बैंकहरुको नाफा बढ्यो आरओइ सुधारिएन «

बैंकहरुको नाफा बढ्यो आरओइ सुधारिएन

वाणिज्य बैंकहरूको नाफा कोरोना कहरको अवस्थाभन्दा अगाडितिरको झैं देखिए पनि आफ्नो इक्विटिमा प्रतिफल (आरओई) भने कोरोना कहरभन्दा अगाडिको अवस्थामा अझै पुगेको छैन । अघिल्लो वर्षको तुलनामा गत आार्थिक वर्षमा वाणिज्य बैंकहरूको नाफा १९.५७ प्रतिशतले बढेको भए पनि रिटर्न अन इक्विटि (आरओई) भने १४ प्रतिशतको हाराहारीमात्रै छ ।
बंैकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्ष बैंकहरूले ७४ अर्ब ८० करोड खुद नाफा आर्जन गर्न सफल भएका छन् । तर, अघिल्लो आर्थिक वर्षको परिष्कृत वित्तीय विवरण अनुसार बैंकहरूले ६२ अर्ब ५६ करोड नाफा आर्जन गरेका थिए । बैंकहरूले आर्थिक वर्ष २०७५/०७६ मा ६३ अर्ब नाफा गरेकोमा आर्थिक वर्ष २०७६/०७७ मा नाफा घटेर ५२.८ अर्बमात्र भएको थियो । २०७७ साल चैत ११ गतेदेखि कोरोना महामारीका कारण करिब ६ महिना पूर्ण तथा आंशिक बन्दाबन्दी भएको थियो, जसको प्रत्यक्ष नकारात्मक असर वाणिज्य बंैकहरूको नाफामा परेको देखिन्छ ।
तर, आर्थिक वर्ष २०७७/०७८ मा भने नाफामा सुुधार आएर २७ वाणिज्य बैंकको कुल नाफा ६२.५६ अर्ब पुगेको परिष्कृत वित्तीय विवरणमा उल्लेख छ । तर, गत आर्थिक वर्ष २०७८/०७९ मा भने २६ वाणिज्य बैंकको अपरिष्कृत वित्तीय विवरण अनुसार कुल नाफा ७४.८० अर्ब पुगेको छ ।
गत आवमा देखिएको लगानीयोग्य तरलता अभावको बाबजुद बैंकहरूको नाफा बढ्नुमा ब्याज आम्दानीको ठूलो योगदान रहेको बंैकर भुवन दाहाल बताउँछन् । नाफामा कोरोनापूर्वको अवस्था देखिए पनि रिटर्न अन इक्विटि (आरओई) भने १४ प्रतिशतको हाराहारीमात्र हुनु राम्रो नभएको उनको भनाइ छ । कोरोना अगाडि आर्थिक वर्ष २०७५/०७६ मा आरओई १६.८३ प्रतिशत रहेकोमा कोरोनाको वर्ष अर्थात् २०७६/०७७ मा आरओई झरेर १२.३० प्रतिशत पुगेको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा १२.६६ प्रतिशत रहेको आरओई आर्थिक वर्ष २०७८/०७९ मा १४ प्रतिशत हाराहारीमात्र हुनु भनेको कोरोना कहरको अगाडिभन्दा पनि कम हो ।
यसैगरी गत आवमा निजी क्षेत्रका बैंकहरूलाई सरकारी बैंकले जितेको छ । नाफा आर्जनमा अघिल्लो वर्ष तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंक सिधै एक नम्बरमा पुगेको छ । गत आर्थिक वर्षमा ५ अर्बभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमई बैंक रहेका छन् भने नबिल बैंक, एनआईसी एशिया बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको नाफा ४ अर्बभन्दा बढी रहेको छ ।
एनएमबि बैंक, प्राइम बैंक, नेपाल बैंक र सिद्धार्थ बैंकले ३ अर्बभन्दा बढी नाफा आर्जन गरेर प्रतिस्पर्धा गरिरहेका छन् । कुमारी, मेगा, कृषि विकास, प्रभु, एभरेष्ट, हिमालयन, सानिमा, स्ट्याण्डर्ड चार्टर्ड, सिटिजन्स, माछापुच्छ«े, सन्राइज र एनसीसी बैंकले २ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । बिओके, नेपाल एसबिआई, लक्ष्मी, सिभिल र सेञ्चुरी बैंक भने एक अर्ब क्लबमा छन् ।
तर, सञ्चालनमा रहेका २६ वाणिज्य बैंकको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणका अनुसार मुनाफाबाट वाणिज्य बैंकहरूले औषतमा १५.९४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्