‘थोपा थोपा मिले घैला भरिन्छ’ «

‘थोपा थोपा मिले घैला भरिन्छ’

‘थोपा थोपा मिलेर घैला भरिन्छ’ भनेझैँ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मोहर बचत संकलन गरेर सुरु भएको सहकारीको सम्पत्ति नौ अर्ब बढी पुगेको छ । जिल्लाको गैँडाकोटमा ३२ वर्षअघि स्थापना भएको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल सम्पत्ति अहिले नौ अर्ब तीन करोड ३४ लाख पुगेको छ ।
वि.सं ५ भदौ २०४८ मा २६ सदस्यले दैनिक ५० पैसा (एक मोहर) बचत संकलन गरी स्थापना गरेको संस्था अहिले नेपालकै उत्कृष्ट सहकारी संस्थाका रूपमा स्थापित भएको छ । विकूका संस्थापक एवं वर्तमान अध्यक्ष ओमप्रसाद सापकोटाले ‘बचत नै विकासको बीउ हो’ भन्ने आदर्श सोचाइबाट सुरु गरिएको संस्थामा अहिले एक लाख १० हजार सदस्य पुग्नु सामान्य कुरा नभएको बताए । समाजमा व्याप्त गरिबी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरी बचत गर्ने बानीको विकास गराउने तथा त्यसरी संकलन गरिएको बचतलाई सदस्यहरूभित्रै परिचालन गरी सामाजिक उद्यमको प्रवद्र्धन गर्नु संस्थाको मुख्य उद्देश्य भएको सापकोटाले बताए ।
वि.सं २०५० मा वैधानिकता प्राप्त गरेको विकूले वि.सं २०५४ मा नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने अनुमति पाए पनि सदस्यहरूबाट निक्षेप संकलन गरी बढीभन्दा बढी सेवा पुर्‍याउन सफल भएको सापकोटाको भनाइ छ । “हामीले संस्था स्थापना गर्दा विजय युवा क्लब युनियन (विकू) भनेर सुरुआत गर्‍र्यौँ,” सापकोटाले भने, “यो संस्थालाई विजय विकास स्रोत केन्द्रले प्रवद्र्धन गरेको छ ।” अहिले संस्थाको शेयर पुँजीमात्रै ९० करोड ९४ लाख पुगेको अध्यक्ष सापकोटाले बताए ।
“हामीसँगै जगेडा तथा कोष ७८ करोड ६६ लाख, बचत संकलन सात अर्ब दुई करोड ४७ लाख, ऋण लगानी सात अर्ब २० करोड ६१ लाख पुगेको छ,” उनले भने, “संस्थाले सदस्यलाई प्रतिव्यक्ति दुई करोडसम्म लगानी गर्दै आएको छ भने दुई सदस्यहरूको जमानीमा बिनाधितो दुई लाखसम्म ऋण प्रवाह गरिरहेको छ ।” विकूले जिल्लाबाट उत्कृष्ट सहकारी पुरस्कार, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)बाट पश्चिमाञ्चल क्षेत्रीय उत्कृष्ट सहकारी पुरस्कार तथा नेपालकै सर्वोत्कृष्ट बचत तथा ऋण सहकारी संस्था पुरस्कार, एसियाली ऋण महासंघको प्राविधिक सहयोगमा नेफ्स्कुनद्वारा सञ्चालित सेवा तथा सुरक्षासँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको एक्सेस ब्राण्ड लगातार छपटकसम्म पाउन सफल भएको छ ।
विकूलाई लघुवित्त विश्वव्यापी सञ्जाल ‘मिक्स मार्केट’ले पनि उत्कृष्ट रेटिङ (पाँच तारा) प्रदानका साथै लगातार दुईपटक युरोपियन अवार्डमा समेत सू्चीकृत गरेको थियो । त्यस्तै नेफ्स्कुनबाट उत्कृष्ट व्यवस्थापनको पहिलो राष्ट्रिय पुरस्कारसमेत विकूले हात पारेको थियो । संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले विकूले आफ्ना शेयर सदस्यलाई कम्तीमा पनि १५ प्रतिशत शेयर बोनस प्रदान गर्दै आइरहेको बताए । “नेपालका सहकारी संस्थामध्ये हामीले पहिलोपटक एटीएम कार्ड सञ्चालनमा ल्याएका थियौँ,” उनले भने, “विकूको एटिएम कार्डले आफ्ना छवटा एटीएम मेसिन तथा नेपालका जुनसुकै बैंकको मेसिनबाट नि:शुल्क पैसा निकाल्न मिल्ने सुविधा प्रदान गर्दै आएका छौँ ।”
विकूले तीनवटा प्रदेशका तीनवटा जिल्लामा कारोबार गर्ने इजाजत लिएर नवलपुर र चितवनमा कारोबार गर्दै आइरहेको छ । उपाध्यक्ष आचार्यका अनुसार संस्थाको चितवनमा चार तथा नवलपुरमा १९ गरी २३ वटा शाखा सञ्चालनमा छन् । संस्थाको सदस्यमध्ये ४९ प्रतिशत महिला तथा एक हजार दुई ९३ जना सुकुम्बासी परिवारका रहेका आचार्यले बताए ।
“विकूले चिनाउने छ अक्षर, सबै सदस्य बन्ने छन् साक्षर भन्ने उद्देश्यका साथ विगतका वर्षदेखि नै आफ्नै स्रोत र साधनबाट हामीले अनौपचारिक शिक्षा सञ्चालन गर्दै आएका छौँ”, उनले भने, “कमजोर अर्थावस्था भएका संस्थाका सेयर सदस्यका छोराछोरीको पहिचान गरी दलित जनजाति तथा जेहेन्दार ६० जनालाई बर्सेनि एसइईसम्मको सम्पूर्ण लगानी संस्थाले गर्ने गरी छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।” विभिन्न संघसंस्थासँगको सहकार्यमा विकूले बर्सेनि आफ्ना दुई सय जना सदस्यलाई व्यावसायिक तथा सीपमूलक तालिम प्रदान गर्दै आइरहेको उनको भनाइ छ ।
विकूको संस्थापक एवं लेखा सुपरीवेक्षण समितिका संयोजक कमल सुवेदीले निक्षेपमा १३ प्रतिशतसम्म र ऋणमा १६ प्रतिशतसम्म ब्याजदर रहेको जानकारी दिनुभयो । “हामीले निक्षेपमा सातदेखि १३ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छौँ,” उनले भने, “ऋण लगानीमा १३ देखि १६ प्रतिशतसम्म ब्याज लिने गरेका छौँ ।” उत्पादनमूलक क्षेत्रमा १३ प्रतिशत ब्याजदरमै लगानी गर्ने गरेको संस्थाले महिला उद्यमीलाई भने शून्य दशमलव पाँच प्रतिशत कम ब्याज तथा अनुत्पादक क्षेत्रमा लगानी गर्दा १६ प्रतिशत ब्याज लिने गरेको सुवेदीको भनाइ छ ।

विकूले कृषि तथा पशुपालनलगायतका उत्पादनमूलक क्षेत्रमा ४२ प्रतिशत, व्यापार तथा व्यवसायमा ३९ प्रतिशत र अनुत्पादक क्षेत्रमा १९ प्रतिशत ऋण प्रवाह गरिरहेको सुवेदीले बताए । संस्थाले तीन सय ६५ दिन नै बैंकिङ तथा सन्ध्याकालीन नियमित सेवा प्रदान गरिरहेको भन्दै विकूलाई अझ उत्कृष्ट संस्था बनाउनका लागि आफूहरू लागिपरेको सुवेदीले बताए । एकतीस वर्षअघि स्थापना भएको विकूले विभिन्न कार्यक्रम गर्दै साउन २१ देखि आफ्नो वार्षिकोत्सवका कार्यक्रम गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्