Logo

लमजुङमा ६ नयाँ मतदानस्थल सिफारिस

आगामी मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा ६ वटा मतदानस्थल थप्न सिफारिस भएको छ । जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले सरोकारवालासँग छलफल गरी निर्वाचन आयोगमा सिफारिस गरेको हो ।
जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा यसअघि कायम भएका मतदान स्थलहरुलाई मतदाता संख्या तथा स्थानीय भूगोलका आधारमा विभाजन गरी नयाँ मतदानस्थल कायम गर्न सिफारिस गरेको हो । सिफारिस गरिएको मतदान स्थलमध्ये यसअघिका पाँचवटा मतदानस्थल विभाजन गरिएको छ भने एउटा मतदानस्थल हटाएर नयाँ दुईवटा कायम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार बेसीशहर नगरपालिका, दोर्दी गाउँपालिका, सुन्दरबजार नगरपालिकामा नयाँ मतदानस्थल कायम भएको हो । बेसीशहर नगरपालिका अन्तर्गत वडा नम्वर ११ मा रहेको चिती आधारभूत विद्यालय रामचोक मतदानस्थललाई विभाजन गरी बालविकास मावि रामचोक बेसीमा नयाँ मतदानस्थल कायम गर्न सिफारिस भएको हो ।
त्यसैगरी सुन्दरवजा–८ बलिथुम अन्तर्गत भारतीसदन माविको मतदानस्थल विभाजन गरी अकला आधारभूत विद्यालय भोटेओडारमा नयाँ मतदानस्थल कायम गर्न सिफारिस भएको छ । त्यस्तै मध्यनेपाल नगरपालिका–८, करापु अन्तर्गत करापु कल्याण मजुवा आधारभूत विद्यालयको मतदानस्थललाई विभाजन गरी विश्वज्योती आधारभूत विद्यालय मजुवामा नयाँ कायम गर्न सिफारिस भएको छ ।
त्यस्तै दोर्दी गाउँपालिका–८ अन्तर्गत फलेनी माविको मतदानस्थल विभाजन गरी दुवारको हिमालय क्षेत्रसिङ आधारभूत विद्यालयमा नयाँ मतदानस्थल कायम गर्न सिफारिस भएको छ । दोर्दी गाउँपालिका अन्तर्गत वडा नम्वर ६ को गणेश आधारभूत विद्यालय काल्चेको मतदानस्थल हटाएर भगवान आधारभूत विद्यालय किर्तीपुर र हिल्सा तामाल सामुदायिक भवन ढोडेनीमा नयाँ मतदानस्थल कायम गर्न सिफारिस भएको जिल्ला निर्वाचन कार्यालय लमजुङका सूचना अधिकारी जिवाखर शर्माले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गत १२ गते सिफारिस समितिको बैठक बसेको हो । सिफारिस समितिमा जिल्लामा क्रियाशिल राजनितिक दलका प्रतिनिधी समेत पदेन सदस्य रहने व्यवस्था रहेको छ । सो समितिले गरेको सिफारिसलाई १७ गते बसेको कार्यदलको बैठकले समेत अनुमोदन गरेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।
गत वैशाखमा भएको स्थानिय तह निर्वाचनमा जिल्ला एक सय २३ मतदानस्थल र एक सय ८२ मतदान केन्द्र कायम भएको थियो । तत्कालिन समयमा जिल्लाबाट एक सय ८७ मतदान केन्द्र सिफारिस गरेको भए पनि निर्वाचन आयोगले भने एक सय ८२ मतदान केन्द्र कायम गरी पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्