लागूऔषध ओसारपसारको ट्रान्जिट बन्दै वीरगन्ज

वीरगन्ज-नेपाली अर्थतन्त्रको ‘लाइफलाइन’को रूपमा चिनिने वीरगन्जलाई तस्करहरूले लागूऔषधको ट्रान्जिट पोइन्टको रूपमा पनि प्रयोग गर्ने गरेका छन् । ६ वर्ष अघिसम्म प्रतिबन्धित लागू औषध गाँजाको खेती नै हुने पर्सामा स्थानीय प्रहरी प्रशासनले निर्मूल पारे पनि अहिले भारतबाट आउने लागूऔषध इन्जेक्सन ट्याब्लेट र नेपालबाट भारततर्फ जाने गाँजा अफिमको तस्करीको ट्रान्जिट पोइन्ट बनेको छ ।
नेपालको मकवानपुर, धादिङ र नुवाकोट जिल्लामा उत्पादित गाँजा पर्सा राष्ट्रिय निकुञ्जको जंगलको बाटो हुँदै पर्साको ग्रामीण क्षेत्रमा ल्याएर भण्डारण गर्ने र त्यहाँबाट भारततर्फ तस्करी गर्ने गरेका छन् । पर्सा प्रहरीले माघ १६ गते नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा १० केजी पाँच सय ग्राम लागूऔषध चरेशसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगन्ज–१६ बस्ने वर्ष २० की अपसाना खातुन, २५ वर्षीया रेहाना खातुन र भारत विहारको भोतिहारी पश्चिमी चम्पारण नयाँटोला चन्पटिया २ बस्ने ६० वर्षीय भारतीय नागरिक जहुर आलम रहेका छन् । अपसना खातुनको साथबाट औषध चरेश ५०० ग्रामको दरले १० थानमा ५ किलोको ढिका पोका, खातुनको शरीरबाट ५०० ग्रामको दरले ११ थान प्याकेटमा ५ किलो ५०० ग्राम नियन्त्रित लागूऔषध चरेश बरामद गरेको छ । उनीहरूलाई विभिन्न आर्थिक प्रलोभनमा पारेर तस्करहरूले लागूऔषध तस्करीमा प्रयोग गरेको पाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए ।
आलमको साथबाट भारतीय रूपैयाँ तीन हजार नौ सय ६९, कार्वन मोबाईल १ थान, भारत सरकार आयकर विभागको प्यान कार्ड १ थान, भारत सरकारको आधार कार्ड पनि बरामद गरेको छ । तीन जनाको साथबाट जम्मा १० केजी पाँच सय ग्राम लागूऔषध चरेश बरामद भएको प्रहरी नायव उपरीक्षक लिम्बुले बताए । जहुर आलम नेपाल तथा भारतमा नियन्त्रित लागू औषध खरिद बिक्री तथा ओसारपसार गर्ने विभिन्न व्यक्तिहरूसँग संलग्न भई नेपालको ग्रामिण क्षेत्रवाट खरिद गरी ल्याएर महिलाहरूलाई प्रयोग गरी भारततर्फ लैजाने गरेको प्रहरीको अनुसन्धानले देखाएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए ।
पक्राउ परेका अपसाना खातुनको ८ महिने बच्चा सहितको र रेहाना खातुन समेत लागूऔषध ओसार पसारमा लगाउने गर्दा पक्राउ गरिएको उनले बताए । विगतमा पनि लागूऔषध ओसार पसारमा महिलालाई प्रयोग गर्ने गरेको देखिएको र पछिल्लो समयमा लागूऔषध तस्करहरूले गर्भवती महिलाहरूलाई समेत प्रयोग गर्ने पाइएको प्रहरी उपरीक्षक डा. रेग्मीले बताए । त्यस्तै भारततर्फबाट पनि प्रतिबन्धित लागूऔषधहरू ओसार पसारमा युवाहरूको प्रयोग हुने गरेको पाइएको छ ।
पर्सा प्रहरीले माघ १६ गते नै लागूऔषध इन्जेक्सनसहित दुईजनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर–१६, रजतजयन्ती चोकबाट प्रहरीले मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर–१३ बस्ने वर्ष १८ को दिपेन्द्र खत्रीको साथबाट नाईट्रोभेट चार पत्ता (६० पिस ) बरामद गरेको छ । त्यस्तै माघ १२ गते सोही स्थानबाट भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर–१० बस्ने वर्ष २५ को रोहण खड्कालाई पनि डाईजिल्याब ५१ पिस, फेनारगन ५१ पिस र लुपिजेसिक ५१ पिस गरि जम्मा १५३ पिस लागूऔषध सहित पक्राउ गरेको थियो ।
त्यसैगरी माघ १६ गते राति तनहुँ भिमाद गाउँपालिका वडा नम्बर ९ बस्ने वर्ष ३६ को राजेश रानाभाटलाई वीरगन्जस्थित होटल समरबाट प्रयोग गरेको टीटी २ सेट, सिरिन्च थान २ र प्रयोग नभएको टीटी ४ सेटसहित पक्राउ गरेको छ । नेपालबाट भारतर्फ तस्करी गर्न लागिएको प्रतिबन्धित गाँजा बोक्ने भरियाहरूलाई पनि पर्सा प्रहरीले पक्राउ गरेको छ ।
यसैबीच बुधबार प्रहरीले वीरगन्ज–१ छप्कैया स्थित नेपाल भारत सिमानामा नेपालतर्फ अन्दाजी ३ फिट लामो अजिंगरको बच्चा फेला पारी जिल्ला वन कार्यालय पर्साको जिम्मा लगाएको पर्सा प्रहरीले जनाएको छ ।