नेपाल टेलिभिजन सन्तुलित र विश्वसनीय सञ्चारमाध्यम हो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल टेलिभिजन (एनटिभी)ले आफूलाई सन्तुलित र विश्वसनीय सञ्चारमाध्यमका रुपमा स्थापित गर्न सफल भएको बताएका छन् । नेपाल टेलिभिजनको ३३औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले भन, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने राज्यको अभियानमा एनटिभीले काँधमा काँध मिलाएर हिँडेको छ ।”
प्रधानमन्त्री देउवाले एनटिभीले आफूलाई समयानुकूल परिमार्जन र परिस्कृत गर्दै देशको जेठो र पाको टेलिभिजनको रुपमा उभ्यान सफल हुनु सबैको लागि गर्वको विषय भएको बताए । उनले भने, “विश्वमा टेलिभिजन स्थापना भएको ५० वर्षपछिमात्रै नेपालमा पहिलो टेलिभिजनको रुपमा स्थापना भएको नेपाल टेलिभिजनले शैशव, युवा हुँदै ३३ वर्षको परिपक्व सञ्चारमाध्यमको रुपमा आफूलाई उभ्याउन सफल भएको छ, यही अवधिमा एनटिभी, एनटिभी प्लस, एनटिभी न्यूज र एनटिभी कोहलपुर गरी चार वटा प्रशारण शुरु गर्नु गर्वको कुरा हो ।”
आर्थिक समृद्धि, सुशासन, भाइचारा, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई कायम राख्नका लागि सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निभाउनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिँदै स्वतन्त्र प्रेस र लोकतन्त्र एकअर्काका परिपूरक भएको हुँदा स्वतन्त्र प्रेस बिना लोकतन्त्र बाँच्न नसक्ने बताए । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संघीयताको ढाँचाअनुरुप नेपाल टेलिभिजनलाई पनि ढाल्दै जानु आजको आवश्यकता रहको भन्दै त्यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको बताए । मन्त्री बस्नेतले नेपालका सबै भूगोल र जनतासम्म नेपाल टेलिभिजनको सेवाको पहुँच पुग्ने गरी कार्ययोजना बनाउन आफूले टेलिभिजनका अध्यक्षलाई निर्देशन दिएको र त्यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए ।
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपाल टेलिभिजनले जनतालाई सचेत र सुसूचित गर्दै लोकतन्त्र र सामाजिक न्यायका पक्षमा संगठित गर्न खेलेको भूमिका अग्रणी रहेको बताए । मुलुकलाई एकताको शुत्रमा सबैलाई बाँध्न र साझा राष्ट्रियताका लागि काम अघि बढाउन नेपाल टेलिभिजनले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नेपाल टेलिभिजनका अध्यक्ष महेशराज दाहालले टेलिभिजनलाई आगामी साउनबाट ‘एचडी’ प्रविधिमा जाने गरी काम अघि बढाएको जानकारी दिए । नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले स्याटेलाईटबाट १४८ मुलुकमा नेपाल टेलिभिजन हेर्न सकिने र देशको ७२ प्रतिशत जनतासम्म यसको पहुँच पुगेको जानकारी दिए ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले चुनाव गराउने उद्देश्यले आफ्नो नेतृत्वको सरकार गठन भएको र राष्ट्रियसभाको चुनाव अझै नसकिएकाले सत्ता हस्तान्तरण हुन नसकेको बताए । एमालेका सचिव योगेश भट्टराईले सरकारले सत्ता हस्तान्तरणमा ढिलाइ गरिरहेको आरोप लगाएपछि त्यसको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भट्टराईलाई नेपालको संविधान राम्ररी पढ्न आग्रह गरे । उनले भने, “राष्ट्रियसभाको निर्वाचनमा कतिजना महिला जितेर आउँछन्, त्यही अनुपातमा दलहरूले संघीय संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व पुर्याउनैपर्ने कानूनी बाध्यता छ, राष्ट्रियसभाको निर्वाचन नगराई अर्को सरकार गठन गर्नु असंवैधानिक हुन्छ ।” राष्ट्रियसभाको निर्वाचन गराउनु आफ्नो बाध्यता भएको पनि प्रधानमन्त्री देउवाले बताए ।