सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका «

सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका

नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हालै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशंका व्यक्त गरे । सांसद गुरुङले परराष्ट्र मन्त्रालयले पछिल्लो समयमा तत्कालै पत्राचार गर्न नसकिने र विभिन्न पक्षहरूसँग संवाद, सल्लाह, परामर्श गरेर मात्रै गर्ने अभिव्यक्ति दुखद् रहेको बताए ।

उनले परराष्ट्र मन्त्रालयको अभिव्यक्ति मन्त्रिपरिषद्को निर्णयविपरीत भएको बताए । उनले अविलम्व एसपीपीसम्बन्धी पत्र पत्राचार गर्न रुलिङको माग गरे । सांसद गुरुङले म्युचिएल डिफेन्स क्रिटी, स्टाटेजी डिफेन्स प्याक्ट, स्टाटस अफ फोर्स एग्रिमेण्ट सोफा लगायतका नामबाट एसपीपी सम्झौता गर्ने कुरा भइरहेको बताए ।
उनले भने, ‘हालै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालज्यूले भन्नुभएको छ कि, एसपीपी गएको असारको ६ गते मन्त्री परिषद्को एसपीपीसम्बन्धी निर्णय अमेरिकासँग एसपीपी सम्झौता अहिले गर्न सकिँदैन, भन्ने पत्राचार गर्ने मन्त्री परिषद्को जो निर्णय हो । त्यो निर्णय अहिले पछिल्लो समयमा आएर तत्कालै पत्राचार गर्न नसकिने विभिन्न पक्षहरूसँग संवाद, सल्लाह, परामर्श गरेर मात्रै गर्ने जो अभिव्यक्ति दिनुभएको छ, यो मन्त्रीपरिषद्को निर्णय भन्दा विपरित भयो भन्ने लाग्छ । किनभने मन्त्रीपरिषद्को निर्णयलाई कार्यान्वयन गर्ने दायित्व जिम्मेवारी सम्बन्धित मन्त्रालयहरूको हो । तर, परराष्ट्र मन्त्रालयले यो निर्णय कार्यान्वयन गरिरहेको छैन । त्यसैले अविलम्व एसपीपी सम्बन्धी पत्र पत्राचार गर्न रुलिङको माग गर्न चाहन्छु । एसपीपी सम्झौता नहुने भन्नेकुरा पछि अन्य वैकल्पिक नामहरूबाट कन्टेन त्यही राखेर सैन्य सम्झौताको कन्टेन राखेर अन्य विभिन्न नामबाट वर्क आउट गरिराखेको बुझिन्छ । म्युचिएल डिफेन्स क्रिटीको नामबाट पनि त्यो प्रयास चलिरहेको छ । स्टाटेजी डिफेन्स प्याक्ट भनेर पनि प्रयास चलिरहेको छ । कन्टेन त्यही तर नाम परिवर्तन गरेर काम गर्ने कुरा अमेरिकी पक्षबाट भइरहेको छ । ती कुरा हुन नसके स्टाटस अफ फोर्स एग्रिमेण्ट सोफा भनेर भनिन्छ । एमसीसीमा टेकेर सोफोको नामबाट अर्को सैन्य एग्रिमेण्ट गर्ने भन्नेतर्फ पनि प्रयास चलिरहेको छ । पिस कोअप्रेसन एग्रिमेन्ट भनेर शीर्षक राखेर सम्झौता गर्ने प्रयास भइरहेको छ ।’
सांसद गुरुङले एसपीपी सम्झौता पिस कोअप्रेसन एग्रिमेन्ट भनेर शीर्षक राखेर एसपीपी सम्झौता गर्ने प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्