठले बताए । राज्य स्तरबाट खेलाडीलाई टिकाउनका लागि उच्च स्तरबाट नै योजनाहरु बनाएको अवस्थामा खेलाडी पलायन रोक्नसकिने पूर्व खेलाडी श्रेष्ठ बताउँछन् ।
राष्ट्रिय खेलकुद परिषद्ले सीमित खेलाडीलाई खेल जीवनपछि प्रशिक्षक वा कर्मचारीका रुपमा रोजगारी दिँदै आए पनि यसले समग्र खेलाडीको सम्बोधन गर्न सकिरहेको छैन । यस बाहेक विभागीय टोलीले धेरै हदसम्म खेलाडी धानिरहेका छन् । खेल क्षेत्रबाट पलायन खेलाडीको यो सूची धेरै लामो छ । एकल विधाका खेलदेखि समूहगत खेलका खेलाडीले विकल्प दिनानुदिन खोजिरहेका छन् । यो लर्को रोक्न सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्