प्रसारणलाइन नहुँदा विद्युत उत्पादन हुन पाएन «

प्रसारणलाइन नहुँदा विद्युत उत्पादन हुन पाएन

लमजुङमा निर्माणाधीन राष्ट्रिय विद्युत प्रसारण लाइनको निर्माणकार्य ढिलाइ हुँदा निर्माण सम्पन्न जलविद्युत आयोजना प्रभावित भएका छन् । राष्ट्रिय प्रसारणलाइन नहुँदा उत्पादनका लागि तयार ३९ मेगावाट विद्युत उत्पादन हुन नपाएको हो ।
जिल्लाको दोर्दी करिडोरमा मात्रै २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना र १२ मेगावाटको दोर्दी–१, जलविद्युत आयोजना दुई साताअघि नै निर्माण सम्पन्न भइसकेका छन् । सोही खोलामा २५ मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना पनि निर्माण सम्पन्नको चरणमा पुगेको छ ।
जलविद्युत आयोजना निर्माण सम्पन्न भइसके पनि मस्र्याङ्दी करिडोरमा निर्माणाधीन २२० केभी राष्ट्रिय प्रसारणलाइन र दोर्दी करिडोरमा निर्माणाधीन १३२ केभी राष्ट्रिय प्रसारणलाइन निर्माणमा ढिलाइ भएको हो । प्रसारणलाइन नहुँदा निर्माण सम्पन्न दुवै जलविद्युत आयोजनाबाट ३९ मेगावाट विद्युत उत्पादन हुन नपाएको हो ।
दुई आयोजनामध्ये १२ मेगावाटको दोर्दी–१ को उत्पादित विद्युत कीर्तिपुरमा निर्माण भएको सबस्टेसनमा जोड्ने गरी प्रसारणलाइनसमेत निर्माण भएको छ । कीर्तिपुर सबस्टेसनसम्म आयोजना आफैले प्रसारणलाइनसमेत निर्माण गरिसकेको छ । तर गतवर्ष बाढीका कारण क्षति भएको दोर्दी करिडोर १३२ केभी प्रसारणलाइन पुनर्निर्माण नभएपछि मस्र्याङ्दी करिडोरको २२० केभी प्रशारण लाइनमा जोड्ने तयारी भएको दोर्दी–१ आयोजना प्रमुख उज्ज्वल सिलवालले बताए ।
२७ मेगावाटको दोर्दी खोलाबाट उत्पादित विद्युत भने २२० केभीमै जडान गर्ने तयारी भएको छ । निर्माण सम्पन्न दुवै आयोजनाबाट उत्पादित विद्युत २२० केभी प्रसारणलाइनमार्फत उदिपुरको मध्यमस्र्याङ्दी हुँदै राष्ट्रिय ग्रिडमा जोड्ने तयारी भए पनि प्रसारणलाइन निर्माण सम्पन्न नहुँदा अन्योल भएको दोर्दीखोला आयोजना प्रवद्र्धक गुरुप्रसाद ढकालले बताए ।
यता दुईवटा जलविद्युत आयोजनाबाट विद्युत उत्पादन तयारी हुँदासम्म प्रसारणलाइन नबनेपछि दबाबमा परेको नेपाल विद्युत प्राधिकरणअन्तर्गत २२० केभी प्रसारणलाइन आयोजनाले निर्माणको क्रम अन्तिम चरणमा पुगेको बताएको छ । मध्यमस्र्याङ्दीको विद्युतगृहदेखि उदिपुरसम्म ६ किलोमिटर दूरीको काम बाँकी रहेको र सो अन्तिम चरणमा पुगेको प्रसारणलाइन आयोजना डिभिजन प्रमुख नारायण रेग्मीले बताए । पोल गाड्ने तथा तार टाँग्ने काम सकिएकाले दुई साताभित्र सबैकाम सम्पन्न हुने रेग्मीको दाबी छ ।
प्रसारणलाइन निर्माणका लागि दुई हप्ता भनेको धेरै समय भइसकेको आयोजना प्रवद्र्धकहरूको गुनासो छ । विभिन्न समयमा आएको बाढी, भूकम्प, कोरोना संक्रमणको जोखिमसँगै जारी भएको लकडाउनलगायतका विभिन्न बाधा अड्चनका बीच निर्धारित समयभन्दा धेरै समय लगाएर आयोजना निर्माण सम्पन्न भएकोमा हाल प्रसारणलाइनका कारण विद्युत उत्पादन गर्न नपाउँदा प्रवद्र्धकहरू निराश भएका छन् । प्रसारणलाइन निर्माण सम्पन्न हुन अझै कति समय लाग्ने भन्ने निश्चित नहुँदा अन्योल कायमै रहेको प्रवद्र्धकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्