Logo

वनको जग्गा अतिक्रमणमा कडाइ गरिने

वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारी वनको जमिन एक बित्ता पनि अतिक्रमण हुन नदिने बताएका छन् । वन क्षेत्रको अतिक्रमण गर्ने र वनको जग्गामा व्यक्तिको रजाइँ भएको भन्दै यादवले आफ्नो कार्यकालमा वनको जमिन कुनै पनि हालतमा अतिक्रमण हुन नदिने बताएका हुन् ।
वन क्षेत्र अतिक्रमण मुख्य समस्या भएको र अतिक्रमण नियन्त्रणका लागि प्रयास भइरहेको उनको भनाइ छ । “हरियो वन नेपालको धन हो, आफ्नो कार्यकालमा सरकारी जमिन कसैलाई पनि हडप्न दिने छैन्, वन माफियालाई कानुनी दायरामा ल्याउने छु,” उनले भने, “सुकुम्बासीको नाममा गरिएको जग्गा अतिक्रमणलाई अतिक्रमणमुक्त गराएर सही व्यक्ति तथा वास्तविक सुकुम्बासीलाई मात्रै जग्गा उपलब्ध गराउने छु ।”
मन्त्री यादवले वन र जंगल हाम्रो साझा सम्पत्ति भएको र आफ्नो सम्पत्ति रक्षा गर्न सबै कटिबद्ध हुनुपर्ने जिकिर गरे । उनले पछिल्लो केही समय यता सरकारी वनको जग्गामाथि गलत मनसाय बोकेका केही भू–माफिया, तस्करले आँखा गाडिरहेकाले उनीहरूका सपना पूरा हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
“भू–माफिया र तस्करहरूले वनको जग्गामा आँखा गाडेएका छन्, वन फडानीमा सम्लग्न तस्करलाई कुनै हालतमा उन्मुक्ति दिने छैन्,” मन्त्री यादवले भने, “जंगल विनाश गर्दा यसको असर हामीले नै भोग्नुपर्ने भएकाले जंगलको संरक्षण गर्नका लागि वन माफियालाई तह लगाउने कार्यमा सबैको सहयोग अपरिहार्य छ ।”
मधेसमा रहेको सीमित वन क्षेत्रलाई जोगाउन आफू प्रतिबद्ध रहेको र मन्त्रालय मातहतका विभाग र निकायलाई यसको संरक्षण र प्रवद्र्धनका लागि आवश्यकता अनुसार काम गर्न निर्देशन दिएको मन्त्री यादवले जानकारी गराए ।
सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले वन माफियालाई तह लगाउनका लागि आफू जुनसुकै कदम चाल्न पछि नहट्ने बताउँदै मन्त्रालयको निर्देशनबमोजिम वन जंगलको संरक्षणका लागि काम गर्न वन रक्षकलगायत सबै कर्मचारीलाई निर्देशनसमेत दिए । यादवले वन मन्त्रालय ताली खाने नभएर गाली खाने मन्त्रालय भएको हुँदा गाली सहेर भए पनि वन जंगल संरक्षणमा तदारुक्ता देखाउन आग्रह गरे । तस्करसँग मिलेर काठ, ढुंगा र गिट्टीको लाइन दिने जस्ता गुनासा सुनिएको बताउँदै उनले सुध्रिएर मन्त्रालयको निर्देशनको पालना गर्न आग्रह गरे ।
राम्रो काम गर्ने कर्मचारीलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्ने बताउँदै मन्त्री यादवले सम्मान पाउने लायकको काम गर्न पनि निर्देशन दिए । निकट भविष्यमै वन तथा वातावरण मन्त्रालयले सम्मान कार्यक्रमको आयोजना गर्न लागेको जानकारी गराउँदै मन्त्री यादवले त्यसका लागि आवश्यक तयारी भइरहेको जानकारी गराए । ।
बाघको संख्या बढेको भन्दै विश्वव्यापी रूपमा नेपालको चर्चा चलिरहेको बताउँदै मन्त्री यादवले बाघ हेर्न आउने पर्यटकलाई बढावा दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्