बिमा क्षेत्रमा बारम्बार दोहोरिने समस्या समाधान गर्न निर्देशन «

बिमा क्षेत्रमा बारम्बार दोहोरिने समस्या समाधान गर्न निर्देशन

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बिमा व्यवसायलाई स्वच्छ, पारदर्शी, बलियो र विश्वसनीय बजारका रूपमा स्थापित गर्न खोजेको बताएका छन् ।
बिमा समितिले निर्जीवन बिमा सम्बन्धी समसामयिक विषयमा निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बिमा क्षेत्रमा रहेका कमी कमजोरी समितिले देखाएको सुधार गरेर अघि बढ्न निर्जीवन बिमा कम्पनीहरूलाई निर्देशन दिए ।
अध्यक्ष सिलवालले समितिले विभिन्न विषयमा निर्णय गर्नु र निर्देशिकाहरू जारी गर्नुभन्दा अगाडि बिमा कम्पनीसँग पर्याप्त छलफल गरी सुझावहरू लिएर मात्र गर्ने गरेको उल्लेख गर्दै समितिका निर्णय र जारी निर्देशिका बिमा कम्पनीहरूले कार्यान्वयन गर्नैपर्ने बताए ।
उनले बिमा कम्पनीहरूलाई सुशासन कायम गर्न, अस्वस्थ प्रतिस्पर्धा नगर्न, तोकिएको दरभन्दा कममा बिमा नगर्न, जोखिमांकनमा कमीकमजोरी हुन नदिन, तोकिएको समयमा बिमा दाबी भुक्तानी गर्न र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रमा गएर बिमाको प्रचार प्रसारमा समेत योगदान पुग्ने गरी काम गर्न निर्देशन दिए ।
कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बिमा व्यवसायमा देखिएका समस्या बारेमा छलफल गरी समाधान गर्दै जाने बताए । कार्यकारी निर्देशक पौडेलले विशेष गरी कृषि तथा पशुपन्छी बिमामा दाबी भुक्तानी नपाएको भन्ने धेरै गुनासा आएको र सम्पत्ती बिमा, सामुन्द्रिक बिमा तथा दुर्घटना बिमामा पनि समस्या देखिएकाले समस्या समाधान गर्न आग्रह गरे ।
बिमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमकको सुपरीवेक्षण, कृषि, लघु तथा पुनर्बीमा, निर्देशक पूजन ढुंगेल (अधिकारी) ले बिमालेख सम्बन्धी समस्या र समाधानका उपाय तथा निर्देशक दिनेश कुमार लालले जोखिमांकनमा देखिएका समस्या एवम् चुनौती र समाधानका उपाय सम्बन्धमा छुट्टा छुट्टै कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।
कार्यपत्रहरू प्रस्तुतीका क्रममा उनीहरुले बिमा क्षेत्रबाट पूर्वाधार र राष्ट्रिय महत्वका क्षेत्रमा लगानी नगरिनु, लगानी स्वीकृतिका लागि बिमा समितिमा पेश गर्दा जोखिमको विश्लेषण नगरिनु, तोकिएको रेटिंगभन्दा कमसल पुनर्बीमा कम्पनीसँग कारोवार गरिनु, कृषि तथा पशुपन्छी बिमामा साना साना दाबीको भुक्तानी नदिने गरेको उल्लेख गरेका छन् । यसैगरी बिमालेख विकास गर्दा पर्याप्त अध्ययन नगरिनु, समितिमा बिमालेख स्वीकृतिका लागि पेश गर्दा पर्याप्त कागजात पेश नगरिनु, जोखिम व्यवस्थापन प्रभावकारी नहुनु, सूचना प्रविधिको उचित प्रयोग नगरिनु, बिमा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता नदिएको पनि बताए ।
कार्यक्रममा निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले बिमा समितिबाट भएका निर्णय र जारी निर्देशिकाहरू कार्यान्वयन गर्न कम्पनीहरू प्रतिवद्ध रहेको उल्लेख गर्दै राष्ट्रिय पूर्वाधारका क्षेत्रमा लगानी गर्न निर्जीवन बिमा कम्पनीहरू तयार रहेको बताए । उनीहरुले कृषि तथा पशुन्छी बिमामा सरकारले घोषणा गरेको अनुदान आउन ढिलाई हुने गरेको लगायतका धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्