हवाई यात्रुको संख्या बढयो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाख यात्रुले उडान भरेका छन् । यता सन् २०२१ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ४९ लाख यात्रुले हवाई उडान भरेका थिए । यसरी हेर्दा पछिल्लो छ महिनामा नै आन्तरिक यात्रुको संख्या बढी हो । सन् २०२२ को ६ महिना (जनवरीदेखि जुन) सम्म कुल २२ लाख ९० हजार आन्तरिक यात्रुले हवाई उडान भरेका छन् ।
अन्तर्राष्ट्रियमा भने १५ लाख १४ हजार यात्रुले उडान भरेका छन् । पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनले भने, “आन्तरिक हवाई यात्रुमा हवाई यात्राको आकर्षण बढेर गएकाले पनि आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएको छ।” स्थानीय तहको निर्वाचन तथा प्रदेशहरुमा पनि विभिन्न गतिविधि बढेर गएकाले पनि आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएको जनाइएको छ । सन् २०२२ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल १५ लाख १४ हजार १९१ जना यात्रुले हवाई उडान भरेका छन् । जसमा विमानस्थलबाट बाहिरिनेको संख्या ८ लाख २८ हजार र विमानस्थल भित्रिने ६ लाख ८५ हजार छन् ।
आन्तरिकमा भने कुल २२ लाख ९० हजार हवाई यात्रुले त्रिभुवन विमानस्थलबाट यात्रा गरेका छन्, जुन हालसम्मकै अधिक भएको विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण प्रसाद चुडालले बताए । उनले भने, “आन्तरिक यात्रुको संख्यामा वृद्धि हुँदै गएको छ ।” सन् २०२० मा आन्तरिक १५ लाख यात्रु रहेकोमा २०२१ मा ३५ लाख पुगेको थियो ।
सन् २०१५ मा १३ लाख ६० हजार, २०१६ मा १७ लाख ५७ हजार, २०१७ मा २४ लाख ५१ हजार, २०१८ मा १५ लाख १७ हजार, २०१९ मा ३१ लाख ८८ हजार, सन् २०२० मा १४ लाख ५७ हजार यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानमास्थलको आन्तरिक टर्मिनलबाट उडान तथा अवतरण गरेका छन् । सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानमा भने १४ लाख ८२ हजार ३ सय ५ जना यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तथा अवतरण गरेका थिए ।
पछिल्लो समय आन्तरिक तथा बाह्य दुवै उडान लयमा फिर्ता हुने क्रममा रहेको छ । कोभिड–१९ का कारण उडान प्रभावित हुँदा यात्रुको संख्यामा कमी आएको थियो । सन् २०२२ को ६ महिनामा १० हजार ६६० उडान/अवतरण भएका छन् । बाह्य उडानमा ३ लाख १२ हजार यात्रुलाई सेवा दिएर एयरलाइन्समा कतार एयरवेज एक नम्बरमा छ । त्यस्तै दोस्रोमा नेपाल एयरलाइन्सले २ लाख ८० हजार यात्रुलाई सेवा दिएको छ भने हिमालय एयरलाइन्सले १ लाख ८५ हजारलाई सेवा दिएको छ । आन्तरिकतर्फ भने बुद्ध एयरले ६ महिनामा १२ लाख १० हजार, यतीले एयरलाइन्सले ४ लाख ९२ जानालाई आन्तरिक हवाई सेवा प्रदान गरेको छ । श्री एयरलाइन्सले ३ लाख ५१ हजार यात्रुलाई सेवा दिएको छ ।
नयाँ विमान कम्पनी थपिनु, सडक यात्रामा कोभिडको जोखिम रहनु र सडकमार्ग बिग्रनुले पनि पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको बर्ताैलाको भनाइ रहेको छ । कोभिड–१९ कै समयमा गुण एयरलाइन्सले ५ (उडान भरेको) विमानबाट उडान सुरु गरेको थियो । हाल बुद्ध एयरको १५, यती एयरको ५ विमान, गुणको ५, सौर्य २, श्री एयरलाइन्सको ७ समिट ३, ताराको ४, सीता १, एनएसिको १ विमानले मुलुकभरका १९ विमानस्थलमा उडानमा भरिरहेको छ । पहाडी भेगमा बुद्ध, सिता, समिट, तारा र एनएसिले उडान भरिरहेका छन् भने अन्य वायुयानले सुगमका गन्तव्यमा उडान गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय दैनिक २ सय ४० उडान तालिका (दुई तर्फि)बाट औसतमा दैनिक १२ हजार याुत्रले काठमाडौंबाट उडान तथा अवतरण गर्ने गरेको प्रमुख चुडालको भनाइ छ ।
विमानस्थल कार्यालयका अनुसार उपत्यकाबाट दैनिक ६ हजार यात्रु उडान भरिरहेका छन् भने सोही संख्यामा यात्रुले उपत्यकामा अवतरण गर्ने गरेका छन् ।