जसपा पतनको बाटोमा गएपछि नयाँ पार्टी : बाबुराम «

जसपा पतनको बाटोमा गएपछि नयाँ पार्टी : बाबुराम

नवगठित नेपाल समाजवादी पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी, नेपाल (जसपा) जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपरेको बताएका छन् ।
नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनु परेको बताए ।
ललितपुरको बालकुमारीमा शनिबार सुरु भएको पार्टी केन्द्रिय समितिको प्रथम बैठकमा बोल्दै उनले पार्टीको बैधानिकतालाई पूरा गर्दै आगामी कार्यभार तय गर्ने बैठकको मूल एजेन्डा रहेको पनि स्पष्ट पारे । उनले भने, “जसपाले संकीर्ण एउटा क्षेत्रगत, जातिगत संकीर्णता राखेर देश र जनताको हित गर्न नसकेको देखियो । हामीले संघर्षहरु गर्‍यौं, बहसहरु गर्‍यौं । जब त्यो परिणाममा देखा पर्न सकेन । हामी त्यहीँ पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न सक्ने अवस्था देखिएन । त्यसपछि हामीले गत असार २८ र २९ गते केन्द्रिय समितिको बिस्तारित बैठक आयोजना गरेर रुपान्तरणको केही सम्भावना हुन्छ कि भन्ने हामीले अन्तिम प्रयत्न गर्‍यौ । तर जो मानिसहरु उही पुरानै बाटोमा हिँड्न अभ्यस्त थिए । उनीहरुले रुपान्तरणको कुनै संकेत देखाएनन् । उल्टै पार्टीलाई एउटा नयाँ ढंगले विघटनको दिशातिर, विर्सजनको दिशातिर लिएर जाने जुन प्रयत्न गरे । त्यसबाट यो पार्टी रुपान्तरण हुन सम्भव छैन, यसलाई पुनर्गठन नै गर्नुपर्छ भन्ने निष्कर्ष निकालेर जनता समाजवादी पार्टी संकीर्ण जातीय, क्षेत्रीय बाटोमा पतन हुने देखियो ।”
नेता भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने पनि बताए । जनताका मुद्दाहरुलाई चुनावको क्रममा महत्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उनले ती विषयहरुमा गम्भिर छलफल गरी पार्टीको कन्द्रिय समिति बैठकले आवश्यक निर्णय लिने बताए । नेता भट्टराईले भने, “अब जहाँसम्म आगामी निर्वाचनको कुरा छ । निर्वाचन घोषणा भइसकेपछि धेरै मानिसहरुमा जिज्ञासा छ । अब यो नयाँ नेपाल समाजवादी पार्टीले निर्वाचनलाई के गर्छ भन्ने जिज्ञासा छ । हामी सदन, सडक र सरकार अर्थात् सडक संघर्ष, चुनावी संघर्ष र सरकारमा गएर पनि गरिने सुधारात्मक काम यी सबैको संयोजनबाट मात्रै हामीले अगाडि सारेको समावेशिता, संघीयता, सुशासन, समृद्धि समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने हाम्रो मान्यता छ । त्यस अनुरुप जुन हाम्रो आगामी निर्वाचन छ, यसबारेमा पनि हामीले यो बैठकमा गम्भिर छलफल गरेर यसलाई कसरी हामीले प्रयोग गर्ने यसको निम्ति हामी एक्लै अगाडि बढेर हुन्छ या विचार मिल्ने नजिकका शक्तिहरुसँग सहकार्य गरेर हुन्छ, त्यसबारेमा पनि हामी गम्भिर विचार विमर्श गर्नेछौं र त्यसको आधारमा हामीले निष्कर्ष निकाल्नेछौं ।”
नेता भट्टराईले आफ्नो पार्टीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी मुलुकको बैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वास समेत व्यक्त गरे ।

अध्यक्षमा भट्टराई र यादव चयन
बक्स
नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठकले एक नम्बर वरीयताको अध्यक्षमा डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष महिन्द्र राय यादवलाई बनाएको छ ।
त्यस्तै सहअध्यक्षमा तेस्रो वरीयतामा गंगानारायण श्रेष्ठलाई बनाएको छ । उपाध्यक्षमा हिसिला यमि, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई चयन गरेको छ ।
बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ । जसमा क्रमश: १ नम्बर प्रदेशमा राजेन्द्र कुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङ रहेका छन् ।
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णय केन्द्रीय समितिको बैठकले गरेको छ । बैठकले हाल १८९ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्