Logo

सप्तकोशीमा हाइ अलर्ट जारी

सप्तकोशी नदीको जलस्तर अस्वाभाविक बढ्ने आकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वाभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत, साधन तयारी अवस्थामा राखिएको बताए । प्रजिअ यादवले नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै हाइ अलर्टमा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिए । वराहक्षेत्रको बहाव चतरा मापनमा आइपुग्दा सतर्कता तह पार गर्ने सम्भावना देखिएकाले समेत तटीय क्षेत्रसहित आसपासमा सावधानी बढाइएको उनले बताए ।
प्रजिअ यादवले उक्त बहाव कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्यूसेकको हाराहारीमा पुग्नसक्ने देखिएकाले ब्यारेजमा समेत सतर्कता बढाइएकोे बताए । यसैबीच कोशीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले हाइ अलर्ट जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले कोशी आसपासको क्षेत्रमा हाइ अलर्ट जारी गरिएको बताए । कोशी ब्यारेजले ९ लाख क्यूसेक बहाव धान्नसक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्यूसेक माथिको बहावलाई प्राविधिकहरुले सम्भावित जोखिमका रुपमा लिने गरेका छन् । सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्